कथाः उनी

alt
  • असार २०, २०७७
  • ब्लाष्ट खबर

  • प्रभा पोखरेल ‘स्वेशा’

ऋषिमुनिहरुको आश्रम, वरिपरि ठूला–ठूला वृक्ष हरुले घेरेको, दायाँतिरबाट कतै छङ्छङ त कतै शान्त हुँदै बगेको ‘कोशी, कोशीको किनार, डुङ्गामा वारिपारि तर्ने मानिसहरुको प्रतिक्षारत माझीदाइहरु। अनि त्यै किनारमा ढुङ्गा बटुल्दै बालुवा थुपार्दै बालापनमा रमाइरहेका साना नानीबाबुहरु। कोशीको किनारबाट अलि पर लमतन्न पर्दै अलि उठेको ठेउके डाँडा, ठेउके ! यति हरियो रमाइलो डाँडाको नाम ठेउके हुँदै भएन, हरियो डाँडा । हरियो डाँडामुनिबाट कोशीको पानी सुटुक्क लिएर बनाइएको नहर । आहा १ यो ठाउँजति मनमोहक मैले कहाँ देख्छु कुन्नि मनमनै उनले सोचिन् ।
उनी हिँडेकी थिइन् जो बस् हिँड्नलाई, यो हिँडाइको लक्ष उनलाई थाहा थिएन । २० वर्षको उमेरमै उनलाई वैराग्य छाउन थाल्यो । या के भयो उनलाई थाहा छैन । एकान्तमा बसेर हराउन मन लाग्यो । आफूलाई यसरी नियाल्न मन लाग्यो, भनौं अन्तरआत्मा चिन्न मन लाग्यो । कोठामा बसिराखेकी उनलाई एक्कासि सबै कुरादेखि विरक्ति जागेर आयो । ‘अँ कति पढिस् ? कुन डिभिजन ? अब के पढ्ने ? नानी ठूली भइछिन् अब विहे गर्नुपर्छ, ओइ तेरो ब्वाइफ्रेण्ड छैन ? ओइ थाहा छ फलानो त तँ भनेसी हुरुक्कै हुन्छ नि ।’ फेरि अर्को आवाज तिमीलाई यो लुगाले कस्तो सुहाएको, आहा १ कति राम्री देखिएकी, त्यो चुरा पनि किन न, तिम्रो कपाल कुन कट काट्ने ?’ उफ् यस्ता सुनिने सामान्य आवाजहरुले नै उसलाई उकुसमुकुस वैरागीलो बनाइदियो। मन एकदम शान्त वातावरणमा घण्टौं बिताउँ भन्छ । मन नपरेपछि त स्वभाविक बोलीहरुले पनि डस्दोरहेछ ।
अतः उनले एकदिन बाबालाई भनिन्, ‘बाबा, म चतरा जान्छु ल ।’
बाबा– ‘मामाघर ? ए हुन्छ, जाऊ ।’
उनी– ‘मामाघर १–२ दिन बस्छु, अरु दिन नजिकैको वृद्धाश्रम घुम्छु है ।’
बाबा– ‘हुन्छ, छोरी तिम्रो इच्छा, तिमीमाथि विश्वास जो छ तिम्रो बाबालाई ।’
कौतुहलले भरिएको तर प्रश्नहरु धेरै नतेस्र्याउने बानी उसको बाबाको तर अवश्य विश्वास जो छ छोरीमाथि ।
उनले छुट्टी पाइहालिन्, मामाघरमा झोला बिसाएर भनिन्– ‘म आश्रमतिर घुम्न जान्छु है ।’ अनि आइपुगिन् उनी यो रमाइलो हरियो डाँडा, अनि यसको पल्लोपट्टि बसिन्, सुटुक्क चुपचाप ।
(केटाकेटीहरु)
१ ः ओेइ उ पर हेर न, हाम्रो गाउँमा त बुद्ध आएछन् ।
२ ः अँ होला, बुद्ध त उहिले मरिसकेका, मरिसकेको मान्छे आउँछ कि के हो नि ।
३ः होइन, के भनेको होला, भगवान नि कैल्यै मर्छन् त । हो त रै’छ त, मैले नि देखेँ, आएछन् हेर न, नपत्याए उ त्यो रुखनेर उ उत्तापट्टि ।
४ ः खै कहाँ होला, त्यो त केटी मान्छे जस्तो छ त । के को बुद्ध हुनु, को बहुलाही हो कि, हिँड जाऊँ रमेश दाइलाई भनौं न बरु ।
गुडुडु कुदेर रमेश दाइकोमा पुगे, यी भुराभुरी भन्दै रमेश दाइको आमाले खेदाइहालिन् । भुराहरु साउती मार्ने बानी भइसके, साउती गर्छन् । बुद्ध आएका छन् हाम्रो गाउँमा, केटी बुद्ध के ।
हँ, के भन्छन् यी केटाकेटी ? रमेश आधा हाँस्दै, नपत्याउँदै बोल्छन् । लु, हिँड त मलाई देखाओ ।
रमेश केटाकेटीहरुसँगै नहरको पल्लोछेउ नपुगी वरैबाट हेर्छन् । ‘तिमीहरु यहीँ बस्दै गर, फेरि बौलाहा रै’छ भने तिमीहरु भाग्न सक्दैनौ के ।
केटाकेटीहरु रमेशको विस्तारै चलेका पाइलाहरु आँखाले पछ्याउँदै बसे, कौतुहल र डर मिश्रित आवाजमा ‘बुद्ध रै’छ भने हाम्लाई नि बोलाउनु है दाइ ।’
उनको बनोट मूर्ति झैं शान्त रुप देखेर रमेश हच्कियो । यो जमानामा यो १८–१९ वर्षकी केटीलाई यस्तो ठाउँमा आएर के बस्न मन लागेको होला । हैन, कति शान्त हुन सकेकी यो केटी, पक्कै यसको ब्वाइ फ्रेण्डले धोका दियो होला । कि के भो होला यो केटीलाई । साँच्चिकै बहुलाही त हैन, धत् हुन सक्दैन यो चाहिँ । यो केटीको यो हाल देखेर त मेरो टाउकै घुम्न लाग्यो हैट् । मनमनै अनेक तर्कना गरेको ग¥यै भयो रमेश । केटाकेटीले रमेशले फर्केरै नहेरेकोले सिट्ठी बजाए, झसङ्ग भयो रमेश । हातले इशारा ग¥यो ।
१ः ‘दाइ को रै’छ दाइ ? बुद्ध हो बुद्ध ?’
२ः बोलेन ।
‘सुन केटाकेटी हो, कोही शान्तिसँग बस्न आएको होला, तिमीहरु आ–आफ्नो घर जाओ । तिनलाई भोक लाग्ला अनि आफै जालिन् नि है, लु जाओ है घर अनि अरु कसैलाई नभन, फेरि सबै आएर विचरीलाई डिस्टर्ब गर्देलान् है, ल जाओ जाओ । भोलि हेरुम्ला नि फेरि बरु है’ –फकाउँदै भने रमेशले । रमेश केटाकेटीका प्यारा न परे, मानिहाले, टाउको हल्लाउँदै केटाकेटीहरू लागे घरतिर ।
केटाकेटीलाई पठाएर रमेश पुनः उसको छेउमा जान खोजे, फेरि के सुर चढ्यो, परबाट हेरिरहन मन लाग्यो । अलि परको ढुङ्गामा चढे ।
आठ बजिसक्यो । यो केटी उठ्दिन त । हैन ! बुद्ध केटी बनेर आएछन्, आफै खिसी गर्दै रमेश हाँस्छन् । उ हल्लिइन्, हल्लिइन्, उठ्छिन्जस्तो छ ।
रमेश– हाइ के छ ? किन यस्तो ठाउँमा आएर तपश्या गरे झैं गर्नुभएको ?
उनी– तपश्या गरे झैं ? तिम्रो मतलव ? अनि तिम्लाई के को चासो ? यो ठाउँ तिम्रो सम्पत्ति हो र ? मान्छे देख्नु र सुन्नुमा कति फरक रै’छ बा । अप्रत्यासित र नसोचेको पाराको जवाफले झस्किन्छन् रमेश ।
रामेश– झनै नरम भएर, लौ किन रिसाउनुभ’को ? मलाई त आजकालको, झनै केटी मान्छे, यसरी जङ्गलमा आएर किन एकान्तमा बस्नुभयो, के पिर प¥यो कि भनेर पो त ।
उनी– ए मेरो पिर हेर्ने तिमी को हौ ? अनि केटी मान्छेले यहाँ आउन हुन्न ? मान्छे जङ्गल आउन नहुने भए तिमी चैं किन यहाँ ?
रमेश पूरै तर्सियो । बौलाही ? अहँ, हुन सक्दैन । कस्तीखालकी केटी यो ?
म सिधा कुरा गर्छु, उ बाङ्गो–बाङ्गो ।
रमेशलाई यहाँ धेरै बोल्नु उचित लागेन, सरासर घरतिर लाग्यो । पर पुग्यो, मानिसको स्वभाव न हो, फेरि उत्सुकता जाग्यो, कता गइछ यो केटी, को रै’छ यस्ती ? यता–उता सबैतिर हे¥यो, देखेन । हैन, वनकली हो कि के हो यो ? हा.. हा.. एक्लै कल्पना गरेर मुस्कुराउँदै घर पुग्यो ।
एवम् क्रमले भोलिपल्ट, पर्सिपल्ट लगातार पाँचदिन ऊ त्यही आई र त्यसैगरी चुपचाप बसी, साँझ परेपछि जुरुक्क उठी र कता लागी –लागी ।
छैठौं दिन, रमेशले सधैँ झैं परबाटै चिहायो । उही आकृति देख्ने आशमा । तर पछाडिबाट कसैले बोलायो । ‘ओ महाशय, म यता छु । हि हि हि ।’ रमेशले मनमनै भन्यो– ओहो १ यो पाराको सम्बोधन अरु कसको हुन सक्छ र ?
तर आफू आफ्नै सुरमा भएको र कसैको खोजीमा नभएको जस्तो गरी पछाडि फक्र्यो । उसले नै कुरा शुरु गरी । ‘अनि अस्ति त मलाई खुब अन्तरवार्ता लिँदै हुनुहुन्थ्यो नि ।’
रमेशलाई एक्कासि झनक्कै रिस उठ्यो ।
‘हो, तिमी त जङ्गल नै पस्ने बेला भएको रहेछ । जाऊ अझै तपश्या हो कि ध्यान जे हो त्यही गर । बोल्ने तरिका पनि सिक । तिमीलाई केही सोध्यो भने नि मन नपर्ने, मान्छे बोल्दै मन नपर्ने, अझ अन्तरवार्ता रे ।’
ऊ– ‘ल, मान्छे ध्यान गरिरहेको बेलामा तिमी चैं आएर ध्यान भङ्ग गर्ने ?’
सुर्रिने तरिका तर शान्त खाले भाव अनौठो लाग्यो रमेशलाई, उसका आँखामा गहिरो भाव अनि अनुहार अचम्मैलाग्दो शान्त थियो । एकछिन दुवै मौन रहे, कोशीको स्वच्छ हावाको झोंक्काले दुवैलाई मजाले सुमसुम्याएर गयो । अलिकति पर्तिर खोल्सोको सानो मधुरो छङ्छङ, यही बेला आकाशमा एक हुल चराहरु भुर्र उडे, अनि दुई ढुकुरहरु चैं चारो टिप्दै, एक–अर्कालाई ठुँगे जसोगरी जिस्किँदै रमेशको छेउमै अल्मलिइरहे । रमेश ढुकुरहरुलाई हेर्दै टोलायो । उसले रमेशको रिस मरोस् भनी कुरी रही ।
‘लु भैगो छोडिदेऊ यो कुरा, मलाई माफ गर अनि तिम्रो नाम के हो भन ।’ मन्द मुस्कुराउँदै उसले ठट्टाको भावले कुरा शुरु गरी ।
‘रमेश’ कुरा गर्दै गएसी त रमेशलाई ऊ जादुगर्नी परी जस्ती पो लाग्न थाल्यो । रमेश– अनि के सिक्यौ त यतिका दिन घर छोडेर यहाँ आएर ?
उ– धेरै कुराहरु सिकेको छु । कुन भनुम् ? मुसुमुसु हाँस्दा उसका आँखाका कुनामा हल्का मुजा परे । कति सुहाएको। उसले पुलुक्क रमेशलाई हेरी । रमेश भुतुक्कै भइसकेको थियो । केही नभन तिम्रो आँखामा हेरिरहन देऊ, म आफै घण्टौं पढ्न सक्छु, रमेशलाई एकै श्वासमा भन्दिउँ झैं लाग्यो तर उसले बोल्यो– जुन भने नि हुन्छ ।
उ– जीवनदेखि अघाएर मात्र जीवनको अन्त्य हुँदैन, न त जीवनको सदुपयोग नै हुन्छ ।
सबैलाई खुसी पारेर बाँच्छु भनेर सोच्नु त पटक–पटक मर्नु जस्तै रहेछ किनकि त्यो सम्भव नै छैन ।बाँच्ने सबैको आ–आफ्नै तरिका हुन्छ, आफू र अरुलाई हानि नगरी बाँचे भै गो, अरु कोहीसँग सहमत हुनैपर्छ भन्ने छैन ।
रमेशको मनमा केही प्रश्नहरु तेर्सिए । अनि आफै थन्किए । प्रश्नका जवाफ तिनै तीनवटा कुराको वरिपरि घुम्यो । फेरि पनि तिमी यति कुराहरु सिक्न यहाँ जङ्गलमा आइरहनुपथ्र्याे त, विस्तारै जिन्दगीले सबै सिकाइहाल्थ्यो नि, रमेशलाई भन्न मन लाग्यो । तेस्रो कुराले रोक्यो, चुप लाग्यो ।
रमेश उसले मोहनी लाएजस्तो लठ्ठ पर्न थालिसकेको थियो । मनमा साँच्चीकै ज्वारभाटाहरु चलिरहेका थिए तर यतिबेलासम्म गहिरिएर सुनिरहेको रमेश बोल्यो आधा जिस्कँदै आधा गम्भीर हुँदै बोल्योः
‘माया पिरतीको गतिमा के सिक्यौ नि ?’
उ– ‘खै मैले सोचेकै छैन, अर्कोचोटी यात्रा गरुम्ला यो ठाउँको, अनि भनुम्ला । हि..हि...। उसले उस्तै भावमा जवाफ दिई । म भोलि घर फर्कदै छु ।’

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved