- अनिल श्रेष्ठ
विराटनगर / केही दिनयताको लगातारको वर्षाले मोरङको तरकारीको पकेट क्षेत्र मानिने कटहरी, जहदा र धनपालथान गाउँपालिकामा किसानले लगाएको करोडौंको तरकारी बाली नष्ट भएको छ । यहाँका किसानले लगाएको काँक्रो, खोर्सानी, बैगुन, लौका, बोडीलगायत तरकारीको बोट पानीले नष्ट पारेको हो ।
लगातार परेको पानीले तरकारीको बोट नै नष्ट पारेपछि कटहरी, जहदा र धनपालथानका किसानहरू चिन्तित बनेका छन् । किसानले लगाएको तरकारीको फल फल्न लागेको र फूल फुल्दै गरेको बोट नै नष्ट भएपछि वर्षदिनको कमाइ माटोमा मिलेको कटहरी गाउँपालिका–४ का कृषक कोपिन्द्र सिंहले दुःखेसो सुनाए । उनले बारीमा लगाएको तरकारी पानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाइ खेर गएको बताए । कृषक सिंहले साढे १ बिघा जग्गामा लगाएको तरकारी बाली नष्ट भएको जानकारी दिए ।
उनका अनुसार १० कठ्ठामा लगाएको लौका, ६ कठ्ठामा खोर्सानी र ४ कठ्ठामा लगाएको काँक्रा पूर्णरूपमा नष्ट भएको उनले बताए । ‘तरकारी बाली सप्रिएर आएको थियो, फूल फुल्न थालेको काँक्रोको बोट नै पानीले गर्दा मर्न थाल्यो । खेत जलमग्न भएपछि बैगुनको बोट अहिले सुक्न थालेको छ ।’ बैङ्कमा ऋण काढेर गरिएको तरकारी खेतीबाट यसपटक आम्दानी लिन नसक्दा ऋणको बोझले थला परेको उनले सुनाए । ‘केही समयअगाडि लकडाउनले तरकारी बिक्री हुन नपाउँदा खेतमै गोलभेंडा कुहिएर खेर गएको थियो’ उनले भने, ‘अहिले आएर वर्षायामको पानीले तरकारी नष्ट गरिदियो । कृषकलाई प्रकृतिले पनि साथ दिन छाड्यो ।’ वर्षाको पानीले करिब ४ लाखको तरकारी नष्ट गरेको उनले बताए ।
कटहरीमा मात्र नयाँबजार कृषि सहकारी संस्थामा आबद्ध भएर व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषक एक सय जना रहेको सहकारीका अध्यक्षसमेत रहेका कृषक कोपिन्द्र सिंहले बताए । उनका अनुसार केही दिनयताको वर्षाले कटहरीका कृषकले लगाएको करिब १० करोडको तरकारी नष्ट गरेको जानकारी दिए । सबैभन्दा बढी तरकारी खेती गरिने कटहरीका कृषकले लगाएको तरकारी नष्ट भएको उनले बताए । यस्तै जहदामा ७ र धनपालथानमा २ करोडको तरकारी बाली नष्ट भएको कृषकहरू बताउँछन् ।
यस्तै जहदा गाउँपालिका–४ का राजेशकुमार मुखियाले १० कठ्ठामा लगाएको काँक्रा, लौका वर्षाले नष्ट गरी २ लाखको तरकारी बाली नष्ट भएको बताए । उनले लामो समयदेखि जग्गा लिजमा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । ‘अहिले त खाना खाने मुख्य पेशा तरकारी बाली नै वर्षाले नष्ट गरेपछि झन् ठूलो समस्या खेप्नुपरेको छ’ उनले भने, ‘तरकारीको आम्दानीले ६ जनाको परिवार चल्ने गरेको थियो ।’ वर्षाले तरकारी बाली नष्ट पारेपछि अब कसरी आम्दानीको विकल्प खोज्ने भन्ने चिन्ताले सताएको उनले बताए । ‘हिजोसम्म पाखाभित्तामा थाँक्राभरि फलेका काँक्रा र फूल फुल्दै गरेका तरकारी एकै दिनमा सबै सखाप पारिदियो । अब के गर्ने गर्ने ?’ उनले भने, ‘अरू खेती गर्ने समय पनि बितिसकेको छ ।’
तरकारीमा भएको क्षतिको राहत पनि नपाएको उनले बताए । ‘तरकारी नष्ट हुने किसानलाई प्रदेश सरकारले राहत बाँड्ने भन्ने सुनेको हो’ उनले भने, ‘खै, कहाँ कस्ता कृषकलाई राहत बाँड्छन् । हामीले अहिलेसम्म कहीँ कतैबाट राहत पाएको छैन ।’ आफूले लगाएको बाली सबै नष्ट भएकाले स्थानीय सरकारले बिउ मात्रै भए पनि उपलब्ध गराए केही राहत मिल्ने उनले बताए ।