भद्रपुर । झापा कारागार आसपासका स्थानीय बासिन्दा फोहोर पानीबाट कसरी ज्यान जोगाउने भन्ने चिन्तामै दिन बिताइ रहेका छन् । विश्व कोभिड १९ कोरोना भाइरसको आतङ्मा त्रसित भइरहेको अवस्थामा कारागारबाट उत्पन्न हुने फोहोर जन्य बग्ने पानीले उनीहरु थप त्रसित देखिएका छन् । कारागारबाट दैनिक पाँच हजार लिटर फोहोर पानी निस्कने गरेको छ ।
कारागार पूर्वपट्टिका बासिन्दा कारागारबाट निस्कने फोहोरजन्य पानीको पीडाबाट वर्षौयता ग्रसित छन् । कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको छ । दुई दशकयता कारागारको अस्त व्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीँडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका छन् ।
गर्मी महिना सुरू भएसँगै फोहोरले नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर गर्न थालेको छ । कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले गएको आर्थिक वर्षमा उत्तरपट्टि एउटा शोष ट्याङकी निर्माण गरेको छ । तर, स्थानीय सो ट्याङकीले मात्र फोहोर पानी रोक्न नसकेकोले सहजै बग्ने ढल निर्माण नभएसम्म समस्या हल नहुने बताउँछन् ।
शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन छोडेको छैन । पूर्वपट्टि रहेका दर्जन बढी घरहरू फोहोर पानीबाट वर्षभरी नै डुबिरहेका हुन्छन् । त्यस आसपाको जमिनमा खेती बाली लगाउन नसकिने अवस्था छ । यस पीडाबाट मुक्त हुन स्थानीयले दशक लामो सङ्घर्ष गरे पनि समस्या जिउँकातिहँु छ ।
३ सय ५० जना क्षमता भएको कारागारमा हाल १ हजार ४१ जना पुरुष, ८४ महिला र ५ जना आश्रित बाल बालिका छन् । महिला कैदी बन्दीको नयाँ र थोरै बन्दी भएकोले सहज बस्न सक्ने अवस्था भएपनि पुरूष कैदी बन्दी सजिलै बस्न सक्ने अवस्थामा छैनन् । एकातिर कोरोना भाइरस जन्य रोग सर्ने त्रास त अर्कातिर उनीहरूबाट उत्पन्न हुने फोहोरजन्य पानी तथा दिशापिसाव व्यवस्थापनको निकास दिने ढल नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर परिवार प्रत्यक्ष असर व्यहोर्न वाध्य छन् ।
जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित भिष्मराज भट्टराईले गुनासो पोखे । उनका अनुसार भद्रपुर नगरपालिका खुला दिसामुक्त कसरी भयो ? कारागारको मलमुत्र पूर्वपट्टिको बस्ती तथा खेतबारीमा छरपष्ट हुने गरेको छ । के खुला दिसामुक्त यही हो ? भट्टराईले प्रतिप्रश्न गरे ।
कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको १५ वर्ष वितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्याङ्की निर्माण भएपनि बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन । कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढीदुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ ।
उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेती बाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा स्थानीयको जमिन बाँझिएको वर्षौं भएको छ । समस्या समाधानका लागि ठेक्काको सूचना प्रकाशित भइसकेपनि लकडाउनका कारण प्रक्रिया अघि बढाउन नसकिएको जेलर राजेन्द्र निरौलाले बताए ।