धरान । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धका विषयमा दुई वर्षबीच वार्ता भएको दाबी अन्ततः भ्रामक (मिथ्या) रहेको इरानले पुष्टि गरेको छ । 

यो पुष्टिसँगै राष्ट्रपति ट्रम्प कति झुटो बोल्छन् भन्ने प्रमाणित गरेको छ । विभिन्न अध्ययनअनुसन्धानहरूले ट्रम्प झुटो बोल्ने उच्चपदस्थ अधिकारीमा सबैभन्दा अग्रपङ्क्तिमा पर्छन् । ट्रम्पले इरानका अधिकारीसँग जारी युद्धका विषयमा दुई पक्षबीच ‘वार्ता’ भएको सोमबार बताएका थिए ।

उनले दुई देशबीचको शत्रुता पूर्णतः समाधान गर्न दुई देशबीच कुराकानी भएको बताएका छन् । यति मात्रै हैन, उनले इरानमा जारी हमलालाई पाँच दिनका लागि पछाडि सारेको (पोस्टपन्ड) गरेको बताएका छन् । यसलाई इरानले आधिकारिक विज्ञप्ति जारी गरेरै उक्त दाबीको खण्डन गरेको छ । यसलाई ‘भ्रामक समाचार’ भनी टिप्पणी गरेको छ । 

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भइरहेको वार्ताको बारेमा भनेको कुरालाई अस्वीकार गर्छौं ।”

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले उद्धृत गरेको समाचारमा लेखिएको छ, “इस्लामिक गणतन्त्र इरान युद्धबाट इरानको लक्ष्य प्राप्त गर्नुअघि कुनै पनि प्रकारको वार्तालाई अस्वीकार गर्ने आफ्नो अडानमा अडिग छ ।” यी समाचारहरूले ट्रम्पले गरेको वार्तासम्बन्धी विषयमा भ्रामक रहेको पुष्टि गरेको छ । 

ट्रम्पले तेहरानसँग फलदायक छलफल भएको भन्दै सामाजिक सञ्जालमा ट्रुथमा पोष्ट गरेका थिए । उनले इरानका ऊर्जा पूर्वाधारमाथि हुन सक्ने आक्रमण पाँच दिनका निम्ति स्थगित गरिएको उल्लेख गरेका छन् । ट्रुथमा उनले लेखेका छन्, “यी गहन, विस्तृत र रचनात्मक छलफलका भाव र शैलीको आधारमा, जसले पूरै साता निरन्तरता पाउनेछ, मैले युद्ध मामिला हेर्ने निकायलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा संरचनाहरूमा पाँच दिनका निम्ति सबै किसिमका सैन्य कारबाही स्थगन गर्न भनेको छु, जुन जारी बैठक र छलफलमा निर्भर हुनेछ ।”

इरानी संसद्का सभामुख मुहम्मद–बागेर गलिबाफले पनि त्यस्तो कुनै छलफल नभएको बताउँदै “तेल बजारलाई प्रभावित पार्ने” दाउ भएको सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका छन् । उनले एक्समा लेखेका छन्, “अमेरिकासँग कुनै वार्ता गरिएको छैन । वित्तीय र तेल बजारलाई प्रभावित पार्न अनि अमेरिका र इजरेललाई फसेको दलदलबाट उम्काउन भ्रामक समाचार प्रयोग गरिँदै छ ।” इरानमाथिको हमला स्थगित गरेको विषयले विश्वबजारमा कच्चा तेलको मूल्य घटेको थियो । 

यता इरानमाथि इजरायलले आक्रमणलाई जारी राखेको विवरणहरू सार्वजनिक भएका छन् भने इरानले पनि इजरायलमाथि आक्रमण गरेको खबरहरू बाहिरिएका छन् । 

कुवेतबाट सञ्चालित अरब टाइम्सले ट्रम्पले फेक न्यूज फैलाएको भनी पुष्टि गरेको छ । इरानका विदेश मन्त्री अब्बास अर्गाचीले एक साताअघि युद्धका विषयमा लिएर अजरबैजान, इजिप्ट, ओमन, पाकिस्तान, रसिया, साउथ कोरिया, टर्की र तुर्केमेनिस्तानसँग छलफल गरेको थियो ।

ट्रम्पले बयान दिएको र बोलेको विषयलाई लिएर केही तथ्य जाँच गर्ने संस्थाहरूले तथ्य जाँच गर्दा सबैभन्दा बढी झुट बोल्ने सर्वोच्च नेताको रूपमा व्याख्या गरेको छ । ट्रम्पको बयानलाई आधार मानेर पोलिटीफ्याक्टले २०१५, २०१७ र २०१९ मा ‘लाइ अफ दी इयर’ अवार्ड दिएको थियो । 

उसले गरेको विभिन्न तथ्य जाँचमा ३६ वटा समाचारहरू जाँच गर्दा ३ प्रतिशत मात्रै सत्य बोलेको उल्लेख गरेको छ । यस्तै दुई सय २७ वटा समाचारहरू जाँच गर्दा १८ प्रतिशत झुट बोलेको तथ्य सार्वजनिक गरेको छ । उसले ट्रम्पलाई झुट बोल्ने व्यक्तिको रूपमा परिभाषित गरेको छ ।