विजयपुर । श्रमदानबाट निर्माण गरिएको भनिएको श्रम संस्कृति पार्कबाट एक वर्षमा ९८ लाख रुपैयाँ आम्दानी भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को महालखा परीक्षकको प्रतिवेदन अनुसार पार्कले प्रवेश शुल्क बापत मात्रै ९८ लाख २१ हजार ५ सय ६० रुपैयाँ आम्दानी गरेको हो । नगरको गौरवको आयोजना मानिएको पार्कले उल्लेख्य आम्दानी गरे पनि उक्त रकम सरकारी नियम विपरीत खर्च गरिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनका अनुसार, स्थानीय तहले प्राप्त गर्ने सबै शुल्क र दस्तुर आन्तरिक राजस्व खाता वा सञ्चित कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, धरान उपमहानगरपालिकाले श्रम संस्कृति पार्कबाट उठेको रकम सिधै विविध कोष खातामा जम्मा गरी माग अनुसारका कार्यक्रममा खर्च गरेको पाइएको छ ।
महालेखाले यसलाई नियमसंगत नभएको ठहर गर्दै भनेको छ, 'यस्ता आम्दानीहरू उपमहानगरपालिकाको सञ्चित कोषमा दाखिला गरी प्राथमिकताको आधारमा बजेटमा विनियोजन गरेर मात्र खर्च गर्नुपर्ने व्यवस्था मिलाउनुपर्दछ ।'
लेखापरीक्षणले पार्कभित्रको व्यवस्थापनमा पनि प्रश्न उठाएको छ । आर्थिक ऐन २०८१ अनुसार पार्क प्रवेशमा प्रतिव्यक्ति १५ रुपैयाँ र बाल उद्यान तथा रक गार्डेनको २० रुपैयाँ लिने गरिएको छ । तर, एउटै पार्कभित्र दुईवटा छुट्टाछुट्टै टिकट काउन्टर सञ्चालन गर्दा सञ्चालन खर्च बढ्ने भन्दै महालेखाले एउटै काउन्टरबाट शुल्क उठाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
सबैभन्दा गम्भीर विषय, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम सरकारी रकम प्राप्त भएकै दिन वा भोलिपल्ट बैंकमा दाखिला गर्नुपर्नेमा ७४ हजार ५०० रुपैयाँ अझै दाखिला हुन बाँकी देखिएको छ । उक्त रकम जिम्मेवार व्यक्तिबाट ब्याजसहित असुल गरी सरकारी कोषमा जम्मा गर्न महालेखाले निर्देशन दिएको छ ।
































