• धनबहादुर पुरी

इटहरी/ लकडाउनले व्यवसाय रोकिँदा लगानीकर्ताहरू सङ्कटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन् । लकडाउन खुकुलो भए पनि सरकारले व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै तत्काल सुरक्षा व्यवस्था गरी सञ्चालनमा ल्याउन व्यवसायीहरूले माग गरेका हुन् ।

लकडाउनमा हालसम्म सञ्चालनमा आउन नसकेका र आफ्नो पेशा व्यवसाय सङ्कटमा परेका सैलुन, ब्युटी पार्लर, सार्वजनिक यातायात, भाडामा चल्ने हलुका सवारी साधन, सिटी सफारी, अटो, निजी शैक्षिक प्रतिष्ठान, होटल तथा रेष्टुरेण्ट तथा निजी कम्पनी तथा फर्ममा कार्यरत कर्मचारीको बिजोक भएको बताएका छन् ।

मजदुर तथा पेशाकर्मीहरूलाई अविलम्ब आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था अपनाउँदै पेशा व्यवसाय गर्ने वातावरण मिलाउन इटहरी उपमहानगरपालिका समक्ष माग गरेको छ । ट्रेड युनियन काङ्ग्रेस इटहरीले तत्काल व्यवसाय सञ्चालन गर्न दिन माग गरेको हो । ट्रेड युनियन काङ्ग्रेस इटहरीका अध्यक्ष गोकुल थापाले व्यवसायीहरू सङ्कटमा पर्दै गएको बताए । अधिकांश व्यवसायीहरू अहिले सङ्कटमा परेको भन्दै उनीहरूलाई राहतको व्यवस्था गर्न माग गरेको बताए । सैलुन तथा ब्यूर्टीपार्लरका व्यवसायीहरू अहिले समस्यामा परेको गुनासो गरे ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले व्यवसायीहरू समस्यामा पर्दै गएको भन्दै यस विषयमा आफू गम्भीर रहेको बताए । ‘हामी व्यवसायीहरूको समस्याप्रति गम्भीर छौं’ –उनले भने ।

होटल व्यवसायीहरूको लगानी सङ्कटमा
होटलहरूको शहर इटहरीमा करोडौं लगानीमा खोलिएका होटलहरू अहिले सुनसान छन् । अरू बेला राम्रो व्यापार हुने इटहरीका होटल व्यवसायीहरूको अहिले कन्तबिजोक हुन पुगेको छ । कोरोना महामारीका कारण आन्तरिक तथा वाह्य पर्यटकहरू नआएपछि होटल व्यवसायीहरूको लगानी सङ्कटमा परेको छ ।

घरभाडा, बैङ्कको ब्याज र कर्मचारी खर्चले अहिले होटल व्यवसायीहरू आर्थिक सङ्कटमा परेका छन् । लामो समयदेखि इटहरीमा होटल व्यवसाय गर्दै आएका होटल व्यवसायीहरू अहिले समस्यामा पर्न थालेका हुन् । इटहरीमा साना–ठूला गरी १२ सय होटलहरू छन् । त्यसमध्ये करोडौं रुपैयाँ लगानीमा खोलिएका होटल तथा लजका सञ्चालकहरू अहिले समस्यामा परेका छन् । होटलहरूमा करोडौं लगानी भएको छ तर अहिले सबै बन्द रहेका छन् ।

इटहरीमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका होटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष तथा होटल सञ्चालक तेजबहादुर पुरीले अधिकांश होटल व्यवसायीहरूको कन्तबिजोक हुन पुगेको बताए । घरभाडा र बैङ्कको ब्याजले आफूहरूलाई तनावमा पारेको बताए । ‘अहिले अधिकांश होटल व्यवसायीहरू आर्थिक समस्याले ग्रस्त छन्’ उनी भन्छन्, ‘यस्तै अवस्था रहे होटलको चाबी बैङ्क र घरधनीलाई बुझाउनुको विकल्प छैन ।’

केही रेष्टुरेण्ट तथा सामान्य होटलहरू सामान्यरूपमा चले पनि इटहरीका ठूला होटल तथा लजहरूको भने अवस्था नाजुक भएको होटल व्यवसायी सङ्घ इटहरीका पूर्वअध्यक्ष अनुरोध थापाले बताए । ‘अहिले होटल व्यवसायीहरू र बस व्यवसायीहरू सबैभन्दा बढी मारमा परेका छन्’ थापा भन्छन्, ‘अहिले अधिकांस व्यवसायीहरू सङ्कटमा परेका हुनाले सरकारले हेर्नुपर्छ ।’

सफारीलाई दुःख दिएको आरोप
इटहरीको मुख्य चोक आसपास अहिले सफारीको जाम धेरै छ । अहिले सफारी चालकहरूलाई ट्राफिक प्रहरीले बिना कारण दुःख दिइरहेको आरोप लगाएका छन् । आफ्नै देशमा रोजगारीका लागि सफारी कुदाउनेहरूलाई ट्राफिक प्रहरीले अनाहकमा दुःख दिइरहेको उनीहरूले गुनासो गरेका हुन् ।

सफारी चालकहरूको सङ्घ जिफन्ट इटहरीका अध्यक्ष भूपाल पौडेलले ट्राफिक प्रहरीले सफारी चालकहरूलाई बिना कारण दुःख दिएर दिनभरिको कमाइ जरिबाना तिर्नु परेको बताए । उनले भने, ‘दिनको ५० वटासम्म सफारी पक्राउ गरी दिनको २५ हजारसम्म जरिबाना ट्राफिक प्रहरीले असुल्दै आएको छ ।’ ट्राफिक प्रहरीले कमिसनको लागि सफारीहरूलाई दुःख दिएको सफारी चालकहरूले गुनासो गर्दै आएका छन् ।