विजयपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु गरिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन निर्देशन गरेको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने पालिकाले स्पष्ट पारेको छ ।
समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ । गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौतामा गरिएको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ । कानुनी प्रावधानअनुसार ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाहीसमेत हुनेछ ।
निर्माण निर्धारित समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा विस्तारमा ढिलाइ भएको गुनासो गर्दै आएका छन् । अस्पताल भवन निर्माण ढिलाइ हुँदा सेवाग्राहीले आवश्यक स्वास्थ्य सुविधा समयमै नपाउने अवस्था सिर्जना भएको छ ।रासस
































