•  रुमा रिजाल

इटहरी / इटहरी उपमहानगपालिका–२० की ५० वर्षीया चन्द्रा बस्नेतलाई अहिले मन लागेको तरकारी खान कसैको मुख ताकिरहनु पर्दैन ।
हातमा सीप र साथमा रुपैयाँ नहुँदाको अवस्था कस्तो हुन्छ, त्यो चन्द्रालाई जति अरूलाई थाहा नहोला ।  खोटाङबाट बसाइ सरेर तराई झरेकी चन्द्रालाई समथर ठाउँमा गरीखान सजिलो होला भन्ने थियो । खनीखोस्री गर्न जग्गाजमिन थिएन । अनि गतिलो आम्दानीको स्रोत पनि । तराई झरेपछि दुई छोराको शिक्षादीक्षामा कसरी खर्च जुटाउने भन्ने चिन्ता झनै थपियो । विदेशमा रहेका श्रीमानकाे समेत राम्रो कमाइ थिएन । लेखपढ नजान्ने चन्द्रालाई आफू पनि केही गरेर छोराहरूलाई पढाउन र बूढा भएका ससुरालाई मीठो खुवाउन सकिन्छ भन्ने लागेकै थिएन ।

हिजोआज चन्द्राले आफै घर चलाएको देखेर छरछिमेकीसमेत दङ्ग छन् । केही नजान्ने महिलाले अहिले ससुरा र दुई छोराको लालन–पालन गरेको देखेर धेरैले उनको मेहनतको प्रशंसासमेत गर्छन् ।
चन्द्राले उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत भुजिया बनाउने तालिम लिने अवसर पाइन् । तालिम लिएका सबैले व्यवहारमा उतारेनन् । चन्द्राले भने आफूले लिएको तालिम अरूलाई पनि सिकाएर भुजिया बनाउन थालिन् । नगरपालिकाले तालिम लिएर व्यवसाय नै थाल्नेलाई भुजिया बनाउने मेसिनसहित आवश्यक सामग्री किन्न चन्द्राको समूहलाई ८ हजार रुपैयाँ उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गतको रकम सहयोग ग-यो ।

उनले राति ११ बजेसम्म भुजिया बनाएर बजारसम्म पु¥याउन थालिन् । शुरुमा बजार पाउन गाह्रो भयो तर विस्तारै चन्द्राको भुजिया बनाउने ठाउँमै व्यापारीहरू आउन थाले र अहिले उनले राम्रो गरी व्यवसाय नै चलाइरहेकी छिन् । देश लकडाउनमा रहँदा पनि चन्द्राको व्यवसाय भने बन्द भएन  किनकी आफ्नै घरमा त्यो पनि एकल मेहनतमा काम गर्न चन्द्रालाई केहीले छेकेन ।  अहिले यही सीप उनको आत्मनिर्भर बन्ने दरिलो माध्यम  बनेको छ ।

सीपले फर्काएको सम्मान
इटहरी–२० कै २४ वर्षीया शान्ती तामाङको शरीरमा भएको खतले झल्झली श्रीमानकाे याद दिलाउँछ । कलिलै उमेरमा श्रीमानकाे साथ नहुनु घरपरिवारबाट समेत अवहेलनामा पर्नु शान्तीको लागि योभन्दा दुःख अहिलेसम्मै आएको छैन । केही समय पहिला श्रीमानकाे दुर्घटनामा परेर निधन भयो । श्रीमानसँगै दुर्घटनामा परेकी शान्ती धन्न बाँचिन् । त्यसबखत लागेका घाउका खत त विस्तारै निको हुँदैछन् तर थेग्नै नसक्ने पीडामा डुबेकी उनलाई त्यहीबेला घरपरिवारले गरेको अवहेलनाको चोट अझै आलै छ । कस्ती अलच्छिनी, जवान श्रीमान् खाई जस्ता कटु वचनले शान्तीको मन बारबार अशान्त पार्थ्याे ।

मन बुझाउने ठाउँ थिएन । अनि मन भुलाउने काम पनि । सानैदेखि धागोका रुमाल, टोपी गल्बन्दीजस्ता सामग्री बुन्न भने सिपालु शान्तीले  आफूसँग भएको सीप पनि बिर्सिएको जस्तै थियो । ठूलो पीडामा गुज्रिरहेकी शान्तीले उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत तरहरामा २०७६ फागुन ५ गतेदेखि ३ महिने ढाका बुनाइ तालिम हुँदैंछ भन्ने सुइँको पाइन् । अनि पो उनी झसङ्ग बनिन् । पहिलैदेखिको हातमा सीप भए तापनि सदुपयोग गर्न भने सकेकी थिइनन् तर, तालिमले उनलाई छिटै प्रगति दिलायो । विगतको सीपले चाँडै प्रगति गरेकी उनले यो बेलै दुई–चार रुपैयाँ कमाइ गर्न थालिन् । उनी भन्छिन्–‘हातमा सीप र साथमा दुई–चार पैसा हुन थालेपछि सम्मानपूर्वक बाँच्न सकिने रहेछ ।’    

कोहबर बन्यो आम्दानीको स्रोत  

jiwan chaudhari (1)
चन्द्रा र शान्तीको भन्दा फरक छैन इटहरी– ५ की ३५ वर्षीया जीवनकुमारी चौधरीको पनि  । उनले कोहबर (थारुहरूको मौलिक पेण्टिङ) कमाइको स्रोत बन्न थालेको छ । थारु समुदायमा विवाहमा नभई नहुने कोहबर बनाएर आम्दानी गर्ने भएकी छन् उनी । कुनै समय थियो यस्तो कामबाट पनि कमाइ गर्न सकिएला भन्ने तर त्यही सीपले उनलाई जीवन दिएको छ । उपमहानगरले स्थानीय स्रोत र साधनलाई सदुपयोग गरेर रोजगारसम्म हुने खालको तालिमको आयोजना गरेकोले नै आफूले पनि दुई–चार पैसा कमाइ गर्ने बाटो भेटेको बताउँछिन् । कोहबर बनाएर आम्दानीको स्रोत मात्रै नभई पुर्खाैली परम्परा पनि धानेकी छन् ।

इटहरीले चालू आर्थिक वर्षमा उपमेयर आत्म निर्भर कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्याएको थियो । विनियोजित रकममध्ये  १४ लाख ६६ हजार ५ सय खर्च भइसकेको उपमहानगरपालिका सामाजिक शाखाले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा आत्मनिर्भर तथा सीप सिकाइका ९ वटा कार्यक्रम सञ्चालनमा ल्याएको शाखाले जनाएको छ । जसमा ६० जनाभन्दा बढी महिला स्वरोजगार बनिसकेको इटहरीकी उपप्रमुख लक्ष्मी गौतम बताउँछिन् । नगरले अचार, गुन्द्रुक, सिन्की, कोदोको पिठो, फापर, मकैको पिठो बनाउने, फूल खेती, तरकारी खेती, च्याउ खेती, ढाका बुनाइ, कोहबर बनाउने तथा घरेलु सामग्रीको प्रयोग गरी विभिन्नखालका सामग्री बनाउने तालिम दिएको थियो ।

दिदीबहिनीलाई जीविकोपार्जन गर्न सक्ने बनाउन उपमेयर आत्मनिर्भर कार्यक्रम सहयोगी बनिरहेको पत्रकार महासङ्घ सुनसरीकी उपाध्यक्ष सुभद्रा प्याकुरेलको भनाइ छ । यता प्रदेश सरकारले पनि महिलालाई उद्यमी बनाउन र आर्थिक रूपमा सम्पन्न बनाउन  प्रदेश सरकारसमेत अघि बढिरहेको प्रदेश १ सरकारकी उपसभामुख सरस्वती पोखरेलले बताइन् । समाजमा पुरुष बराबर हैसियत बनाउन उनीहरूलाई उद्यममार्फत् रोजगारमा जोड्न जरुरी रहेको उनको भनाइ छ । सानो पुँजीमा महिला दिदीबहिनीले गरेको प्रगति त्यसका ज्वलन्त उदाहरण बनिरहेका छन् ।

shanti tamang