उदयपुर/ बाजे बराजुको पालामा छिनु र हतौडाले उत्खनन् गरेको तामा खानी पुनः उत्खनन् हुन सकेको छैन । सम्बन्धित निकायको ध्यान नजाँदा उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामाखानी पुनः उत्खनन् हुन नसकेको हो ।

गाईघाट–दिक्तेल सडक–खण्ड फोक्सिन्टारदेखि खोटाङ तरेको छ । फोक्सिन्टार–रसुवा सडक–खण्डमा पर्ने राँकुली खोलादेखि करिब ५ किलोमिटर माथि खोलाछेउकै पाखामा खानी रहेको छ । उक्त खानीबाट तामा निकालेर खानीदेखि उत्तरतर्फको हात्तीपाइलेमा प्रशोधन गर्दाको किट अझै प्रशस्त पाइन्छ ।

बाजेको पनि बाजेका पालामा खानीबाट तामाको धाउ निकालेर हात्तीपाइलेमा प्रशोधन गर्ने गरेको स्थानीय बूढापाकाले बताएका छन् । त्यति बेला तामाको धाउ प्रशोधन गर्दा निस्केका किटहरू डाँडैभरि अझै प्रशस्त भेटिन्छ ।

तामाखानी कसले पत्ता लगायो, कसरी पत्ता लगायो, कुन समयमा पत्ता लगायो, कहिलेबाट खानीको उत्खनन् गर्न थालियो, कसले त्यो तामा खरिद गथ्र्यो भन्ने कुरा कसैलाई पनि यकिन थाहा छैन । स्थानीय बूढापाकाहरूले दन्त्यकथा झैँ खानीको कथा भन्ने गरेको पाइन्छ । खानी उत्खनन् गर्ने आग्री मगर जाति भएको बाबुबाजेले भन्ने गरेको स्थानीय पूर्णबहादुर राईले बताए ।

खानी आग्रीले उत्खनन् गरेपनि धाउ कसले प्रशोधन गथ्र्यो भन्ने कसैले नसुनाएको स्थानीय राईले बताए । उनले भने, ‘छिनु र हतौडाले खानी उत्खनन् गरेको हो, सुरुङमा त्यति बेलाको दागहरू आलै छ ।’ तामा उत्खनन् गर्न सुरुङभित्र पस्दा सुरुङको बीचमा भत्किएर अवरुद्ध भएपछि खानी उत्खनन् बन्द भएको सुनेको उनले बताए ।

त्यो खानीबाट निकालिएको तामाबाट घरमा प्रयोग गरिने विभिन्न सामग्री गाग्री, भाँडा, झ्याङ्गा, आम्खोरादेखि सँुगुरलाई चारो दिने डुँड समेत बनाउने गरेको बाबुबाजेले सुनाएको स्थानीय राईले बताए । त्यो बेला उत्खनन् गरेका खानीको सुरुङ ठूल्ठूला भूकम्पले क्षति पु¥याए पनि दुईवटा सुरुङ अहिले पनि रहेको उनले बताए ।

उक्त खानी पाखामा दर्जनौं सुरुङ रहेको अनुमान गर्न सकिन्छ । अहिले पनि जङ्गलको बीच अनाकण्टार भीरमा खानीको २ वटा प्वाल अस्तित्वमा रहेको छ । बाहिरको ढुङ्गाभन्दा फरक किसिमका लामा–लामा पत्रे ढुङ्गा त्यहाँ रहेको र त्यो ढुङ्गा खानी खन्दा सुरुङभित्रबाट निकालिएको भन्ने विश्वास गरिएको उनले बताए ।

अस्तित्वमा रहेको खानीको सुरुङ गोलाकार रहेको करिब एक मिटर उचाइ र एक मिटर लम्बाइ रहेको छ । भित्र अझै पनि त्यो बेला खन्दा प्रयोग गरिएको छिनुको दाग प्रष्टै देख्न सकिने स्थानीय राजन राईले बताए । खानीबाट उत्खनन् गरी निकालेर प्रशोधन गरेको किट हेर्दा फलामको जस्तै देखिने उनले बताए ।

सम्बन्धित निकायले विशेष चासो देखाएर यस्ता खानीको उत्खनन् गर्नु जरुरी रहेको स्थानीय राईले बताए । त्यो बेला कुनै प्रविधिको प्रयोग नगरी आफैले बनाएको छिनु र हतौडाले खनेको खानीको पुनः उत्खनन् गर्न सम्बन्धित निकायले चासो नदेखाएको उनले बताए । अहिले स्थानीयहरू पनि त्यो अनाकण्टार भीरमा रहेको खानीको सुरुङमा जो कोही नपुगेको र धेरैैलाई सुरुङ थाहा नभएको स्थानीय राईले बताए ।

बाजेबराजुको पालामा नै तामा र फलाम खानी पत्ता लगाई उत्खनन् गरी प्रशोधन गरेको स्थान गाउँपालिकाको एक मात्र वडा भएको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । अहिलेको जस्तो प्रविधिको विकास नभई नै खानी पत्ता लगाएर उत्खनन् गरी विभिन्न सामग्री र भाँडावर्तन बनाई प्रयोग गरेको स्थानीय बूढापाकाहरूले बताएको उनले बताए ।

वडामा रहेको प्राकृतिक स्रोत साधनको बारेमा पालिकामा जानकारी गराएको वडाध्यक्ष राईले बताए । तामा खानी र खानीडाँडाको फलाम खानी पहिला नै उत्खनन् गरेको खानी हो । वडाको तामाखानी, फलाम खानीको पुनः उत्खनन् गर्न र पर्यटकीय स्थलको विकासका लागि पहल गरिरहेको उनले बताए ।

पालिकाद्वारा खानी परीक्षण गर्न आएका प्राविधिक टोली फर्केर गएपछि केही अत्तोपत्तो नहुने गरेको वडाध्यक्ष राईले बताए । खानीडाँडामा रहेको फलाम खानीको सर्वेक्षणमा दुई पटक विशेषज्ञ प्राविधिक टोली आए पनि फर्केर गएपछि अहिलेसम्म त्यसको न त रिपोर्ट नै आयो, न त मान्छे नै आए । त्यसबारे हालसम्म कुनै जानकारी नआएको उनले बताए । खानी उत्खनन् भनेको राष्ट्रिय योजनाको काम भएकाले पालिका र त्यसभन्दा माथिको निकायले मात्रै काम गर्न सक्ने भएकाले सम्बन्धित निकायमा जानकारी र पहल गर्ने वडाले जनाएको छ ।

सम्बन्धित निकायले यस्ता पुराना खानीको पुनः उत्खनन् गर्न मात्रै सके पनि स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक विकास हुन्छ । पहिला पहिचान भई उत्खनन् भएका खानी पुनः उत्खनन् गर्दै नयाँ–नयाँ खानीको खोजी गर्न जरुरी देखिन्छ ।