उदयपुर । कोभिड–१९ का कारण उदयपुरको पहाडी भेगमा उत्पादन भएको सिन्कौली कृषकको घरमै थन्किएको छ ।

रौतामाई गाउँपालिकाकाको माथिल्लो भेगमा उत्पादन भएका सिन्कौली लकडाउन लम्बिँदै जाँदा बिक्री ठप्प छ । कोरोना भाइरसको संक्रमण रोकथमाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ । लकडाउनले गर्दा गाउँपालिकाको ५, ६, ८ लगायतका वडामा उत्पादन भएको सिन्कौली कृषकहरूले घरमै राख्न बाध्य बनेको कृषकहरू बताउँछन् । 

पहाडी भेगका कृषकहरूको सुन्तलापछि मुख्य एक आम्दानीको स्रोत बनेको सिन्कौली कोरोनाले गर्दा बिक्री वितरणमा समस्या आएको कृषक सीताराम राईले बताए । उनले भने, “अहिले गाउँको प्रत्येक घरमा सिन्कौलीको पात सुर्केर कसैले बोरामा त कसैले तेत्तिकै राखेका छन् । कहिले लकडाउन खुल्छ र बिक्री गरौलाँ भनेर कृषकहरु कुरिरहेका छन् ।”

लकडाउनले सिन्कौली बिक्री वितरण नहुँदा गाउँमा आर्थिक संकटसँगै खाद्यन्न अभाव हुने सम्भावना बढेको छ । सिन्कौली बिक्री गरेर नै खाद्यान्न जोहोर गर्दै आएको कृषक राईले बताए । कोरोनाले एक मुख्य आयस्रोतको रूपमा रहेको सिन्कौली बिक्री हुन छाडेपछि समस्या उत्पन्न भएको हो । सिन्कौलीको पैसाले किनेको चामल सकिएपछि कतिपय कृषकहरू खाद्यान्न अभाव हुन थालेको उनले बताए । 

भनेजस्तो भाउ नपाए पनि बिक्री वितरण हुँदा गरिब निमुखा कृषकहरूलाई हात मुख जोड्न सहज भएको थियो । तर कोरोनाले गर्दा चैत्रमा पात सुर्केको सिन्कौली अझै घरमै राख्नु पर्दा समस्या सिर्जना भएको कृषक कमलबहादुर राईले बताए । सुर्केर राखेको सिन्कौलीलाई आगो र पानीबाट जोगउनु हम्मे परेको उनले बताए । 
लकडाउनले गर्दा गाउँमा खाद्यान्न अभाव हुन थालेको उनले बताए । उचित मूल्य नभए पनि गरिब परिवारको आयस्रोत बनेको सिन्कौली बिक्री नहुँदा समस्या उत्पन्न भएको उनले बताए । कृषकहरूले उत्पादन गरेको सिन्कौली सम्बन्धित निकायले खरिद गर्ने वातावरण मिलाए गाउँघरका गरिब किसानहरू भोकले नमर्ने कृषक राई बताउँछन् । 

धोद्रे, खानीडाँडा, गुराँसे, ढाँड, चुचेआँप, फलामे लगायतका गाउँबस्तीमा उत्पादन भएको सिन्कौली संकलन हुने गरेको छ । चैत अन्तिमदेखि वैशाख पहिलो हप्तासम्म सिन्कौली आउँने भए पनि लकडाउनले गर्दा कृषकहरुको घर–घरमै रहेको संकलक कैलाश राईले बताए । संकलन गर्ने ठाउँमा सिन्कौली राख्ने ठाउँ र सिन्कौली खाद्ने बोराको अभावले गाउँमै राख्न लगाइएको उनले बताए ।

अहिले ४० टनभन्दा बढी सिन्कौली धोद्रेमा मात्रै संकलन गरिएको छ । अझै कृषकहरूको घरघरमा राखिएको सिन्कौली आउँन बाँकी रहेको संकलक राईले बताए । लकडाउन लम्बिँदै जानु र वर्षायाम सुरु हुनाले संकलन गरेको सिन्कौलीमा पठाउन नपाए ठूलो समस्या आउने उनले बताए । 

पानी परेपछि कच्चि सडक पहिरो गएर बन्द हुने भएकाले गाडी चल्दैन । घण्टौँको बाटो सिन्कौली बोकेर हिँड्नु पर्ने समस्याको समाधान गर्दै गाउँमै सिन्कौली संकलन गर्न थालेको संकलक राईले बताए । संकलन गरेको सिन्कौली वर्ष नकटाएकाले यसपालि संकलन गरेको सिन्कौली अर्को वर्ष काम राम्रो बस्छ या बस्दैन थाहा नभएको उनले बताए । अहिले काउले, बाछाला, निकासलगायतका संकलन गर्ने ठाउँहरुमा सिन्कौली रोकिएर बसेको छ ।

करिब ८ वर्षसम्म एकै रेट प्रतिकेजी ४० रुपैयाँमा बिक्री वितरण हुने सिन्कौलीको मूल्य यस वर्ष २ रुपैयाँ घटेको र ३८ रुपैयाँमा झरेको कृषकहरू बताउँछन् । झन् बढ्नु पर्नेमा घट्दै गएको उनीहरूको गुनासो छ । यस वर्ष ठेकेदारले सडकको समस्या देखाउँदै २ रुपैयाँ घटाएको कृषकहरूले बताए ।