• खेवाहाङ मेवाहाङ

संखुवासभा / गएको चैत ११ गतेदेखि देशैभरि लकडाउन छ । तर गाउँ घरमा भने लकडाउनको कुनै प्रभाव देखिएको छैन । गाउँघरमा खेतीपातीको समय सुरु भएका कारण प्रायः सबै खेत बारीमा नै भेटिन्छन् ।
पुर्वी पहाडी जिल्ला संखुवासभाका सदरमुकाम तथा मुख्य बजार क्षेत्र बाहेर अन्य बस्तीहरुका किसानलाई लकडाउनको त्यति ठुलो प्रभाव देखिंदैन । बर्खा लागेसंगै उनीहरुको दैनिकी गत सालको जस्तै छ । बर्खायाम सुरु भएसंगै खेत बारीमा नै व्यस्त हुने किसानहरुले लक डाउन र कोरोना भाइरसका प्रभावबारे जानकारी विहान बेलुकी रेडियो मार्फत थाहा पाउँछन् । गाउँबस्ती अर्मपर्म गरेर खेती लगाउने कामनिरन्तर छ ।
यत्ति बेला गाउँघरमा खेतबारीका बाँझो चिर्ने, आली ताछ्ने, कोदो रोप्ने, मकै छर्ने र धानको बिउ राख्नेलगायतका खेतीलगाउने काममा व्यस्त छन् गाउँघरका कृषकहरु ।

क्वारेन्टाइन बसाई पछि खेतीमा
सरकारले लकडाउन घोषणा गरेसंगै गाउँपालिका तथा नगरपालिकाहरुले बाहिर समस्यामा परेका आफ्ना नागरिक गाउँ फिर्ता गरेका थिए । फिर्ता भए पछि १४ दिन पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा बसेर कोरोनाको कुनै लक्षण नदेखाएसंग घर गएका सिलिचोङ–२ का सन्तोष कुलुङ यत्तिबेला कृषि कर्मममा लागि परेका छन् । वृद्धाअवस्थाका बुवा आमा मात्र घरमा रहेका उनी एक महिना अगाडी काठमाण्डौबाट घर फर्किएका थिए । सिलिचोङ गाउँपालिका २ नं. वडाको बालायाम्दाङ मा.विक.मा निर्माण गरिएको क्वारेन्टीनमा बसेर उनी १४ दिन पछि घर फर्केका हुन् ।

उनी घर पुगेर दाउरा चिर्ने, मकै गोड्ने लगायतका कृषिका काम सेकेको बताए । उनी भन्छन्ः काठमाण्डौ, सहर तिर मात्र कोरोनाको डर हुन्छ गाउँमा आ–आफ्नो काम गर्ने हो कोहिसँग भेट नै त हुन्न । उनीसंगै गाउँ फर्किए आशा कुलुङ पनि यत्ति बेला कोदो रोप्ने काममा व्यस्त छिन् । उनी भन्छिन् यहाँ त सबै बारी बारीमा छौं, लक डाउन नै छैन ।

खेतीमा पनि सामाजिक दूरी कायम
लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर खेतीपातीको काममा लागिरहेका सिलिचोङ गाउँपालिका २ की सन्ध्या गजमेरले बताइन् । काठमाण्डौबाट आएर क्वारेन्टाइन नै बसेर घर गएकी गजमेरले जे काम गर्न पनि सामाजिक दुरीकायम गरेको बताइन ।

हाट बजार र मेलापात नगई गाउँमा नै कृषिको काम गर्दा कोरोनाको डर मान्नु नपर्ने धेरै कृषकहरुको भनाइ छ । सहरबजारमाजस्तो लकडाउनको ठूलो असर गाउँघरमा नपर्ने उनीहरुको बुझाइ छ । गाउँघरमा ठूलो भिडभाड नहुने भएकोले कोरोना एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने खतरा कम रहेको उनीहरु बताउँछन् । ‘हामीले दिनभरि काम गर्ने हो । मानिसहरुसँग भेटघाट कम हुन्छ । साप्ताहिक लाग्ने बजार बन्द छन्, भेलाहरु केहि हुन्न त्यसैले ढुक्कका साथ कृषिको काम गरिरहेका छौँ,’ सिलिचोङ–३ का उमेश चाम्लिङले भने ‘व्यक्तिगत सरसफाइ र नियमित रुपमा मास्क परिवारका सबै सदस्य र आफूले प्रयोग गरेका छौँ ।’