भाइबहिनी हो, धरानको वसन्तटारका बारेमा सुनेकै हौला । धरानको भानुचौकबाट करिब ५ किलोमिटर पूर्व–उत्तरमा पर्ने यो गाउँ अग्र्यानिक खेतीका लागि परिचित छ । यो धरानको ४ नम्बर वडामा पर्छ । बगरकोटबाट उत्तर लागेपछि काठे पुल तरेर पारिपट्टि केही उकालो चढेपछि यो गाउँ पुगिन्छ । यहाँ अधिकांशले अग्र्यानिक खेती गर्छन् । अग्र्यानिक भन्नाले रासायनिक मल (जस्तैः युरिया, पोटास, डिएपी), विषादी प्रयोग नगरी गाईवस्तु तथा बाख्राहरूको मललाई प्रयोग गरेर उब्जनी गरिएको फलफूल तथा तरकारीलाई भनिन्छ ।

अग्र्यानिक तरकारी तथा फलफूल खायो भने हाम्रो शरीरमा चाँडै रोग लाग्दैन र शरीरमा प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । हाम्रा बाबुबाजेहरूले यस्तै प्रकारको तरकारी तथा फलफूल खाएका कारण धेरै वर्षसम्म बाँचेका हुन् र निरोगीसमेत बनेका हुन् । करेसाबारीमै उत्पादन भएको अग्र्यानिक तरकारी खानेहरूलाई हत्तपत्त रोग पनि लाग्दैन । अहिले यो गाउँमा तरकारी तथा फलफूल किन्न धरानका थुप्रै मान्छेहरू पुग्ने गरेका छन् ।

त्यहाँ सोताङ अग्र्यानिक फार्म छ । झण्डै २ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा सागसब्जी र माछा, बङ्गुर, कुखुरा, हाँस, गाईलगायत पालिएको छ । त्यो फार्म कृष्ण राईले सञ्चालन गरेका हुन् । कृष्ण राईले २०६४ सालदेखि अग्र्यानिक तरकारी उत्पादन गर्न थालेका हुन् । युवा कृषकका रूपमा देशभर चर्चित छन् ।

उनको बारीमा अनेक प्रकारका सागसब्जीहरू पाइन्छन् । तिमीहरूले लौका, भिण्डी, करेला, घिरांैला, सिमी, हरियो सागपात, काँक्रा त देखेकै हौला । त्यहाँ यस्ता सबै खालका सब्जी पाइन्छन् । जुन गाईवस्तुको मल नै प्रयोग गरेर उत्पादन गरिएका हुन् । फार्मका सञ्चालक कृष्ण राईलाई हामी अग्र्यानिक अभियन्ता भनेर पनि चिन्छौं । उनको फार्म हेर्नेका लागि तिमीहरू जस्तै भाइबहिनी तथा स्कुलका नानीहरू नेपालका पूर्वदेखि पश्चिमसम्मबाट आइपुग्छन् ।

फार्ममा अनेक प्रकारका अनुसन्धान पनि हुन्छन् । त्यो अनुसन्धान स्वयम् सञ्चालक आफैले गर्छन् । थोपा सिंचाइदेखि हाइड्रोपोनिक प्रविधि हेर्न त्यहाँ पुगे हुन्छ । स्कुले नानीहरू त वर्षमा धेरै पटक त्यो ठाउँमा पुगेर अध्ययन अवलोकन गर्छन् । फार्म सञ्चालक कृष्ण राई भन्छन्, ‘मेरोमा यहाँ पूर्वदेखि पश्चिमसम्मका भाइबहिनी तथा स्कुले नानीहरू अध्ययन गर्न आइपुग्छन् । उनीहरूलाई हामी सबै देखाइदिन्छौं ।’

हाम्रो देश कृषिप्रधान देश हो । यहाँ कृषिबाटै मानिसहरू आत्मनिर्भर छन् । २०६८ को जनगणना अनुसार झण्डै ६८ प्रतिशत नेपाली नागरिकहरूले कृषि पेशा नै अपनाइरहेका छन् । त्यहीमध्येका कृष्ण पनि एक हुन् । उनी गाउँलाई नै अग्र्यानिक गाउँ बनाउन जुटेका छन् । यो अभियानमा उनी २२ वर्षदेखि निरन्तर लागिरहेका छन् ।

तिमीहरू पनि भविष्यमा कृषक बन्ने रहर छ र कसरी अग्र्यानिक खेती गर्न सकिन्छ भनेर उत्सुक छौ भने त्यहाँ पुगेर फार्म सञ्चालकलाई भेटे हुन्छ । सञ्चालकले सबै कुरा तिमीहरूलाई बताइदिनेछन् । कृषिमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण पनि उनी बनेका छन् । उनले झण्डै १० जनालाई प्रत्यक्ष रोजगार दिएका छन् । अप्रत्यक्ष रूपमा धेरैले लाभ लिइरहेका छन् ।

गाई, बङ्गुर हेर्नका लागि पनि त्यहाँ पुगे हुन्छ । त्यहाँ उन्नत जातको गाई र बङ्गुर हेर्न पाइन्छ । पाठापाठी बिक्री गर्ने उद्देश्यले बङ्गुर पालेको सञ्चालक कृष्ण राई बताउँछन् । गाईबाट दूध उत्पादन गर्छन् । धरानमा धेरै मानिसहरूले कृष्णकै फार्मबाट दूध खान्छन् ।

वसन्तटारमा मात्रै होइन, देशका अन्य ठाउँमा पनि यसरी नै अग्र्यानिक खेती गर्ने हो भने सबैले स्वस्थ बन्न पाउने थिए । भाइबहिनीहरूले पनि आफ्नै करेसाबारी वा बारीमा अग्र्यानिक खेती गर्नेबारे सोच्ने हो भने हाम्रो देश कति सुन्दर हुन्थ्यो होला ।