• रमेश थापा

पाँचथर / कृषि पेशालाई व्यवसायिक बनाउँने उदेश्यले पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ का कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । एक नम्बर प्रदेश सरकार अन्तरर्गत रहेको कृषि ज्ञान केन्द्र पाँचथर ताप्लेजुङले ५० प्रतिशत अनुदानमा कुम्मायक ५ को निगाले कृषि सहकारीमा आवद्ध कृषकलाई कृषि औजार बितरण गरिएको हो ।

कृषिमा यान्त्रिकरणले लागत खर्च घटाई उत्पादन बढाउने उदेश्यले मिनिटिलर ५ थान, कुटानी पिसानी मिल ११ थान, मकै छोडाउने मेसिन २ थान, कोदालो १ सय थान, पानी तान्ने मोटर प्लाष्टिक पोखरीलगायतका सामाग्री वितरण गरिएको छ । गाउँमै आधुनिक कृषि औजार पाएपछि कृषि क्षेत्रमा काम गर्न सहज हुने कृषक इन्द्रप्रसाद खतिवडाले बताए । अनुदानमा बारी जोत्ने मिनिटिल पाउँदा हल गोरु पाल्नु नपर्ने भएको उनले बताए । थोरै मेहेनतामा धेरै बारी जोत्न र उत्पादन बढाउँन सहज भएको खतिवडाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले सहकारी संस्थामा संचालन हुदै आएको सघन बाली बिकाश कार्यक्रम अन्तरगर्त मकै बालीमा संचालित सघन कार्यक्रमबाट उक्त औजार बितरण गरिएको संस्थाका अध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । ज्ञानकेन्द्रको १० लाख रकमबाट कृषि खेतीलाई आवश्यक हुने औजार बितरण गरिएको हो ।

परपरागत कृषि प्रणालीका कारण बाह्य बजारमा नेपाली उत्पादनले प्रतिस्प्रधा गर्न नसकेको अवस्थामा यो प्रविधिको बिकाश गर्ने हो भने कृषिमा आत्मनिर्भर बन्न सक्ने आधार रहेको कृषक समुह महासंघ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य गणेशप्रसाद पोख्रेलले बताए । पोख्रेल भन्छन् सरकारले कृषिलाई आधुनिकरण गर्दै जाने हो भने लागत सहभागीता घट्छ र उत्पादन बढ्न सक्छ । तब मात्रै कृषि प्रधान देश नेपाल हुन सक्छ होइन भने यो नारा केवल नारामै सिमित हुन्छ । यसतर्फ तीनै तहका सरकारले चासो दिनु पर्छ ।

प्रदेश सरकार अन्तरर्गत काम गर्दै आएको ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले सहकारी संस्थामार्फत बिभिन्न समयमा कृषकलाई अनुदान मार्फत कृषि औजार बितरण गर्दै आएको छ । सघन बाली कार्यक्रम संचालन हुदै आएको सहकारी संस्थामा १ सय ४८ सेयर सदस्य रहेका छन । संस्थामा आवद्ध कृषकहरुलाई ज्ञान केन्द्रले बिभिन्न कृषि कार्यक्रमबाट सहयोग गर्दै आएको ज्ञान केन्द्रका बाली शंरक्षण अधिकृत केशब बहादुर मङ्ग्रान्तिले बताए । सघन बाली बिकाशको लागि आवश्यक हुने कृषि औजार बितण गरी उत्पादन बढाउँने उदेश्यले अनुदान मार्फत औजार बितरण गरिएको ज्ञान केन्द्रले जनाएको छ । सहकारी संस्थामार्फत सघन मकै बाली कार्यक्रमबाट संस्थाका बलबहादुर दाहालले कृषि औजारको प्रयोग गरी अन्य कृषकहरुको तुलनामा बढि मकै उत्पादन गर्न सफल भएको भन्दै ज्ञान केन्द्रले प्रशंसा पत्र प्रदान गरी सम्मान समेत गरेको छ ।