विराटनगर । कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापाका कुखुरा फार्महरूमा यतिबेला सन्नाटा छ । फार्महरूमा ‘रेपिड रेस्पोन्स टिम’ का सदस्यहरू पिपीई सेटमा सजिएर सङ्क्रमित पक्षी नष्ट गरिरहेका भेटिन्छन् । मोरङबाट सुरु भएको घातक ‘बर्डफ्लु’ को सङ्क्रमण झापा र सुनसरीसम्म फैलिएपछि कुखुरापालक किसान र व्यवसायी ठूलो आर्थिक सङ्कटमा परेका हुन् ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आइतबार रातिसम्म तीन जिल्लाका विभिन्न फार्ममा रहेका ३७ हजार ६ सय ६० वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । सङ्क्रमण नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको टोली अहिले प्रभावित क्षेत्रमा खटिएर सङ्क्रमित पक्षी मार्ने र खाडल खनेर पुर्ने कार्यमा व्यस्त छ ।
यही चैत ३ गते मोरङको सुन्दरहरैंचा–४ स्थित हलेसी महादेव कृषि फार्ममा अचानक कुखुरा मर्न थालेपछि नमुना सङ्कलन गरी काठमाडौँ पठाइएको थियो । चैत ४ मा प्राप्त रिपोर्टले त्यहाँ घातक प्रकृतिको सङ्क्रमण पुष्टि गरेपछि सरकारले तत्कालै ‘रेपिड रेस्पोन्स टिम’ परिचालन ग¥यो । तर, सङ्क्रमण त्यतिमा मात्र सीमित रहेन । हलेसीको भोलिपल्टै सोही वडाको बूढीगङ्गा कृषि फार्ममा पनि बर्डफ्लु देखियो ।
मन्त्रालयकी पशुपन्छी महाशाखा प्रमुख दीपा दियालीका अनुसार मोरङकै उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्म, कटहरीको कामक्षीया कृषि फार्म र इनजेष्ठ कोल्टी फार्ममा पनि सङ्क्रमण पुष्टि भएको छ । “मोरङको सुन्दरहरैंचाबाट सुरु भएको सङ्क्रमण अहिले झापाको दमक र सुनसरीको इटहरीसम्म पुगेको छ” उनले भनिन्, “हामीले धमाधम नष्ट गर्ने काम गरिरहेका छौँ ।” आइतबार रातिसम्म तीन जिल्लाका विभिन्न फार्ममा रहेका ३७ हजार ६ सय ६० वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । सङ्क्रमण नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको ‘रेपिड रेस्पोन्स टिम’ अहिले प्रभावित क्षेत्रमा खटिएर सङ्क्रमित पंक्षी मार्ने र खाडल खनेर पुर्ने काममा व्यस्त छ ।
सुन्दरहरैंचाको हलेसी महादेव फार्ममा बर्डफ्लु पुष्टि भएलगत्तै सङ्क्रमणको पराकम्प उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्ममा पुग्यो । मन्त्रालयकी पशुपन्छी महाशाखा प्रमुख दियालीका अनुसार मोरङकै कटहरीमा रहेका कामक्षीया कृषि फार्म र इनजेष्ठ कोल्टी फार्ममा पनि सङ्क्रमण पुष्टि भएपछि प्राविधिक टोलीले त्यहाँका ११ हजार थान कुखुरा नष्ट गरिसकेको छ ।
मोरङको सीमा नाघेर बर्डफ्लु अहिले झापा र सुनसरीका औद्योगिक सहरसम्म पुगेको छ । झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रा.लि.मा शनिबार सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि त्यहाँका २० हजारभन्दा बढी कुखुरा नष्ट गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले अचानक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा घातक सङ्क्रमण भेटिएको बताइन् । यस्तै, सुनसरीको इटहरीमा रहेका केही फार्ममा पनि सङ्क्रमणको लक्षण देखिएपछि निगरानी बढाइएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार ३७ हजार ६ सय ६० कुखुरा, ४३ हजार ९ सय ७१ वटा अण्डा र ८ हजार २ सय केजी दाना नष्ट गरिएको छ । यस्तै, ५ सय ५० थान खाली क्रेट, १ सय ८५ वटा लोकल कुखुरा र ७ वटा हाँस पनि नष्ट गरिएको छ । महाशाखा प्रमुख दियाली भन्छिन्, “सङ्क्रमण फैलिने क्रम रोकिएको छैन, यो सङ्ख्या अझै बढ्न सक्छ ।”
बर्डफ्लुले व्यवसायीको करोडौँको लगानी बालुवामा पानी हाले सरह भएको बताउँछन् । लेयर्स कुखुरापालक सङ्घ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाका अनुसार ठूलो लगानी गरेर कुखुरा हुर्काएका किसानहरू प्रतिफल लिने बेलामा रित्तो हात भएका छन् । “लाखौँ ऋण लिएर फार्म चलाइएको थियो, बिक्री हुने बेलामा सङ्क्रमण देखिँदा व्यवसायीहरू सडकमा पुग्ने अवस्था आएको छ”–बास्कोटाले भने ।
नेपालमा पहिलो पटक २०६५ माघमा झापाकै काँकडभिट्टाबाट बर्डफ्लु भित्रिएको थियो । त्यसबेला २८ हजार कुखुरा नष्ट गरिएको इतिहास छ । त्यसयता पटक–पटक देखिने यो सङ्क्रमण चार वर्षपछि फेरि कोशी प्रदेशमा उग्र रूपमा देखा परेको हो ।
सङ्क्रमण फैलिएपछि स्थानीय तहहरूले ‘हाइ अलर्ट’ जारी गरेका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल र सुन्दरहरैंचाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्क्रमण प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना र उपकरण ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएका छन् ।
नगरपालिकाले फार्म वरपरका कुखुरामा समान लक्षण देखिए तुरुन्त जानकारी दिन, फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र जैविक सुरक्षा (बायो–सेक्युरिटी) का उपायहरू जस्तै– चुना, फिनेल र सेनिटाइजरको प्रयोग गर्न निर्देशन दिएको छ ।
बर्डफ्लु भाइरस सङ्क्रमित कुखुराको दिसा, ¥याल र सम्पर्कबाट सजिलै फैलिने हुनाले सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन विज्ञहरूले आग्रह गरेका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका पशु चिकित्सक डा. देव कुमार दर्लामीका अनुसार कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा जोखिम कम हुने भए पनि सङ्क्रमण देखिएका क्षेत्रमा उच्च सतर्कता अपनाउनुको विकल्प छैन । “बर्डफ्लु भाइरस सङ्क्रमित कुखुराको दिसा, ¥याल र सम्पर्कबाट सजिलै फैलिने हुनाले सर्वसाधारण सचेत रहनु पर्दछ”–उनले भने ।
































