इटहरी/ निश्चित ठाउँ र साप्ताहिक हाटबजारमा पाइने तरकारी पसलहरू अहिले टोल–टोलमा खुल्न थालेका छन् ।
बजारमा अहिले किराना पसलहरू जस्तै बग्रेल्तीरूपमा तरकारी पसलहरू सञ्चालनमा आएका हुन् । व्यवसायीहरू खुद्रा पसलहरू जस्तै तरकारी पसलतिर आकर्षित बन्दै गएका छन् । गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूललाई गाउँमा खुलेका पसलहरूमा बिक्री गर्नाले किसानको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।
गत चैत ११ गतेअघि गाउँमा तरकारी पसलहरू थिएनन् । तरकारी पसलहरू नहुँदा २० रुपैयाँको तरकारी किन्न पनि सर्वसाधारणलाई २० रुपैयाँ नै भाडा तिरेर बजार जानुपर्ने अवस्था थियो । तर अहिले गाउँ–टोलमा तरकारी पसलहरू बगे्रल्ती खुलेका छन् भने तरकारी आयो भन्दै सफारीमा तरकारी व्यापारीहरू गाउँ–गाउँ पुग्ने गरेका छन् ।
इटहरी–१९ की सङ्गीता राई भन्छिन्, ‘तरकारी किन्न सोमबार र बिहीबार कुर्नु हाम्रो बाध्यता थियो । तर अहिले घरअगाडि नै तरकारी आयो भन्दै व्यापारी कराउँदै आउने गरेका छन् ।’ त्यो मात्र होइन, अहिले किराना पसलदेखि ठूला पसलहरूअगाडि पनि तरकारी बिक्रीमा राखिएको उनको भनाइ छ ।
गाउँमै उत्पादन भएको कृषिजन्य सामग्रीलाई सङ्कलन गरेर किसानहरूले बेच्न थालेका छन् । लकडाउनकै कारण आफ्नो घरमा उत्पादन भएका आफूले उपभोग गरेर बढी भएको तरकारीसमेत घरअगाडि बेच्नका लागि राख्ने प्रचलन बढ्दै गएको इटहरी–१९ की जानुका कार्की बताउँछिन् । अहिले दैनिकजसो तरकारी बेच्न सफारी चालकहरू गाउँ–गाउँमा छिर्ने गरेको उनी बताउँछिन् ।
लकडाउनले गाउँको उत्पादनलाई बजारसम्म पु¥याएर गाउँ र शहरलाई जोड्ने पुलको काम गरेको सर्वसाधारण बताउँछन् । ‘पहिला–पहिला थोरै तरकारी किन्न पनि बजारसम्म जानुपथ्र्यो भने अहिले त्यो बाध्यता हट्यो’ इटहरी–८ का गुरु ढकालले भने, ‘अहिले बजार क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि तरकारी पसलहरू खुल्ने क्रम बढेको छ ।’
पछिल्लो समयमा तरकारी पसलहरूमा खुल्ने क्रम बढेसँगै अहिले सर्वसाधारणलाई सहज भएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणमा भने तरकारी बेच्न बजारसम्म जानु पर्ने बाध्यता हट्दै गएको छ ।