- विवेक मिश्र/लक्ष्मीमार्ग
सुन्दरहरैंचा नगरपालिकाले आर्थीक वर्ष २०७७/७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।
इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सुन्दरहरैंचा ९ को सामुदायिक भवनमा आयोजना गरिएको कार्यक्रममा नगरकी उपप्रमुख धनमाया तामाङले हिजो बजेट प्रस्तुत गरेकी हुन्।
हिजो बुधबार बसेको छैटौं नगरसभाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झण्डै ९ करोड बढी आकारको बजेट सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षमा नगरले १ अर्ब ८ करोड ७७ लाख ८० हजारको अनुमानित बजेट प्रस्तुत भएको थियो।
सुन्दरहरैंचा नगरले आन्तरिक स्रोतबाट १५ करोड ३० लाख ६ हजार १ सय ५६ रुपैयाँ, संघीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट २० करोड ९३ लाख ८३ हजार, संघीय तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १३ करोड ५३ लाख ५१ हजार १ सय २४ रुपैयाँ, संघीय तथा प्रदेश सरकारको सशर्त अनुदानबाट ३५ करोड ४० लाख १७ हजार, संघीय सरकार र प्रदेश सरकारको समपुरकका अनुदानबाट २ करोड ६० लाख रुपैयाँ, लागत सहभागिताबाट २ करोड रुपैयाँ र अन्तर सरकारी अख्तियारबाट २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयाँको स्रोतगत अनुदान गरी बजेट प्रक्षेपण गरेको छ।
त्यस्तै प्रस्तुत बजेटमा प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चतर्फ १६ करोड ६४ लाख ४० हजार २ सय ८० रुपैयाँ, कार्यक्रम खर्चतर्फ १० करोड ९५ लाख ४५ हजार छुट्याएको छ भने पूँजीगत खर्चतर्फ २८ करोड ६७ लाख ५५ हजार र संघीय सशर्त अनुदानबाट ३५ करोड ८ लाख, प्रदेश सशर्त अनुदानबाट ८१ लाख ८३ हजार, संघीय समपुरक अनुदानबाट १ करोड ६० लाख, प्रदेश समपुरक अनुदानबाट १ करोड र अन्तरसरकारी अख्तियारी प्राप्त कार्यक्रमबाट २३ करोड २२ लाख ५८ हजार ८ सय खर्च प्रक्षेपण गरेको छ।
त्यस्तै नगरले समावेशी विकासको माध्यमबाट समुदायस्तरमा विस्तार भएका क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रमलाई निरन्तरता नदिँदा त्यसको नकारात्मक असर पर्ने तथ्यांकलाई मनन् गर्दै यस्ता कार्यक्रमका लागि समेत रकम विनियोजन गरेको छ । सन् २०२० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा स्तरोन्नति गर्ने राष्ट्रिय नीतिलाई मानक मानी केही देखिने र ठूला प्रकृतिका आयोजनाहरूका लागि समेत रकम विनियोजन गरेको छ।
स्थानीय स्रोत स्पष्ट कर धार: स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा नगरपालिकाले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्ने गरी कार्यक्रम तय गरेको छ । कृषि तथा पशुपालन व्यावसायिक जोखिम न्यूनीकरणका लागि बाली तथा पशु बिमा कार्यक्रम लगायत नगरक्षेत्रको चौतर्फी विकासका लागि समयानुकुल बजेट व्यवस्थापन गरेको छ।
सुन्दर, सफा र व्यवस्थित नगर निर्माणका लागि कम्तीमा एक वडा एक नर्सरीको लागि यस पल्ट एउटा वडामा संचालन गर्ने गरी काम गर्ने नीति अवलम्बन गरेको छ । शिक्षित यूवाहरुलाई व्यावसायिक कृषि खेतीमा प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिएको छ । ज्येष्ठ नागरिकहरूको अनुभव सीप र क्षमताको उचित कदर गर्दै उनीहरूको अनुभवलाई व्यवहारिक रुपमा लागू गर्दै लैजाने नीति ल्याएको छ।
खेलक्षेत्रमा यूवाहरुलाई आकर्षित गर्न नगरस्तरीय मेयरकप फुटबल प्रतियोगिता र उपमेयर भलिबल प्रतियोगिता सञ्चालन गर्ने बजेट विनियोजन गरेको छ । भाषा, कला, साहित्य, संस्कृति र नाटक जस्ता कार्यक्रमहरुलाई प्रोत्साहन सहित बजेटको व्यवस्थापन गरेको छ । नगरभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयहरूको शैक्षिक अभिलेख व्यवस्थापनलाई व्यवस्थित गर्न सफ्टवेयरको माध्यमबाट अभिलेख राख्ने नीति अवलम्बन अघि सारेको छ।
सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि र प्रोत्साहनका लागि आधारभूत र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई वटा विद्यालयलाई नगर उत्कृष्ट शिक्षा पुरस्कार दिने नीति ल्याएको छ । नगरलाई मौरीको महमा आत्मनिर्भर बनाउन एक घर एक मौरी घारको नीति अवलम्बन गरेको छ । कोभिड १९ को व्यापकताले सिर्जना हुन सक्ने परिस्थिति आकलन गरी क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, सचेतना कार्यक्रम सूचना तथा तथ्यांक सम्प्रेषण, उपचार तथा नियन्त्रमा ध्यान दिन आवश्यक बजेट व्यवस्थापन गरिने भएको छ ।
नगर क्षेत्र भित्र निर्माण हुने सबै प्रकारका निजी सार्वजनिक तथा सरकारी भवनहरुको नगरपालिकाको इजाजत लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिनेछ। कृषि पेशाको सम्मान कृषकलाई अनुदानै अनुदान भन्ने नारालाई स्थापित गर्न आधुनिक कृषि प्रणाली मार्फत उत्पादनमूलक रूपमा संलग्न कृषकहरुलाई कृषि उपजमा अनुदान दिई उत्पादनमूलक कार्यको लागि प्रोत्साहन गरिनेछ ।
लघु उद्यमको विकासको माध्यमबाट गरिबी निवारण गर्न निजी क्षेत्र समेतको सहभागितामा लघुउद्यम कार्यक्रम संचालनमा जोड दिने नीति अघिले आएको छ। सुन्दरहरैँचा नगरपालिका-५ मा निर्माणाधीन सुविधासम्पन्न इलेक्ट्रिक शबदाह स्थल र पार्क निर्माण गरिने भएको छ । त्यस्तै वडा नम्बर ११ र १२ को उपयुक्त स्थानमा समेत सुविधासम्पन्न शबदाह स्थल बनाइनेछ। सडक तथा यातायात विस्तार गर्दा पानीको स्रोत, वनजंगल, प्राकृतिक स्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी डिजाइन गरिने भौतिक पूर्वधार विकास सम्बन्धी नीति ल्याएको छ।