• राजेन्द्र रिमाल

पञ्चायतमा हामीलाई भनियो– यो देश नबनेको पञ्चायती व्यवस्थाले गर्दा हो, हाम्रो गरिबीको कारण र समृद्धिको बाधक भनेको राजतन्त्रात्मक राजनीतिक प्रणाली हो । त्यसैले यसलाई हटाउने दिशातर्फ जीवन उत्सर्ग गर्नुपर्छ । सिक्ने र जान्ने उमेर भएको त्यसबेला हामीलाई पढाइयो– ‘सङ्घर्षमा नहिँडे, सामन्तलाई नगिँडे, आउँदैन है जनवाद छमछम नाचेर ।’

मैले ०३६ सालको विद्रोह देखेपछि राजनीतिको ‘र’ बारे बुभ्mन थालेको हो । उबेला हाम्रोतिर अखिलको पाँचौं र फेडरेसनको खुब चकचकी थियो । अनि प्रहरी प्रशासनको आडमा मण्डलेहरू पनि बेलाबेला फाइँफुइँ गर्थे । त्यहीबेला नै हो देशको ठूलो युवाजमातलाई रातो झण्डा मुनि ओत लाएर शपथ खान लाएको । २०४२ सालको आन्दोलनमा त आफूले लगाएको सर्टभरि ढुङ्गा बोकेर सहभागी नै भइयो । त्यही बेलै त हो धरानको छाताचोकमा प्रहरीको गोली लागेर मेरै छेउमा गान्धिव श्रेष्ठले सहादत प्राप्त गरेको ।

त्यो बेलादेखि आजसम्म म र मजस्ता मेरो पुस्ताका ‘हामी’ निरन्तर सङ्घर्षमा छौं । देशको समृद्धिका लागि, देशबासीको गरिबी निवारणका लागि, सुशासनका लागि, जवाफदेही सरकारका लागि र खासगरी देशको सरकारमा हरेक नागरिकको अपनत्वका लागि । हामीलाई पढाइयो, हामीले पनि पढ्यौं र लाग्यौं सङ्घर्षतिर । हाम्रो एक सूत्रीय कार्यक्रम थियो पञ्चायत ढाल्ने र प्रजातन्त्र ल्याउने । पञ्चायत ढाल्यांै, प्रजातन्त्र ल्यायौं र लाग्यो अब यो देशको मुहार फेरिनेछ । पञ्चायती भाटहरूका दिन सकिए । अब योग्य र प्रतिभावान युवाहरूले देशको मुहार फेर्ने अभियानमा अवसर पाउनेछन् । नातावाद, कृपावाद, फरियावाद हुने छैन । किनभने सङ्घर्षका ती दिनहरूमा हामीले हरेक बिहान गाउने गीत त त्यही देशको मुहार फेर्ने भन्ने नै त थियो । शुरुमा हामीले पढ्यौं पछि पढाउन पनि थाल्यौं–‘सुनको बिहान एक उदाउँछ रे ... ।’ हामीलाई उबेला यो गीत गाउन लाउने अगुवाहरू ध्यानबहादुर राई, राजकुमार कार्की, रमेश केसी, मोहन ढकाललगायत धेरै हुनुहुन्थ्यो ।

कतिपय अगुवाहरू दिवङ्गत भइसक्नुभयो भने अधिकांश राजनीतिभन्दा पर सीमान्तकृत जीवन बाँचिरहनु भएको छ । पञ्चायत गयो, प्रजातन्त्र आयो तर परिवर्तन आएन । हामीलाई फेरि भनियो–यो प्रजातन्त्र देश अनुकूल भएन अब लोकतन्त्र चाहियो । फेरि जनविद्रोह गरियो, जनयुद्ध पनि भयो । प्रजातन्त्र गयो लोकतन्त्र आयो, तर परिवर्तन फेरि पनि आएन । शासकको अनुहार परिवर्तन भयो, प्रवृत्ति परिवर्तन भएन । शासकीय प्रवृत्ति त झन् खतरनाक हुँदै आयो, अनुहार त झन् कुरूप हुँदै आयो । हिजोसम्म हामीले देवŒवकरण गरेका अनुहारहरू सिङ र दाह्रा भएका दानवजस्ता देखिन थाले ।

फेरि हामीलाई भनियो– यो व्यवस्थाले पनि समृद्धि नआउने भयो, अब अन्तिम धक्का दिनै पर्ने भयो, अब गणतन्त्र ल्याउन पर्छ, देशलाई सङ्घीयतामा लैजानु पर्छ र आज हामी त्यही समृद्धिको सपना देखेर ल्याएको सङ्घीय गणतन्त्रात्मक व्यवस्था भएको अवस्थामा छौं र अवस्था के छ हामी सबै सामु छँदैछ । गएको आमचुनावमा सबै राजनीतिक दलहरूले उपयोग गरेको शब्द ‘समृद्धि’ नै थियो । भन्नुको मतलव आजको राजनीतिमा सबैभन्दा हाताहाती बिक्री हुने शब्द नै ‘समृद्धि’ हो । आजसम्म सबैभन्दा धेरै पटक बिक्री भएको शब्द नै समृद्धि हो । राणाकालदेखि आखिर हामीलाई देखाइएको नै असल शासनको सपना हो ।

अघिल्ला धेरै पुस्तालाई पनि यस्तै सपना देखाइएका थिए । जुन सपनाका लागि सहादत प्राप्त गर्ने अघिल्ला पुस्ताका कयौं होनहारहरू आज के सोच्दै होलान् । हामीलाई उबेला राजनीतिको यस्तो गीत गाउन लाउने अगुवाहरू कयौं दिवङ्गत भइसके, बाँचेका पनि राजनीतिभन्दा पर सीमान्तकृत जीवन बाँचिरहेका छन् । पुस्तौं पुस्तासम्म निरन्तर एउटै सपना देखाइँदै आएको छ । यस्तो सपना कि जुन कहिले पनि पूरा भएन । यो कति किफायती सपना रहेछ, कयौं पुस्तासम्म बारम्बार बिक्री गर्न सकिने । उही सपना बोकेर उबेला युवाहरूले लामबद्ध भएर सलामी दिएको गाढा ‘लाल’ झण्डा त आजसम्म आइपुग्दा निरन्तर रङ उडेर खुइलिँदो छ ।

जनताले हरेक पटक राजनीतिक दलहरूले भनेको पूरा गरेका छन् । हरेक आन्दोलन, विद्रोह र युद्धमा साथ दिएका छन् । शरीरको अङ्ग–अङ्ग चुँडेर दिएका छन्, परिवारका सदस्यहरूको उत्सर्ग गरेका छन् । आज पनि देशमा शरीरका कुनै अङ्ग देशका लागि दिएर अङ्गविहीन भएका धेरै नागरिकहरू निम्छरो जीवन बाँचिरहेको यत्रतत्र देख्न पाउँछौं । अपूरो परिवारका साथमा एकाङ्की जीवन बाँचिरहेका जनताहरू हामी बीचमा नै अरण्यरोदन गरिरहेका छन् । देशका लागि गरेको बलिदानको बदलामा अब उब्रिएको जीवन अलि सहजताका साथ बाँच्ने अभिलाषा व्यक्त गर्न मात्र पनि कहिले मण्डला, कहिले भद्रकाली, कहिले रत्नपार्क र कहिले बालुवाटारमा घिटघिटो आवाज बुलन्द गर्नु परिरहेको छ । अनि त्यही चुँडिएका अङ्गहरूको र सहादत प्राप्त गरेका लाशको थुप्रोमाथि बुलेटप्रुफ गाडीमा दौडिरहेका छन् स्वप्न व्यापारीहरू ।  

हरेक पल्ट संविधान बन्दा हामीलाई घोकाइयो –हामीले संसारको सबैभन्दा उत्कृष्ट संविधान बनाएका छौं । छयालीस सालको जनआन्दोलनपछि, संविधानसभापछि पनि अर्थात् जब–जब संविधान बन्यो तब–तब । अनि हामी प्रत्येक पटक बनाइएको संविधानभित्रैबाट प्रताडित बनिरहेका छौं । संविधानले भनेका कुराहरू शासकको निजी स्वार्थका लागि मात्र उपयोग भइरहुञ्जेल त त्यो नागरिकका लागि कागजका खोस्टा मात्र त रहेछ नि । त्यस्तो बेला नागरिकले त्यो खोस्टालाई बालेर भात पकाए भने अपराध हुने हो र ? आखिरमा आज आएर त के प्रमाणित भयो भने वाद वा शासन प्रणाली मात्र समृद्धिको बाधक होइन रहेछ, त्यो त शासकको योग्यता र नियतमा भर पर्ने रहेछ । एकदलीय, बहुदलीय, राजतन्त्रात्मक, गणतन्त्रात्मक आदि जुनसुकै प्रणालीमा पनि विकास भएकै छ, र कुनै एक प्रणालीकै कारण सफल वा असफल भन्ने मानक त दुनियाँमा कहीँ पाइएको छ र ?

अघि पनि भनियो, नेपालमा नागरिकहरूले राजनीतिक दलहरूले भने–भनेअनुसार साथ दिएकै हुन् । पछिल्लो पटकको जनमत पनि यसअघि अस्थिर भयो अब स्थिर सरकार बनाउने मत देऊ भनेर मागिएको होइन र भोट ? अनि जनताले पनि दिए त पुग्दो मत । तर पनि किन स्थिर हुन सकिरहेका छैनौं हामी । सत्ताको स्थिरताको मात्र कुरा भएन सिङ्गो राजनीतिको स्थिरताको सवाल हो यो । नागरिक राजनीतिको यस्तो दुष्चक्रमा फसेका छन् कि सबैमा के गर्ने के नगर्नेको अवस्था छ । यहाँ एउटा दम्पतीको कथा सान्दर्भिक हुन्छ– कुनै एउटा अमुक ठाउँमा एउटा दम्पती व्यापार गरेर बस्थे । व्यापार रामै्र थियो ।

साहुहरूले उधारो पत्याएका थिए । साहुकहाँबाट उधारो ल्याउँथे, बेचेर तिर्नुपर्ने शर्त थियो । शुरुमा त राम्रै थियो । पछि उनीहरूमा लोभ बढ्यो । जसरी पनि पैसा कमाउनु पर्छ भन्ने भावनाले ग्रसित हुँदै गए र पैसा कमाउन जस्तोसुकै काम गर्न थाले । बेइमानी बढ्दै गयो उनीहरूमा । अनि त सामानको पैसा उठाउन साहुहरू आएर ‘पैसा’ भन्न नपाउँदै ती दम्पती बेस्कन बाझ्दथे । कहिलेकाहीँ त हात हालाहालको अवस्था पनि सिर्जना हुने गथ्र्यो । अनि ती साहु रनभुल्लमा परेर त्यो दृश्य हेरिरहन्थे, हात हालाहालको स्थिति भए गएर छुट्याउँथे र सम्झाएर फर्कन्थे । पैसा त माग्ने कुरै भएन । वास्तवमा त्यो झगडा ती दम्पतीको नियोजित नाटक हुन्थ्यो । यो चक्र लामो समयसम्म मञ्चन भइरह्यो ।

वर्तमान अवस्थामा विश्वसँगै कोभिड–१९ सँग लडिरहेका नेपाली नागरिक पनि सरकारसँग उही साहुजस्तै रनभुल्ल अवस्थामा छन् । नागरिक सडकमा सयौं किलोमिटरको पैदल यात्रा गरिरहेका छन् । महिनौंदेखि घरभित्रै बन्द भएर बसेका छन् । आय आर्जनको कुनै स्रोत अहिले त छैन, भविष्यको पनि दृश्य धमिलो नै छ । यस्तो अवस्थामा नागरिकले आशा गर्ने, प्रश्न गर्ने र जवाफ खोज्ने भनेको सरकारसँग नै हो । तर हाम्रो सरकार यस्तो अवस्थामा छ कि नागरिक रनभुल्लमा परेर हेरिरहनुको विकल्प नै छैन । सरकार ‘कमेडी’ गर्छ, जनता ‘ट्रयाजेडी’ मा छन् । यो नागरिक त्रासदी सोफोक्लिजको त्रासदीभन्दा धेरै त्रासदपूर्ण छ । वर्तमान परिदृश्य हेर्दा यो लाग्छ कि बाहिर जे जस्तोसुकै गुलिया कुरा गरे पनि यो सारा त्रासदपूर्ण परिघटनाहरूमा सरकारको पनि संलग्नता छ या सरकारको नियन्त्रणमा केही पनि छैन ।  

सात सालभन्दा अघिदेखि अहिलेसम्म हरेक पुस्ताले विद्रोह गर्नुपर्ने यो कस्तो व्यवस्था हामी निर्माण गरिरहेका छौं । हामीलाई लागेको थियो, हाम्रो पुस्ताले गरेको विद्रोहपछि फेरि अर्को विद्रोह गर्नुपर्ने छैन । हाम्रो पुस्ताले गरेको आन्दोलन, जनान्दोलन, जनयुद्ध नै अन्तिम हो भन्ने लागेको थियो । तर नयाँ पुस्ताले आज फेरि बालुवाटार घेर्नु परेको छ । आखिर यो सङ्घर्ष किन अन्त्यहीन हुँदैछ । किन आज पनि आम नागरिक ढुक्कसँग बाँच्ने अवस्था सिर्जना हुन सकेको छैन । संविधानले निर्धारण गरेको सामान्य अधिकार नै उपभोग गर्ने अवस्था छैन । खान पाउने, लाउन पाउने, बस्न पाउने, बाँच्न पाउनेजस्ता सामान्य कुरामा पनि सरकार उत्तरदायी छैन । लकडाउन शुरु हुने बित्तिकै राहत बाँड्नेको ओइरो देखेर मैले भनेको थिएँ । योे हाम्रो काम होइन । यसले दुईटा कुरा हुन्छ । एउटा यसले नागरिकलाई मगन्ते बनाउँछ, अर्को सरकारलाई बेपरवाह र नागरिकप्रतिको दायित्वबाट पन्छिने मौका पाउँछ ।

आखिर त्यही भयो । जनता भोकै छन्, सरकार बेपरवाह छ । यस्तो बेलामा पनि कर तिर्नु पर्ने उर्दी जारी गर्ने सरकारमा अलिकति पनि लज्जाबोध छैन, अपराधबोध पनि छैन । अर्कातिर सडकमा हिजो तँछाड मछाड गरी राहत बाँड्नेले गर्दा सरकार ढुक्कसँग बसिदियो । पाँच–दस केजी चामल त उहिले नै सकियो, त्यसपछि ? त्यो वास्तवमै हाम्रो काम नै थिएन, त्यो दायित्व सरकारको थियो । किनकि संविधानतः खान पाउने हाम्रो मौलिक अधिकार हो । निःस्वार्थ राहत वितरण गर्नेहरूको सुकर्मका कारण सरकारले आप्mनो कुकर्म लुकाउने मौका पायो ।

हाम्रो आजको अवस्था त कस्तो छ भने अघिका दम्पतीजस्ता सरकारी राजनीतिक दलभित्रका उपदलहरू एक–अर्कालाई सकेसम्म खुइल्याउन उद्यत छन् । हाम्रो समाजमा एउटा अत्यन्तै खराब चरित्रको निर्माण भएको छ । कि त अति देवत्वकरण गर्ने कि त अति दानवीकरण गर्ने । अहिलेको परिस्थिति पनि त्यस्तै छ । यो अतिले नै हो बिगार्ने भनेको । वर्तमान सरकार एकथरीका लागि देउता र अर्कोथरीका लागि दानव नै छ । यसरी एक–अर्कालाई खुइल्याउँदा व्यक्ति मात्र खुइलिने होइन, सिङ्गो प्रणाली, समुदाय, समाज सबै नै खुइलिन्छ भन्ने जान्दाजान्दै पनि हामी फेरि पनि खुइल्याउनै उद्यत छौं । फेरि वर्तमानमा देखिएको सरकारको निर्वस्त्रताको पृष्ठभूमि केही दिनयताको परिघटनाको उपज मात्र हो भनेर मान्ने हो भने हामी ठूलो भ्रममा छौं भन्ने माने हुन्छ ।

त्यो त एउटा निर्वस्त्रले अर्कालाई निर्वस्त्र देखेर गिज्याउनु जस्तो मात्र हो । २०४६ सालपछिका घटनाक्रमहरूलाई हेर्दै आउने हो भने ती सबै चरित्र र प्रवृत्तिहरूको पृष्ठभूमि हामी सामु छर्लङ्गै हुन्छ । त्यही बेला हामीले सही र गलतको भेद ठम्याएर सही प्रवृत्ति र चरित्रको साथ दिएका भए आजको दिन देख्नै पर्दैनथ्यो । हामीले त फगत् आप्mनो निजी स्वार्थका खातिर गलत चरित्र र प्रवृत्तिलाई साथ दिँदा हामी मात्र होइन, हाम्रा सन्ततिसम्मका लागि धोका हुने दिशातर्फको अन्त्यहीन यात्रा उन्मुख छौं । त्यसैले कम्तीमा सन्ततिले तपाईसँग भविष्यमा सोध्ने प्रश्न– ‘तपाईंहरूले त खुब जनआन्दोलन ग¥यौं, जनयुद्ध ग¥यौं भन्नुहुन्थ्यो, हाम्रो लागि छाड्नुभएको नासो यही हो ?’ भन्ने प्रश्नको मात्र उत्तर जोगाएर राख्न सक्नुभयो भने प्रशस्त हुनेछ ।