- खेवाहाङ मेवाहाङ
सङ्खुवासभा/ सङ्खुवासभालगायतका विभिन्न जिल्लामा हुने रुद्राक्ष व्यवसाय धरासायी बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै नियमित पानी परिरहेका कारण फूलेको रुद्राक्षको फूल बोटमै कुहिएर नष्ट भएपछि व्यवसाय नै सङ्कटमा परेको हो । कोरोना भाइरसको कारण अस्त–व्यस्त भएको रुद्राक्ष व्यवसाय अत्यधिक वर्षाको कारण थप धरासायी बनेको छ ।
रुद्राक्षको फूल फूल्ने यो समयमा लगातार वर्षा भएपछि करिब ७५ प्रतिशत फूल बोटबाट झरिसकेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाइ छ । घाम–पानीको कारण अधिकांश रुद्राक्षको बोट फूलविहीन बनेको अध्यक्ष विसुङ्केले बताए । उनले केही दिन पानी परेर एक दिन घाम लागेपछि पूरै फूल कुहिएर झर्ने अध्यक्ष विसुङ्केले बताए । अझै घाम–पानी लगातार भइरहेकोले बाँकी रहेको करिब २५ प्रतिशत फूल पनि झर्ने खतरा रहेको समेत विसुङ्केको भनाइ छ ।
रुद्राक्षको फूल बोटमै कुहिएर झर्न थालेपछि करोडौंको लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् । एकै बोटलाई करोड रुपैयाँसम्म लगानी गरेर ठेक्का हालेका व्यवसायीहरूको लगानी डुब्ने खतरा बढेपछि व्यवसायीहरू चिन्तित बनेका हुन् । बोटमा फूल नै नरहेपछि फलको आशा सकिएको रुद्राक्ष व्यवसायी अर्जुन न्यौपानेको भनाइ छ । करोडको हाराहारीमा रुद्राक्षमा लगानी गरेको बताउँदै व्यवसायी न्यौपानेले लगानी फर्कने आशा मरेको बताए । बर्सेनी व्यवसाय सञ्चालन गरिरहेका उनले यसपालि कोरोनासँगै वर्षाले समेत समस्यामा पारेको बताए ।
केहीवर्ष अघिसम्म बोटमा मात्र लगानी गर्दै आएका व्यवसायीहरूले यसवर्ष औषधिसमेत खरिद गरेर बोटमा छर्केका थिए । लाखांै रुपैयाँमा खरिद गरेर औषधि हालिए पनि फूल नै झरेपछि घाटाको मात्रा बढेर गएको हो । चीनबाट लाखौं रुपैयाँमा ‘भिटामिन’ अर्थात् रुद्राक्ष चिल्लो पार्ने औषधि खरिद गरेर यसपालि बोटमा प्रायः सबैले छर्केका थिए । तर फूल नै झरेपछि औषधिमा गरिएको लगानी पनि बालुवामा पानी भएको छ । औषधि यस पटक गत वर्षभन्दा बढी छर्किए पनि लगातारको झरीले औषधिमा गरेको लगानीसमेत डुब्ने भन्दै व्यवसायीहरू चिन्तित रहेका छन् ।
यस वर्ष अरुण उपत्यका क्षेत्रमा एक बोटलाई एक करोड २० लाख रुपैयाँसम्म लगानी गरेका छन् । गतवर्ष एकै बोटलाई एक करोड ४५ लाख रुपैयाँमा व्यवसायीले ठेक्का हालेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभाको चेवाबेँसी, स्याबुन, याफु, चन्दनपुर लगायतको क्षेत्रमा गुणस्तरीय रुद्राक्ष फल्दै आएको व्यवसायीहरू बताउँछन् । योसँगै यहाँका व्यवसायीहरूले भोजपुरको षडानन्द नगरपालिका तथा साल्पासिलिछो गाउँपालिका क्षेत्रमा समेत लगानी गरेका छन् ।
चिल्लो र ठूलो आकारको रुद्राक्ष महँगोमा चिनियाँ व्यापारीले खरिद गरेर लैजाने गरेका छन् भने मुखदार रुद्राक्ष भारत निर्यात हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि व्यापारीहरूको आगमन नहुँदा रुद्राक्ष व्यवसाय खस्कने अनुमान गरिएको छ । विदेशमा निर्यात गरेर सबैभन्दा धेरै अर्थोपार्जन गर्दै आएको रुद्राक्ष व्यवसायमा कोभिड–१९ ले समस्या पारेको थियो नै तर वर्षायामको नियमित अविरल वर्षाले गर्दा व्यवसाय धरासायी बनेको हो । पछिल्लो समय अत्यधिक वर्षाको कारण उत्पादन घट्ने भएपछि सङ्खुवासभाको अर्थतन्त्रमा यसको ठूलो असर देखिने जानकारहरूले बताउँदै आएका छन् ।