विजयपुर । रोटर्यारक्ट क्लब अफ धरान घोपाले शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
भोक्राहा नरसिंह–७ मा भएको शिविरमा पाँच सय ५० जना स्थानीय लाभान्वित भए । स्थानीय समुदायलाई सहज तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्वास्थ्य परीक्षण गरिएको कार्यक्रमका अध्यक्ष अभिषेक प्रधानले जानकारी दिए । शिविरमा सामान्य चिकित्सा, कान–नाक–घाँटी, दन्त, छाला, स्त्रीरोग तथा हड्डी–जोर्नीसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
साथै रक्तचाप मापन, द्रुत रक्त परीक्षणलगायतका सेवा दिएको सचिव जीवन ठाकुरले जानकारी दिए । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
त्यसैगरी, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए । विद्यालयस्तरमा दाँत माझ्ने सही तरिका, महिनावारी सरसफाइ, पाठेघरको मुखको क्यान्सर, स्तन परीक्षण तथा हात धुने विधिबारे सचेतना प्रदान गरिएको थियो ।
शिविरमा विपन्न समुदायका व्यक्तिहरूलाई निःशुल्क कपडा वितरण पनि गरेको निर्देशक प्रशंसा ज्ञवालीले जानकारी दिइन् । कार्यक्रममा प्रमुख संयोजक विपिन गौतम, संयोजक शुभम झा तथा अस्मिता सिञ्जालीलगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरमा सहभागी स्थानीयवासीले सेवाप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।
































