- गोपाल दाहाल/ खोज पत्रकारिता केन्द्र
इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो ।
वडानम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, ‘उनीहरू सबै दम र श्वास–प्रश्वासका रोगी थिए । त्यसबेला गाउँमा फैलिएको धुवाँले सद्दे मान्छेलाई बाँच्न गाह्रो थियो ।’ उनको भनाइमा इटहरी उपमहानगरले भवानीपुर वरपर फालेको फोहोरले नागरिकको स्वास्थ्य र वातावरणमा गम्भीर सङ्कट निम्त्याएको छ ।
हुन पनि भवानीपुरका घर–घरमै श्वास–प्रश्वास र दमका रोगी छन् । फोहोरबाट निस्किएको विषाक्त धुवाँले ५० वर्ष कटेका अधिकांश नागरिकलाई बाँच्न मुस्किल बनाएको छ । भवानीपुरका ६५ वर्षीया लीला गिरी र उनका पति ७१ वर्षीय नरबहादुर गिरी प्रदूषण पीडित हुन् ।
गाउँभरि फैलने धुवाँको मुस्लोले घाँटी खस्खसाउने, सास थुनिएजस्तो हुने गरेपछि ६ पटक अस्पताल धाइसकेकी लीला भन्छिन्, ‘पहिला यस्तो समस्या थिएन, धुवाँले म पनि रोगी भएँ, बूढालाई पनि दम छ, औषधिको सहारामा बाँचेका छौं ।’
भवानीपुरकै ५५ वर्षीया लक्ष्मी चौलागाईंलाई पनि दम र श्वास–प्रश्वासको समस्या छ । २०७६ माघमा गाउँभर फैलिएको धुवाँले गम्भीर बिरामी परेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्ता उपचार गरिएको थियो । त्यतिबेला उनको करिब ५० रुपैयाँ हजार सकियो । चौलागाईं भन्छिन्, ‘रबर, प्लाष्टिक डढाएपछि आँखै पोल्ने धुवाँ आउँछ, अनि उकुस–मुकुस भएर सासै जाला जस्तो हुन्छ ।’
भवानीपुरमा फोहोरको धुवाँ फैलिन थालेपछि कतिपय मानिस राति सुत्न नसकेर अर्को गाउँतिर लाग्छन् । गाउँमै बस्नेहरूलाई रातारात अस्पताल पु¥याउनुपर्छ । ५६ वर्षीय सुरेश गिरी भन्छन्, ‘सासै रोकिएर बोल्नै नसक्ने, हिँड्नै नसक्ने भएँ । राति नै टेम्पो बोलाएर अस्पताल लगे । गाउँ कटेपछि मात्र सास फेर्न अलि सजिलो भयो ।’
स्थानीय ईश्वर पौडेलको परिवार २० वर्षदेखि धरान उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ नजिकै बस्दै आएको छ । ९ वर्षअघि ईश्वर र उनकी श्रीमती कमलाले सानो हैरानी खेप्नु परेन । भर्खरै जन्मिएको छोरालाई निमोनिया, टन्सिल भयो । लामो समय उपचार गर्दा उनीहरूको करिब ७ लाख रुपै याँ सकिएको कमला बताउँछिन् । अहिले दमको रोगी भएको छोराका लागि महिनामा २ हजारको औषधि चाहिन्छ भने दुई–दुई महिनामा अस्पताल धाइरहनुपर्छ । कमला भन्छिन्, ‘बेला–बेला घाँटी पोल्यो भन्छ, कतिखेर के हुन्छ भनेर जहिल्यै टेन्सन हुन्छ ।’
यी दृष्टान्तले धरान र इटहरी उपमहानगरपालिकाहरूले फालेको फोहोरले कसरी मानव बस्ती र पर्यावरणलाई असर गरेको छ भन्ने देखाउँछ । गाउँ नै ढाक्ने गरी धुवाँ फैलिएर स्थानीय भकाभक बिरामी पर्न थालेपछि भवानीपुरका युवाहरूले २०७६ माघमा फोहोर ल्याउने गाडी नै रोकेर आन्दोलन गरे । प्रदूषण रोक्न इटहरी उपमहानगरपालिका, स्थानीय र फोहोर फाल्ने ठेक्का लिएको ‘वेष्ट एण्ड इन्भाएरोन्मेण्ट म्यानेजमेण्ट प्रालि’ बीच १९ माघ २०७६ मा फोहोर नजलाउने र व्यवस्थापन गर्ने सहमति भयो ।
त्यो सहमति कागजमै सीमित भयो । अहिले पनि इटहरी उपमहानगरको फोहोर वनमै फालिन्छ । वेष्ट एण्ड इन्भाएरोन्मेण्ट म्यानेजमेण्ट प्रालिका अध्यक्ष मानध्वज मोक्तान भने उपमहानगरपालिकाले सम्झौताअनुसार उपलब्ध गराएको ठाउँमा आफूले फोहोर फाल्ने गरेको बताउँछन् । मोक्तान भन्छन्, ‘पहिला अर्को कम्पनीले फाल्थ्यो । हामीले २०७५ देखि उपमहानगरपालिकाले तोकेको स्थानमा फाल्ने गरेका छौं । तर, स्थानीयले विरोध गरेपछि अहिले फोहोरमा आगो लगाउन नदिन हेरालु राखिएको छ ।’
नगरको फोहोरमा खानेकुरा, प्लाष्टिक, सिसा, तार, कागज, कपडा सबै एकै ठाउँमा मिसाइएको हुन्छ । त्यसरी थुप्रिएको फोहोरमा आगो लगाउँदा बस्ती र जङ्गलमा धुवाँ फैलिन्छ । विश्व स्वास्थ्य सङ्गठनले महत्वपूर्ण तथ्य भनेर प्रकाशित गरेअनुसार खुला रूपमा जलेका प्लाष्टिकको धुवाँबाट डायोक्जिन, फ्युरेन्स, पार्टिकुलेट म्याटर (पीएम २.५, पीएम १० माइक्रोन) जस्ता हानिकारक तत्व बनेर वायु प्रदूषित बनाउँछ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फिजियोलोजी विभागकी एडिसनल प्रोफेसर डा. रीता खड्काका अनुसार फोहोरको धुवाँबाट निस्किएका केमिकलहरूले दम, क्यान्सर, हार्टअट्याक, डाइविटिज, हाडजोर्नी दुख्ने लगायतका समस्या निम्त्याउँछ ।
उनी भन्छिन्, ‘प्लाष्टिकको धुवाँले शरीरका जुनसुकै अङ्गमा क्यान्सर हुनसक्छ । यो प्रदूषणबाट बच्चा, सुत्केरी, गर्भवती र वृद्धवृद्धालाई बढी खतरा हुन्छ ।’ इटहरी–१९ को भवानीपुर, ब्रह्मपुर, तामाङ टोललगायत क्षेत्रका ८ हजार ९ सय जनसङ्ख्या धरान–इटहरीको फोहोरबाट प्रभावित छन् । तर, इटहरी र धरान उपमहानगरपालिकाले भने यो समस्यालाई अहिलेसम्म गम्भीर रूपमा लिएका छैनन् ।
जनावर मासिए, रूख सुके
धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानबाट दैनिक उत्पादन हुने ४७ टन फोहोरमध्ये करिब ३५ टन बाँझगरा सामुदायिक वनको क्षेत्रमा फालिन्छ । इटहरीबाट दैनिक उत्पादन हुने ३७ टनमध्ये करिब २३ टन हाँसपोसा सामुदायिक वन क्षेत्रमा फालिन्छ । धरानले २०४३ सालदेखि र इटहरीले पाँच वर्ष अघिदेखि यी ठाउँमा फोहोर फालिरहेका छन् ।
बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तान फोहोर फालिएको ठाउँमा ३०० भन्दा बढी बिरुवा र धेरै ठूला रूख पनि मरेको बताउँछन् । ‘पहिला वनभरि मौरी हुन्थे । धुवाँले यो वनका मौरीहरू मासिए, धेरै चरा र पुतली हराए’ अध्यक्ष मोक्तान भन्छन्, ‘पहिला नगरपालिकाले विष खुवाएर मारेका कुकुर नगरको फोहोरसँगै मिसाएर जङ्गलमा फाल्ने गरिएको थियो । मरेका कुकुरको मासु खाएर जङ्गलका बँदेल र स्यालसमेत सखाप भए । फोहोरमा लागेको आगो वनमा फैलिएपछि मृग पनि मरे ।’
वनमा फोहोर नफाल्न धेरै पटक आग्रह गर्दा र वनभित्र छिर्ने बाटोमा गेट लगाएर बन्द गर्दा पनि फोहोर फाल्न रोकिएको छैन । इलाका वन कार्यालय धरानका रेञ्जर ईश्वरी बास्तोला फोहोरले अहिले पनि बोटबिरुवा मरिरहेको, चराचुरुङ्गी र जनावर विस्थापित भएको बताउँछन् । बास्तोला भन्छन्, ‘फोहोरले जैविक विविधतालाई धेरै असर गरेको छ । अब पनि व्यवस्थित नगर्ने हो भने वन्यजन्तु र वनस्पतिमा धेरै ठूलो क्षति हुन्छ ।’
आईयूसीएन नेपालका पूर्वप्रमुख, वातावरण तथा संरक्षणविद् राजेन्द्र खनालका अनुसार फोहोर र धुवाँले बिरुवाका पातहरूमा हुने प्वालहरू टालिन्छन् र प्रकाश संश्लेषण हुन नसक्दा बिरुवाले खाना बनाउन सक्दैनन् । अक्सिजन नपाएर बोटबिरुवा बढ्दैनन्, रोगी हुन्छन् र मासिन्छन् । उनी भन्छन्, ‘यस्तो फोहोरले माटो र पानी पनि प्रदूषण हुने हुँदा उब्जनीमा असर पर्छ । मानिस, जनावर र बिरुवा रोगी बन्छन् अनि फोहोर जलाउँदा कार्बन वातावरणमा जम्छ ।’
खेतीमा क्षति
धरान र इटहरीको फोहोर फाल्ने ठाउँ सेउती खोलाको छेउमै पर्छ । वर्षामा बाढी आउँदा फोहोर बगेर किसानका खेतबारीमा पुग्छ । इटहरीको फोहोर भवानीपुरको सीमा क्षेत्रको जङ्गल र खोल्सीमा थुप्रिन्छ । धरानको फोहोर खोलाले बगाएर रामधुनी नगरपालिका–७ को कुमारखतका किसानको खेतमा पुग्छ । खेतमा प्लाष्टिकका बोतल, सिसा, सिरिञ्ज, विभिन्न हानिकारक वस्तुहरू र कहिलेकाहीँ त मानव अङ्गसमेत भेटिने गरेको छ ।
त्यस्ता फोहोरका कारण उब्जनीमा कमी आएको रामधुनी–७ का वडाध्यक्ष केशव गौतम बताउँछन् । फोहोरले करिब २०० बिघा खेतमा प्रत्यक्ष असर परेको उनको अनुमान छ । गौतम भन्छन्, ‘बाढी आउँदा फोहोर खेतभरि हुन्छ । काम गर्दा किसानहरूका हात–खुट्टामा चोट लाग्छ । उत्पादनमा पनि ह्रास आएको छ ।’
रामधुनी नगरपालिकाका मेयर जयनारायण चौधरी फोहोरले उत्पादन र मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘माथिबाट बगेर आउने फोहोरबाट हामी पीडित छौं । उचित व्यवस्थापन गर्न धेरै पटक आग्रह ग¥यौं तर अझै समाधान भएको छैन ।’
धरान उपमहानगरपालिकाले फोहोरबाट ग्यास निकाल्न ‘भेञ्चर वेष्ट एण्ड इनर्जी प्रालि’ सँग २०७३ मा सम्झौता गरेको थियो । तर, रिसाइकल नहुने फोहोर कहाँ फाल्ने भन्नेमा अझै अन्योल रहेको धरान उपमहानगरपालिकाका वातावरण निरीक्षक राजु चौहान बताउँछन् । धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे भने करिब दुई टन जति फोहोर वनमै ल्याण्डफिल्ड साइड बनाएर व्यवस्थापन गरिने बताउँछन् । धरानका मेयर तिलक राई फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग सम्झौता भइसकेकाले चाँडै समस्याको समाधान हुने आशा रहेको बताउँछन् ।
इटहरीको फोहोर उठाउँदै आएको ‘वेष्ट एण्ड इन्भाएरोन्मेण्ट म्यानेजमेण्ट प्रालि’ ले पनि ‘रिसाइकल’ का लागि संरचना निर्माण गरिरहेको छ । ‘रिसाइकल’ नहुने १० प्रतिशत फोहोर ल्याण्डफिल्ड साइडमा फालिने वातावरण अधिकृत पुष्पनारायण चौधरी बताउँछन् । तर, त्यो काम कहिले हुने कुनै टुङ्गो छैन ।
दुवै उपमहानगरले अहिले लकडाउनका कारण ‘रिसाइकल प्लाण्ट’ निर्माणमा ढिलाइ भएको स्वीकार गरेका छन् । इटहरीकी उपमेयर लक्ष्मी गौतम पनि फोहोर व्यवस्थापन गरिरहेको कम्पनीले ल्याण्डफिल्ड साइड बनाइरहेकाले जथाभावी फोहोर फाल्ने क्रम चाँडै रोकिने बताउँछिन् ।
धरान र इटहरी क्षेत्रका करीब ३०० मेडिकल र क्लिनिकहरूबाट उत्पादन भएका फोहोर पनि निर्मलीकरण नगरी नै नगरको फोहोरमा मिसाइने गरेको छ । एकजना विज्ञका भनाइमा यस्तो फोहोरमा स्वास्थ्यका लागि घातक मानिने पारोयुक्त ब्याट्री, सिएफएल बल्ब, ट्युबलाइट पनि मिसिएका हुनसक्छन् ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौंका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक रामचरित्र साहका अनुसार जलाउँदा पनि पारो नाश हुँदैन । त्यो हावा र पानीको माध्यमबाट मानव र जीव(जनावरको शरीरमा प्रवेश गर्छ ।
साहका भनाइमा, त्यसले स्नायु प्रणाली, सुन्ने र देख्ने शक्तिमा ह्रास ल्याउँछ । मिर्गौला, फोक्सोदेखि प्रजनन् प्रणालीमा समेत नकारात्मक असर पु¥याउँछ । स्वास्थ्य संस्थाजन्य फोहोरबाट मानव स्वास्थ्य र वातावरणमा असर गर्ने घातक रसायन निस्किन्छ । अनि फोहोरमा रहेका सिरिञ्ज, बोतलहरूले चोट लागे हेपाटाइटिसको सङ्क्रमण हुनसक्छ । साह भन्छन्, ‘घरायसी फोहोर यसरी जथाभावी फाल्नै मिल्दैन ।’
धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे स्वास्थ्य संस्थाहरूलाई फोहोर निर्मलीकरण गरेर मात्र फाल्नु भनिएको तर जनशक्ति अभावले अनुगमन नगरिएको बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले स्थानीय तहलाई स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी दिएको छ । तर धरान र इटहरी उपमहानगरले ऐनले तोकेको काम, कर्तव्य पालना गरेका छैनन् । इटहरी उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरी नगरको फोहोरका कारण जनस्वास्थ्यमा असर परिरहेको स्वीकार्छन् । चौधरी भन्छन्, ‘हामी पनि बाध्यतामा छौं ।’
संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रदान गरेको छ भने फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६, जनस्वास्थ्य सेवा ऐन २०७५ र वन ऐन २०४९ ले जथाभावी फोहोर फाल्न निषेध गरेका छन् । वातावरण कानूनविद् अधिवक्ता पदमबहादुर श्रेष्ठ धरान र इटहरी उपमहानगरले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन गर्ने दायित्व विपरीत आफै प्रदूषण गरेर दण्डनीय कार्य गरेको बताउँछन् । उनी भन्छन्, ‘धरान र इटहरी उपमहानगरले संविधान र ऐन कानूनको धज्जी उडाएका छन् । जनस्वास्थ्य, पर्यावरण ध्वस्त पार्नेलाई कानूनी कारबाही गर्नु आवश्यक छ ।’