विजयपुर । धरानमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै एचआइभी/एड्स तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई एचआइभी/एड्सको जोखिम, बच्ने उपाय तथा लागूऔषधको दुरुपयोगबाट हुने असरबारे जानकारी गराइएको हो ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको आर्थिक सहयोग तथा धरान पोजिटिभ समूहको आयोजनामा सम्पन्न कार्यक्रममा समूहका सीएलएम लिडर तारा क्षेत्रीले सहजीकरण गरेका थिए । यस्तै, परियोजना तथा वित्त अधिकृत सुमी विश्वकर्मा र भावना तामाङले पनि सहजीकरण गरेका थिए । शिला लिम्बूले पनि सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा समूहकी सीएलएम विपना मग्रातीले धरानका विभिन्न सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताइन् । उनका अनुसार यसअघि धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा समेत यस्तै कार्यक्रम सम्पन्न भइसकेको छ ।