धरान । घरमा कसैलाई क्यान्सरजस्तो प्राणघातक रोग लागेपछि पीडा बिरामीमा मात्र सीमित हुँदैन, पूरै परिवार त्यसको असरमा पर्छ । बिरामीको चिन्ता, उपचारको खर्च, भविष्यको अनिश्चितता—यी सबैले परिवारका अन्य सदस्यलाई पनि गहिरो मानसिक दबावमा पार्छ । धेरै अवस्थामा त हेरचाहकर्ताहरू स्वयम् उच्च रक्तचाप, चिन्ता र डिप्रेसनजस्ता समस्याका शिकार बन्ने गरेको पाइएको छ ।

हालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ र विद्यार्थीहरूको समूहले गरेको अध्ययनअनुसार क्यान्सर बिरामीहरूको हेरचाह गर्ने मुख्य व्यक्तिहरू (केयरगिभर) मा अत्यधिक मानसिक तनाव रहेको पाइएको छ । अन्तर्राष्ट्रिय जर्नल बिएमजे सपोर्टिभ एण्ड प्यालिएटिभ केयर (BMJ Supportive & Palliative Care)  मा प्रकाशित अनुसन्धानअनुसार नेपालमा हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्य गम्भीर चुनौतीका रूपमा देखापरेको छ ।

प्रतिष्ठानका अनुसन्धानकर्ताहरू डा. सोनिया दुलाल, डा. राममोहन झा, डा. सुमन सुप्रतिक, डा. सुरेन्द्र उराव र डा. राजेश कुमारद्वारा गरिएको यस क्रस–सेक्सनल अध्ययनमा १ सय ७३ जना हेरचाहकर्ताको मानसिक अवस्था मूल्याङ्कन गरिएको थियो । अध्ययनका लागि नेसनल कम्प्रेहेन्सिभ क्यान्सर नेटवर्कद्वारा विकसित डिस्ट्र्ेस थर्मोमिटर (क्यान्सर बिरामीहरूको मानसिक, भावनात्मक र व्यावहारिक तनाव (distress) मापन गर्ने सरल उपकरण) प्रयोग गरिएको थियो । यसले  तनावको स्तर मापन गर्न मद्दत गर्छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा घरमै पुगेर गरिएको अध्ययनले ९१.९ प्रतिशत हेरचाहकर्तामा clinically significant distress  (गम्भीर मानसिक तनाव) देखिएको छ । करिब ४९.७ प्रतिशतमा अत्यन्त उच्च स्तरको तनाव पाइएको छ । यसले स्पष्ट देखाउँछ कि बिरामीसँगै उसको हेरचाह गर्ने व्यक्ति पनि ठूलो मानसिक दबावमा जीवन बिताइरहेका छन् ।

अनुसन्धानले देखाएअनुसार ३० वर्षभन्दा माथिका, विवाहित तथा कम शिक्षित हेरचाहकर्ताहरूमा तनावको स्तर अझ बढी रहेको छ । त्यस्तै स्तन क्यान्सर तथा पाचन प्रणालीसम्बन्धी क्यान्सर भएका बिरामीका हेरचाहकर्ताहरूमा पनि तनाव उच्च पाइएको छ ।

हेरचाहकर्ताहरूले भोग्ने समस्या केवल मानसिक मात्र होइन । शारीरिक थकान, सामाजिक अलगाव, आर्थिक दबाव र भावनात्मक तनाव सबै पक्षबाट उनीहरू प्रभावित हुने गरेका अध्ययनले देखाएको छ । लामो समयसम्म बिरामीको हेरचाह गर्नु, उपचार खर्च व्यवस्थापन गर्नु, र पर्याप्त सहयोग नपाउनुजस्ता कारणले उनीहरूको जीवनस्तरमा नकारात्मक असर परेको देखिन्छ ।

डा. सोनिया दुलालका अनुसार क्यान्सर उपचार प्रणालीले बिरामीसँगै हेरचाहकर्तालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । “हेरचाहकर्ताहरूका लागि नियमित मानसिक स्वास्थ्य परीक्षण, परामर्श सेवा र सामाजिक सहयोग कार्यक्रम आवश्यक छन्”–उनको भनाइ छ ।

यो अध्ययनले एउटा महत्वपूर्ण विषयलाई उठाएको छ । बिरामीको उपचारमा ध्यान दिइरहँदा, हेरचाहकर्ताको पीडा बेवास्ता गरिरहेको कुरालाई उजागार गरेको छ । विशेषज्ञहरूका अनुसार अब स्वास्थ्य नीतिमा सुधार गर्दै हेरचाहकर्तालाई पनि आवश्यक सहयोग प्रदान गर्नुपर्ने अध्ययनले सुझाएको पनि छ ।

“क्यान्सरविरुद्धको लडाइँ केवल बिरामीको मात्र होइन—यो एउटा परिवारको सामूहिक सङ्घर्ष हो । परिवारको समस्याबारे पनि रोगी जत्तिकै चिन्तित हुनु जरुरी छ”–रिपोर्टमा भनिएको छ ।