मधुमल्ला/ धरैलाई घाँस बेचेर धन कमाइन्छ भन्दा पत्यार नलाग्न सक्छ । घाँस बेचेर लखपति बन्ने कुरा त झन् परको कुरा । तर पूर्व उत्तर मोरङको मिक्लाजुङ गाउँपालिका–२, साखरेका बाख्रापालक कृषक काङ्बुवान किरात (केबी किराँत) ले भने घाँस बेचेरै लखपति बनेका छन् ।

केबी किराँतले मिक्लाजुङ २, को साखरेमा रचान बहुउद्देश्यीय कृषि फर्ममार्फत् घाँस बेच्दै आएका छन् । यसवर्ष मात्र उनले एक लाख पचास हजार रुपैयाँ बराबरको घाँस बिक्री गरेको बताए । उनले व्यवसायिक बाख्रा पालन गर्नेहरूका लागि करिब १० कठ्ठामा ‘सुपर नेपियर’ प्रजातिको घाँस लगाएका छन् । यो घाँसमा १४–१६ प्रतिशत सम्म प्रोटिन पाइने हुनाले पशुका लागि उत्तम मानिने उनी बताउँछन् ।

उनले गत माघ महिनामा लगाएको सुपर नेपियर जातको घाँसबाट यस्तो आम्दानी होला भन्ने उनी आफैले नसोचेको बताए । कर्म गर फलको आश नगर भन्ने मान्यता राख्ने उनले घाँसबाट आम्दानी लिन थालेपछि खुसी छन् । अन्य बालीबाट खर्च कटाएर वार्षिक २० हजार रुपैयाँ बचाउन मुस्किल हुने गरेकामा घाँसबाट आम्दानी लिन सकेकोमा यतिबेला उनी थप मेहनत गर्नमा लागेका छन् ।

करिब ५० हजारभन्दा बढीको नमूना र घाँस हेर्नका लागि किसानहरू आएको उनले बताए । उनका अनुसार परीक्षणका लागि कतिपयलाई रोप्नसमेत दिएको बताए । पोसिलो घाँस भएकाले बाख्रा र अन्य चौपायको उत्पादकत्वमा समेत वृद्धि भएको उनको अनुभव छ । यो प्रजातिको घाँस एक पटक लगाएमा ६ वर्षसम्म उत्पादन दिने गरेको छ । कृषि फार्ममार्फत हाल ४० भन्दा बढीको सङ्ख्यामा खरी र बोयर जातका बाख्राहरू पालेका छन् ।

चितवनको बजगाई घाँस स्रोत केन्द्रबाट ८ हजार बिरुवा ५ रुपैयाका दरले ल्याएर रोपेका थिए । अन्य घाँसको बिरुवा प्रति २ आख्लालाई ५–१० रुपैयाँ पर्ने भए पनि उनले एक हजारभन्दा बढी बिरुवा लानेलाई ढेड रुपैयाँका दरले बेच्ने गरेका छन् । उनले उत्पादन गरेको घाँसको बिरुवा पूर्वको झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा लगायतका जिल्लाहरूमा पुग्ने गरेको छ ।

gash goat