• सिंह चाम्लिङ राई

उदयपुर/ कोरोनाको कारणले उदयपुरका कृषकले उत्पादन गरेका बोका–पाठा बिक्री हुन सकेका छैनन् । त्रियुगा नगरपालिका–१४ नेपानेका व्यावसायिक बाख्रापालक कृषक रामकुमार राईले उत्पादन गरेका बोका–पाठा बिक्री नभएको हो ।

विगत करिब ८ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका राईले बोका–पाठा बिक्री गर्न नपाएका हुन् । २०६८ सालदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक राईले २०७१ मा ‘स्वइच्छा बाख्रापालन फार्म’ दार्ता गरेर व्यावसायिक बाख्रा पाल्दै आएको कृषक राईले बताए ।

लकडाउनले गर्दा समयमा बोका–पाठा बेच्न नपाएको कृषक राईले बताए । गाउँघरमा केही बोका बिक्री भए पनि उचित मूल्य नपाएको उनले बताए । उनले भने, ‘अहिले फार्ममा करिब ३५ वटा बोका बेच्नयोग्य छन् । पाठा जन्मेको करिब ५ महिनामा बेच्नयोग्य हुन्छ, सिजन कटिसकेको बोका पनि फार्ममा छन् ।’

बाख्रापालनबाट वार्षिक करिब २० लाख आम्दानी गर्दै आएको भए पनि यसवर्ष त्यसको आधा मात्रै आम्दानी हुने आशा राखेको कृषक राईले बताए । गतवर्ष सिजनमा बोका प्रतिगोटा १०–१२ हजारमा बिक्री हुन्थ्यो । तर यसवर्ष कोरोनाले गर्दा बिक्री गर्न नपाएकाले आम्दानी घटेको उनले बताए ।

लकडाउनमा बजार बन्द भएकाले बाख्रालाई दाना–पानीको व्यवस्थापन तथा ढुवानी गर्न समस्या भएको कृषक राईले बताए । सिजनमा बोका–पाठा बेच्न नपाउँदा समस्या हुने उनले बताए ।

उनले आधुनिक ३ वटा खोर, बाख्रालाई नुहाउने डिपिङ सेण्टर र आधुनिक टाट्नो निर्माण गरेका छन् । अहिले फार्ममा करिब १ सय ७५ वटा माउ बाख्रा छन् । ६५ वटा माउ बाख्रा हराउँदा करिब १० लाख बराबरको क्षति भएको कृषक राईले बताए । फार्ममा स्थानीय खरी जातका बाख्रा, जमुना पारी, बोयरलगायत प्रजातिका बाख्रा रहेको उनले बताए ।

लकडाउनको समयमा कामदारहरू सबै घर गएको र आफू पनि क्वारेण्टिनमा बस्नुपर्दा बाख्रा हेर्ने मान्छे नभएकाले माउ बाख्रा हराएको कृषक राईले बताए । उनले भने, ‘मेरो लाखांैको बाख्रा हराए । गाउँमा मलाई कोरोना लागेको भनेर भ्रम फैलाइयो । मेरो पिसिआर रिपोर्ट नेगेटिभ आउँदा पनि भ्रम फैलाएर हल्ला मच्चाइयो ।’

करिब २०५७ सालतिर ग्रामीण पशु स्वास्थ्य सेवा तालिम लिएर केही वर्ष गाउँघरमा सेवा गरेपछि आफै व्यावसायिक बाख्रापालन गर्ने सोच पलाएको हुनाले यस व्यवसायमा होमिएको उनले बताए । पछि श्रीमतीलाई पनि भेटेरिनरी पढाएर अहिले दुवैजना बाख्रापालनमा रमाइरहेको उनले बताए ।

उनले भने, ‘जागिर खाँदाको समयभन्दा व्यवसाय गर्दा छुट्टै आनन्द हुँदो रै’छ । जागिरमा हरेक कुराको चिन्ता कहिले कहाँ, कहिले कहाँ, व्यवसायमा आफू खुसी, आम्दानी पनि बढी हुने, व्यवसाय शुरु गरेदेखि अहिलेसम्म सामान्य बिरामी परेको बाख्रालाई हामी आफैले उपचार गर्ने हुँदा सहज छ ।’ केही वर्षअगाडि अज्ञात रोगले करिब ४५ वटा बाख्रा मरे पनि हाल त्यस्तो केही नभएको उनले बताए ।

बाख्रालाई वर्षमा एक पटक मङ्सिर, पुसतिर पिपिआर भ्याक्सिन लगाउनु पर्ने उनले बताए । तर यो भ्याक्सिन सरकारले मात्रै दिने भएकाले कहिले निकै ढिलो दिने गरेको कृषक राईले बताए । ‘आफैले किनेर बाख्रालाई भ्याम्सिन दिन पाइँदैन, सरकारले कहिले ढिलो दिँदा बाख्रामा केही समस्या आउने गरेको छ’–उनले भने ।

व्यावसायिक बाख्रापालन गर्ने हो भने यसको प्राविधिक ज्ञान हुन जरुरी रहेको कृषक राईले बताए । रोगको पहिचान गर्न जान्ने र दाना–पानीको व्यवस्थापन गर्न जान्नेले व्यवसाय गरेमा सहज र राम्रो आम्दानी लिन सकिने उनले बताए । अहिले करिब १५ रोपनी जग्गामा बाख्रालाई घाँसका लागि इपिलइपिल, इण्डुला, टाँकी, किम्बु, कोइरालो, नेपियर, भटमासेलगायत प्रजातिका बिरुवा रोपेको कृषक राईले बताए । यसवर्ष कोरोना महामारी नआएको भए करिब ५० रोपनी जग्गा किनेर घाँसखेती गर्ने सोच बनाएको उनले बताए । बोयर जातको बाख्रालाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय अगाडि बढाउने सोच रहेको पनि उनले बताए ।

फार्मलाई एउटा स्रोतकेन्द्रको रूपमा बढाउने कृषक राईले बताएका छन् । ‘एउटा नमूनाको रूपमा आधुनिक तरिकाले फार्म सञ्चालन गर्ने सोच छ, बाख्रालाई बढी निगरानी गर्नु पर्ने भएकाले थप आर्थिक स्रोत र जनशक्ति सञ्चालन परिचालन गर्नेछु’–उनले भने ।

यही असार १ गतेदेखि लकडाउनको स्वरूप परिवर्तन गर्दै खुकुलो पारिए पनि कृषकहरूले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेको छैन ।
कोरोनाले व्यापार–व्यवसाय चौपट बनाएको छ । कतिको गाँस, बाँस नै खोसिएको छ त कतिको ज्यान नै गइसकेको छ ।