- सिंह चाम्लिङ राई
उदयपुर / उदयपुरको पहाडीभेगमा उत्पादन भएको सिन्कौली तीन महिनादेखि कृषकहरूको घरमै थन्किएको छ । लकडाउनले गर्दा उत्पादन गरेको सिन्कौली बिक्री वितरण गर्न नपाउँदा कृषकहरूको घरमै थन्किएको हो ।
औषधीय गुणले भरिपूर्ण दालचिनी, तेजपत्ता, सिन्कौलीजस्ता विभिन्न नाम उपनामले परिचित सिन्कौली जिल्लाका रौतामाई, उदयपुरगढी, ताप्ली गाउँपालिकालगायत त्रियुगा नगरपालिकाका केही वडाहरूमा राम्रो उत्पादन हुँदै आएको छ । यसलाई विशेष औषधि र मसलाको रूपमा पनि प्रयोग गरिन्छ ।
रौतामाई गाउँपालिका–४, ५, ६ वडाका कृषकहरूले अग्र्यानिक तथा औषधीय गुणले भरिपूर्ण सिन्कौली उत्पादन गर्दै आए पनि बजारको व्यवस्थापन र उचित मूल्य नपाउँदा कृषकहरू बर्सेनि मारमा पर्दै आएका छन् । यसवर्ष नै मूल्य घट्नु अनि लकडाउनले गर्दा उत्पादन भएको सिन्कौली तीन–तीन महिनासम्म घरमा राख्नु पर्दा आर्थिक सङ्कटका साथै खाद्यान्न समस्या भएको कृषकहरूले बताएका छन् ।
पहाडीभेगका कृषकहरूको सुन्तलापछि मुख्य आयस्रोतको रूपमा रहेको सिन्कौली तीन महिनादेखि घरमै राख्नुपरेको कृषक सीताराम राईले बताए । सिन्कौली बेचेर पसलबाट चामल किनेर खाने कृषकहरूलाई यस वर्ष ठूलो समस्या उत्पन्न भएको उनले बताए ।
अहिले पनि गाउँका प्रायः सबै घरमा सिन्कौलीको पात सुर्केर कसैले बोरामा त कसैले त्यतिकै राखिराखेका छन् । लकडाउन खुलेपछि बिक्री गर्ने सोचमा रहेका कृषकहरूले लकडाउन केही खुकुलो पारेपछि बिक्री हुने आशा लिए पनि बिक्री वितरण नहुँदा निराश भएको कृषक राईले बताए ।
सिन्कौली बिक्री गर्न नपाउँदा चामल किनेर खान समस्या भएको कृषक कमलबहादुर राईले बताए । चामल सकिएपछि कतिपय कृषकहरू खाद्यान्न समस्यामा पर्न थालेको उनले बताए । भाउ घटे पनि गाउँमै सिन्कौली बिक्री वितरण हुँदा गरिब निमुखा कृषकहरूलाई हातमुख जोड्न सहज भएको थियो ।
फागुन–चैतमा सुर्केर राखेको सिन्कौलीलाई आगो र पानीबाट जोगाउन गाह्रो भइसकेको कृषक राईले बताए । उनले भने, ‘लकडाउनले गर्दा गाउँमा खाद्यान्न समस्या उत्पन्न हुन थालेको छ । सिन्कौली बिक्री नभएपछि पैसा आउने बाटो नै बन्द भएको छ, सिन्कौलीको उचित मूल्य नभए पनि गरिब परिवारको मुख्य आयस्रोत बनेको सिन्कौलीको बिक्री यसपालि बन्द भएको छ ।’
कृषकहरूले उत्पादन गरेको अग्र्यानिक सिन्कौली सम्बन्धित निकायले खरिद गर्ने वातावरण मिलाए गाउँघरका गरिब किसानहरू भोकले नमर्ने कृषक राईले बताए । उत्पादन भएको वस्तु घरमै राख्नुपरेको र बाहिर गएर कमाएर ल्याउन कोरोनाका कारणले असहज भएको उनले बताए ।
धोदे्र, खानीडाँडा, गुराँसे, ढाँड, चुचेआँप, फलामे, बाछाला, मालबासे लगायतका गाउँबस्तीमा उत्पादन भएको सिन्कौली धोद्रे, काउँले, रौतामा सङ्कलन गरेर लैजाने गरेका थिए । तर लकडाउनले गर्दा कृषकहरूको घरमै सिन्कौली थन्किएको छ ।
लकडाउन केही खुकुलो भएपछि केही सामान ठेकेदारले लगे पनि पैसा नदिएको कृषक बालकृष्ण राईले बताए । वर्षा शुरु भइसकेकाले अब दिनानु दिन पहिरोले सडक अवरुद्ध हुने भएकाले कृषकहरूमा चिन्ता छाउन थालेको उनले बताए ।
ठेकेदारले कृषकको घरको सिन्कौली लगिदिए गरिब परिवारलाई हातमुख जोड्न सहज हुने कृषक राईले बताए । पहिला बाजेबुबाको पालामा जस्तो हप्तादिनको बाटो त्यो पनि थाप्लोको भरमा हिँड्नु पर्ने अवस्था नरहेपनि लकडाउनले गर्दा समस्या उत्पन्न भएको उनले बताए । करिब ८ वर्षसम्म प्रतिकेजी ४० रुपैयाँमा बिक्री वितरण भएको सिन्कौलीको मूल्य यस वर्ष २ रुपैयाँ घटेर ३८ रुपैयाँमा झरेको कृषकहरू बताउँछन् । झन् बढ्नु पर्नेमा घट्दै गएको उनीहरूको गुनासो छ । यस वर्ष ठेकेदारले सडकको समस्या देखाउँदै २ रुपैयाँ घटाएको कृषकहरूले बताए ।
सम्बन्धित निकायले स्थानीय उत्पादनलाई विशेष प्रथामिकताका साथ बजारीकरण र उचित मूल्य तोक्नुपर्ने उनीहरूको माग छ ।