उदयपुर/ केही वर्षदेखि फौजी किराको प्रकोपबाट बर्सेनी कृषकहरू पीडित बन्दै आएका छन् । उदयपुरका साढे १९ हजार कृषकहरूले बारीमा लगाएको धान, मकै, कोदोलगायतका अन्नबाली खाएर नष्ट गर्ने गरेको छ ।

यस वर्ष जिल्लाका १९ हजार ४ सय ७७ घरपरिवारले ४ हजार ७ सय ८९ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बालीमा फौजी किराको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । जिल्ला भरिका कृषकहरूले बर्सेनी ९ हजार ७ सय ८८ हेक्टरभन्दा बढी क्षेत्रफलमा मकै बाली लगाउँदै आएका छन् ।

उक्त क्षेत्रफलमध्ये ४ हजार ७ सय ८९ हेक्टरमा लगाएको मकै बाली किराले खाएर सखाप पारेपछि खाद्यान्न सङ्कट उत्पन्न हुने देखिएको छ । जिल्लामा बर्सेनी २४ हजार ७ सय १२ मेट्रिक टन मकै उत्पादन हुँदै आएको थियो ।

मकैमा फैलिएको किराको प्रकोप नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रको ८ लाख र जिल्लाको ८ वटै पालिकाको गरी २७ लाख ५० हजारको विषादी खरिद गरी कृषकहरूलाई वितरण गरेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीले बताए ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार रौतामाई गाउँपालिकाको ८ वटै वडामा २ हजार ७७ हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएको छ । उक्त क्षेत्रफलमध्ये १ हजार ४ सय ७२ हेक्टरमा लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । यसबाट पालिकाका ३ हजार ३ सय ५ घरपरिवार कृषक प्रभावित भएका छन् । त्यस्तै बेलका नगरपालिकाको ९ वटा वडामा २ हजार ३ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकै बालीमध्ये १ हजार ६ सय ८५ हेक्टरमा फौजी किराको प्रकोप देखिएको छ । यसबाट पालिकाका ३ हजार ७ सय ८० घर परिवार कृषक प्रभावित भएका छन् ।

त्यस्तै त्रियुगा नगरपालिकाको १६ वटा वडामा २ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको मकै बालीमध्ये ९ सय २३ हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ । किराको प्रकोपबाट नगरका ३ हजार १ सय २० घर प्रभावित भएको ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिकाको ८ वटा वडामा ३ सय ३५ हेक्टरमा लगाएको मकै बालीमध्ये १ सय १८ हेक्टरमा किराको प्रकोप फैलिएको छ । किराको प्रकोपबाट पालिकाका ३ हजार १ सय ५० घर परिवार प्रभावित भएका छन् ।

त्यस्तै कटारी नगरपालिकाको सबै वडाका २ सय ३९ हेक्टरमा लगाएको मकै बालीमध्ये १ सय ४६ हेक्टरमा किराको प्रकोप पैmलिएको छ । किराको प्रकोपबाट ४ सय २० घर परिवार प्रभावित भएका छन् । त्यस्तै ताप्ली गाउँपालिकाको ५ वटै वडामा २ हजार २ सय २० हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीमध्ये ३ सय ३५ हेक्टरमा किराको प्रकोप देखापरेको छ । किराको प्रकोपबाट २ हजार २ सय ५७ घरपरिवार प्रभावित भएका छन् ।

त्यस्तै चौदण्डीगढी नगरपालिकाको १० वटा वडाका १ सय २७ हेक्टर क्षेत्रफलमा लगाइएको मकै बालीमध्ये १ सय १० हेक्टरमा किराको प्रकोप देखापरेको छ । किराको प्रकोपबाट ३ हजार ४ सय ४५ घर परिवार प्रभावित भएको ज्ञान केन्द्रले जनाएको छ ।

उदयपुरमा धानपछि सबैभन्दा बढी उत्पादन हुने बालीका रूपमा रहेको मकै बाली पहाडी भेगको मुख्य खाद्यबाली पनि हो । फौजी किराको प्रकोपबाट भएको क्षतिको विवरण जिल्लाको ८ वटै पालिकाहरूलाई मागे पनि लिम्चुङ्बुङ गाउँपालिकाले अहिलेसम्म विवरण नपठाएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रेग्मीले बताए ।

लिम्चुङ्बुङ गाउँपालिकाको ५ वटै वडामा लगाइएका मकै बालीको ९० प्रतिशतमा फौजी किराको प्रकोप फैलिएको लिम्चुङ्बुङ गाउँपालिकाका कृषि शाखा प्रमुख गगन राईले बताए । पालिकाले किराको प्रकोप नियन्त्रणका लागि ३ लाख ५० हजार बराबरको विषादि खरिद गरी कृषकलाई वितरण गरेको पनि उनले बताए ।

पहिलो पटक अमेरिकामा देखा परेको फौजी किराको प्रकोप नेपालमा भने नयाँ हो । बारीमा लगाएको अन्न बालीमा नयाँ किराको प्रकोप दिन दुई गुणा रात चौगुणा फैलिनाले खाद्य सङ्कट ल्याउन सक्ने देखिएको छ । यसलाई मन पर्ने घाँस रोपेर पनि रोकथाम गर्न सकिन्छ । तर यसको नियन्त्रण गर्ने अन्तिम उपाय भने विषादी प्रयोग नै रहेको ज्ञान केन्द्रका निमित्त प्रमुख रेग्मीले बताए ।

वर्षे बालीको रूपमा लगाइएको मकै दुई–तीन पाते हुँदादेखि नै गत चैत्र पहिलो हप्तादेखि फौजी किराको प्रकोप देखापरेको निमित्त प्रमुख रेग्मीले बताए । विषादीले पूर्णरूपमा नियन्त्रणमा नआए पनि अहिले मकै छिप्पिइसकेकाले खासै क्षति नगरेको उनले बताए । किराले मकैको बिरुवा अर्थात् कलिलो मकैमा बढी क्षति गर्ने भए पनि मकै छिप्पिएपछि खासै क्षति गर्न सक्दैन ।

फौजी किरा नियन्त्रण गर्न इमामेक्टिन बेन्जोइट नामक विषादीको प्रयोग गर्नुपर्छ । २ लिटर पानीमा १.५ ग्राम विषादी घोलेर साँझपख मकैमा छिट्नु पर्ने ज्ञान केन्द्रले जनाएको छ ।

पहाडी भेगका मुख्य खाद्य बालीको रूपमा रहेको मकै बालीमा गत वर्षदेखि बढी किराको प्रकोप देखापरेको कृषकहरू बताउँछन् । किराको प्रकोप नियन्त्रणको लागि पालिकाले दिएको ५ ग्राम विषादीले बारीमा नभ्याएपछि बजारबाट किनेर लगाउन पनि लकडाउनले गर्दा समस्या भएको कृषकहरूले बताएका छन् ।

मकै उम्रिदादेखि नै फौजी किराले खाएर सखाप पारेपछि बजारमा कोरोनाको जोखिम मोलेर २–३ दिन पैदल हिँडेर सदरमुकाम गाईघाट पुगेर विषादी किनेर ल्याई लगाउँदा पनि किरा नमरेको कृषक कुमार कार्कीले बताए । गाउँघरमा ७–८ प्याकेटदेखि २०–२५ प्याकेटसम्म प्रयोग भएको उनले बताए । तर विषादी प्रयोग गरे पनि केही दिनपछि फेरि किरा लाग्ने गरेको उनले बताए ।

किरा छिप्पिँदै जाँदा मकैको गुभोमा बसी खाँदै जाने र माथि दिसा फाल्दै जाने भएकाले विषादी प्रयोग गरे पनि किरा नमर्ने गरेको कृषक कार्कीले बताए । शुरुको वर्ष किराले जङ्गलको सालको कलिलो पात खाएको थियो । दोस्रो वर्ष कोदोको पात र तेस्रो वर्ष दलहन बालीको पात खाएपछि मकैमा प्रवेश गरेको कृषकहरूले बताएका छन् । यस्तो किरा आफूले यसअघि कहिल्यै नदेखेको ज्येष्ठ नागरिक नैनबहादुर राईले बताए । पहिला–पहिला सलह भन्ने फट्याङ्ग्रा जस्तो उड्ने र देखिने किराको प्रकोप चाहिँ देखेको उनले बताए ।

सलहले पातदेखि डाँठसम्म खाएर सखाप पार्ने गरेको देखेको ज्येष्ठ नगारिक राईले बताए । तर यो फौजी किराले मकैको कलिलो गुभो नै खाने भएकाले समस्या पारेको उनले बताए । नयाँ र नौलो किराको प्रकोपले मकै आधा उत्पादन हुन थालेकाले चामल खरिद गरेर खान बाध्य भएको उनले बताए । मकै बालीमा लागेको किरा विषादी प्रयोग गर्दा पनि नमरेपछि कतिपय कृषकहरूले किरा सङ्कलन गरेर कुखुरालाई दिने गरेको पनि कृषकहरूले बताएका छन् ।