धरान। मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२६ अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । बैङ्कले विभिन्न शाखा कार्यालयमार्फत् विभिन्न स्थानमा साताव्यापी अभियानलाई सफल तुल्याउनका लागि वित्तीय साक्षरता, बालबलिका र युवा लक्षित कार्यक्रमहरू आयोजना गरेको हो । 

विभिन्न स्थानमा रहेका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल ठगीसम्बन्धी सचेतना, आधुनिक बैङ्किङ, विद्युतीय बैङ्किङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरू समावेश गरी एक सातासम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैङ्कले अज्ञात स्रोतबाट प्राप्त लिङ्क कतै नखोल्न, संवेदनशील विवरण सेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहनसमेत विभिन्न सूचनाहरूबारे जानकारी गराएको थियो । यसबाट धरान, तरहरा, चतरा, कालाबञ्जार, अमरदह, उर्लाबारी, शनिश्चरे गरेर पाँच सयभन्दा वढी विद्यार्थी, शिक्षक तथा युवा लाभान्वित भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापगाईंले जानकारी दिए । 

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) बाल कल्याण विद्यालय धरान–१६ सुनसरीलाई र्याक २ थान, स्टील दराज १ थान, कम्प्युटर टेबल १ थान, रिभल्विङ कुर्सी २ थान र अफिस टेबल १ थान हस्तान्तरणसमेत गरेको छ । बैङ्कको तर्फबाट अध्यक्ष किसन मास्केको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको बैङ्कले जनाएको छ ।