• सिंह चाम्लिङ राई

उदयपुर / उदयपुरका ८ वटा पालिकामध्ये २ वटा पालिकाले असार १० मा बजेट ल्याउन सकेका छैनन् । जिल्लाका ४ नगरपालिका र ४ वटा गाउँपालिकामध्ये कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएकाले नगर÷गाउँसभाको आयोजना गर्न नसकेका हुन् ।
सङ्घ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने व्यवस्था भए पनि यी २ पालिकाले बजेट ल्याउन सकेनन् । पालिकाको आन्तरिक तयारी पूरा नभएकाले असार १० गते नगरसभाको आयोजना गर्न नसके पनि अगामी असार १६ गते बनगरसभाको मिति तय गरिएको कटारी नगरपालिकाले जनाएको छ ।

त्यस्तै उदयपुरगढी गाउँपालिकाको सबै वडाहरूमा वडासभा भइनसकेकाले गाउँसभा असार १० गते हुन नसकेको पालिकाले जनाएको छ ।
रौतामाई गाउँपालिकाले असार १० गते नै गाउँसभाबाट नीति, कार्यक्रम तथा बजेट पास गरेको छ । सभामा बजेट प्रस्तुत भएकै दिन पास भएको हो । आगामी आर्थिक वर्षका लागि ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ । पालिकाले प्राथमिकताका साथ पूर्वाधार विकासलाई जोड दिएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ । दोस्रो प्राथमिकतामा आर्थिक विकासलाई राखिएको छ ।
त्यस्तै लिम्चुङ्बुङ गाउँपालिकाले ३५ करोड ५९ लाख ७६ हजार बजेट प्रस्तुत गरेको छ भने ताप्ली गाउँपालिकालले ३५ करोड २५ लाख ३६ हजार बजेट प्रस्तुत गरेको छ । त्यस्तै त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्ब २ करोड ७ लाख ९६ हजार ४९ रुपैयाँ ८८ पैसाको बजेट ल्याएको छ । आम्दानीमा वित्तीय समानीकरणमा २१ करोड १ लाख, राजश्व बाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार,आन्तरिक आयतर्फ ९ करोड ३७ लाख ४१ हजार, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ । आगामी वर्ष स्थानीय सञ्चित कोषबापत रकम विनियोजन गरेको छैन ।
त्यस्तै साना सिंचाइ कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार ५ सय ७८ रुपैयाँ ८८ पैसा, सडक बोर्डतर्फ ५० लाख, श्रममूलक कार्यक्रम (शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना) तर्फ १ करोड ५० लाख नगरसभामा प्रस्तुत गरेको छ ।
यस्तै समपूरक अनुदानतर्फ ६४ लाख, प्रदेश समपूरकतर्फ १ करोड विनियोजन गरेको छ ।

त्यस्तै चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैयाँको नीति, कार्यक्रम तथा बजेट ल्याएको छ ।
सङ्घीय सरकारबाट वित्तीय समानीकरणमा १४ करोड ३६ लाख, सशर्त अनुदानतर्फ २९ करोड ४६ लाख, राजस्व बाँडफाँड ११ करोड ३७ लाख ६१ हजार २ सय, विशेष अनुदान ५८ लाख, समपूरक अनुदान १ करोड ६१ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट सर्शत अनुदान १ लाख, वित्तीय समानीकरण ७५ लाख ९५ हजार, समपूरक अनुदान १ करोड, राजश्व बाँडफाँड १ करोड ९१ लाख रहेको छ । स्थानीय राजश्व बाँडफाँड, घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँड र नगरपालिकाको आन्तरिक आय ३ करोड ३९ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
त्यस्तै बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट ल्याएको छ ।

आयतर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड २५ लाख, सशर्त अनुदान २३ करोड १९ लाख, राजस्व बाँडफाँड ११ करोड २ लाख ७४ हजार १ सय, स्थानीय पूर्वाधार विकास कार्यक्रम १ करोड २५ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७४ लाख ३९ हजार, सवारी साधन करबाट ६० लाख ४० हजार, सशर्त अनुदान १ करोड, समपूरक अनुदान (चिस्यान केन्द्र कार्यक्रम) ३ करोड, विशेष अनुदान १ करोड, प्रदेश निर्वाचन क्षेत्र विकाससमेत १ करोड २५ लाखको अनुमानित नीति कार्यक्रम तथा बजेट प्रस्तुत भएको छ ।
सबै पालिकाले विकास पूर्वाधारलाई प्राथमिकता दिएका छन् । साथै कोरोना र विपद्का लागि पनि प्राथमिकताका साथ बजेट विनियोजन भएको छ ।