धरान । झापाको भद्रपुर नगरपालिका–८ मा आफ्नै वृद्धा आमालाई कुटपिट गर्ने छोरा पक्राउ परेको प्रहरीले जनाएको छ । 

भद्रपुर नगरपालिका–८ क्याम्पस मोडमा घर भएकी ७९ वर्षीया चन्द्रमाया घिमिरेलाई आक्रमण गरेको आरोपमा छोरा यशिस घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आरोपित छोरा ३७ वर्षीय यशिसले सोमबार कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

उक्त विषय सामाजिक सञ्जाल फेसबुकमा प्रसारित गरिएको थियो । आरोपित यशिसको कुटाइबाट आमा चन्द्रमायाको दुवै आँखामा गहिरो निलडाम देखिएको छ भने दाहिने आँखा सुन्निएर पूर्ण बन्द भएको पाइएको छ । भिडियोमा आफ्नै छोराले खाएर आई आफूलाई कुटपिट गरेको बताएकी छन् । तर, छोराले के खाएर आई कुटपिट गरेको हो भन्ने खुल्दैन । 

मादक पदार्थ सेवन गरेको हो वा लागूपदार्थ सेवन गरी कुटपिट गरेको हो भन्ने खुलेको छैन । प्रहरीले पनि उक्त विषयबारे जानकारी दिएको छैन । विभिन्न सञ्चारमाध्यममा भिडियो प्रसारित भएको आधारमा खोजी गरी पक्राउ गरिएको जनाएको छ । उनलाई कर्तव्य ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ह्वाट्सएपमा सबै मिडियाकर्मीहरूलाई सूचना पठाएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापा भद्रपुरमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ । यता आमा चन्द्रमायालाई घरबाट उद्धार गरी स्वास्थ्योपचार गरिरहेको जानकारी दिइएको छ ।