मेरा खुसीका सीमारेखाहरू के हुन्, कस्ता छन् ? मलाई नै थाहा छैन । म किन यस्तो छु, यस्तो भएँ, थाहा छैन । बाल्यकालका पानाहरू यस्ता थिएनन्, जतिजति उमेरले वयस्कता प्राप्त गर्दै गए, किन हो ? यी वयस्कता जटिल बन्दै आए, एक, दुई, तीन... गर्दै ।

थाहा छैन, भविष्य के हुन्छ, तर भूत पनि औधि सम्झन लायक थिएनन् । आम मान्छे हुँ, त्यसैले आम भएर नै बित्यो । बाल्यकालमा थाहा थिएन, के गर्छु, कहाँ जान्छु, के बन्छु ? यति थाहा थियो, मेरा बाल्यकाल वर्तमान हुन् । गुच्चा, खोप्पी, डण्डीबियो, रुमाल लुकाइ नै वर्तमान हुन् । यी खेल खेल्दा जति आनन्द केमा थियो र ! घरिघरि लुकीडुम खेल्थ्यौं । कसैले नदेख्ने ठाउँमा गएर लुक्नु आहा ! यही वर्तमान थिए । मानसपटलमा यादगार रहने वर्तमान । कहिल्यै भुल्न नसक्ने अतीत । बाल्यकालमा आमबालकले भोग्ने, देख्ने र अनुभव गर्ने यिनै चिज त हुन् । बाल्यकालका खासखास सम्झनाका चिजहरू यिनै त हुन् । अरू के बाँकी छ र ! कहिलेकाहीँ मेला पर्वमा गुलियो मिठाइ पाउँदा मनै मिठाइजस्तै गुलियो हुन्थ्यो । वर्षमा एक पटक आउने मेला, पर्वले मनै खिच्थ्यो । रङ्गीविरङ्गी फूलहरू, चाइँचाइँचूइँचूइँ गर्ने खेलौनाहरू, आहा ! ताजा बनेर आउँछन् । अतीतका त्यहीँ क्षणहरू नै त जीवनको सङ्गालो होला ।

तल्ला घरे कान्छा, माथ्ला घरे माइला, जेठा र ठिटाठिटीहरू भेला भएर रुमाल लुकाइ खेल्नु नै जीवन हो भन्ने ठान्थ्यौं । अरू कुरा केही थिएन खेल्नु–खेल्नु–खेल्नु । हरेक केटाकेटीको दिनचर्या हुन्छ । अहिलेका केटाकेटीजस्तो ल्यापटप, एन्ड्रोइड मोबाइलमा स्क्रिन हाम्रा युगमा एकादेशका कथा हुन् । जीवनमा नसुनेका ‘एकादेशका कथा’, परीका कथा । आहा ! परी भन्ने बित्तिकै दिमागमा कुनै सुन्दर युवती । यति सुन्दरकी तिनीजस्तो सुन्दर अर्को कुनै नहोला । दिमागमा परीको सुन्दर तस्बिर बोकेर त्यस्ता कथाहरू अभिभावक र दिग्गजबाट सुन्थ्यौं । आहा ! रमाइलो गरी सुन्थ्यौं, एकै ठाउँमा भेला भएर । परी कस्ती थिई, कसरी आइ..यस्ता प्रश्नहरू मनमा हुँडलिन्थे । कहिलेकाहीँ झ्वाट्टै मुखमा निक्लथे । जवाफ पाए ठीकै छ, नत्र पनि परीका कथा मन लगाएर सुन्थ्यौं । परीको अदृश्य बिम्ब मनमा बसेको थियो । त्यस्तो बिम्ब जो कहिल्यै देखिएन, आज पर्यन्तसम्म ।

भुतका कथा । चुँडेलका कथा । साँझ ढल्किदै जाँदा अभिभावकको मुखबाट यस्ता कथाहरू आउँथे । डराइडराइ सुन्थ्यौं, यस्ता कथाहरू । त्यो बेलाको भुतको कथा, चुँडेलका कथा । अहिले सिनेमामा देख्छौं । त्यो बेला बुबाआमाबाट कथा सुन्दा नै सिनेमाको रिल झैँ घुमेको आभाष हुन्थ्यो । कहिलेकाहीँ निद्रामा पनि भुतका सपना देख्थ्यौं । मनै आतिथ्यो । कयौं पटक सपनामा ऐँठन भएको छ । त्यही भुत तथा चुँडेलहरू ऐँठन गर्न आइपुग्थे । सिनेमाको रिलझैँ जीवनका ‘पैøया’ हरू पनि घुमिरहे, एकनासले । कुमालेको चक्रझैँ जीवनका चक्रहरू पनि घुमिरहेका छन् । जीवनले कयौं ऋतुहरू फेरे ।

बाल्यकालका वर्तमानहरू भुत भए । अतीत भए । मीठो अतीत । युवावस्था अर्को महŒवपूर्ण खुट्किलो । यही खुट्किलोले कहाँदेखि कहाँ पु¥याइदियो । भोगवादी जीवन के हो ? भन्ने यथार्थ ज्ञान भयो । साङ्ख्य दर्शनको झैँ पदार्थको ज्ञान । त्यो पदार्थ जसले जीवनको हरेक चढाइमा ज्ञान प्रवाह गर्दै जान्छ । अनुभव प्राप्त हुँदै जान्छ । र, त्यही अनुभवले नै अनुभूतिहरू सिर्जना गर्दै जान्छन् । साहित्यकारले आफ्ना अनुभवलाई विचारको माध्यमबाट अनुभूतिमा परिणत गर्छन् । त्यही अनुभूतिले आकार पाउँछ । पुस्तकको आकार । अनुभव सबैसँग हुन्छ । तर, अनुभूति गर्न सक्ने क्षमता त्यहीसँग हुन्छ, जसले बाहिर ल्याउन सक्दछ । हाम्रा यथार्थहरू के हुन्, कसका लागि हुन्, किन हुन् ? थाहा छैन ।

हाम्रा यथार्थले कसलाई फाइदा होला र ! अनुभव...अनुभव...अनुभव । यही बोकेर आम मान्छे बाँचेको हुन्छ जीवनभर । जीवनको अन्तकालसम्म । र, जसरी आउँछ, त्यसरी नै जान्छ । नश्वर शरीर । जीवन कालसम्म के ठान्छ, मभन्दा अर्को कुनै वस्तु छैन । मप्रतिको अहम् । त्यही अहम्ले नै उसको बाल्यकाल, युवावस्था, प्रौढावस्थालाई खाइदिन्छ । र शेष रहन्छ शून्य । शून्य त्यो शून्य जसको अर्थ रहन्न । गणितीय शास्त्रमा प्रारम्भ र अन्तिम बिन्दु । यही अन्तिम बिन्दुसँग मान्छे जीवनभर लडिरहन्छ, लडिरहन्छ । तर, प्राप्ति के ? आफ्नाआफन्त, इष्टमित्र, बुबाआमा, घरपरिवार सबैसबै त छाडेरै जाने हो । कसै न कसैले छाड्ने नै हो । यही यथार्थबाट सबैजना जन्मिन्छन् र हुर्कन्छन् अनि मर्छन् । तर यही कालमा ऊ संसारलाई जित्न दौडिन्छ । मानौं, ऊ नै संसार जित्ने एउटा प्राणी हो ।

जीवन गाँठो हो । जति फुकाउँदै लग्यो, उति फुक्दै जान्छ, अनन्तसम्म । यहीँ गाँठोका कारण अमूर्त छ जीवन । यस्तो अमूर्त जो आज छ, भोलि फरक भइसक्छ । जसरी हे¥यो, उसरी नै देखिने अमूर्त । यही अमूर्तता नै त रहस्य हो, जीवनको रहस्य । विद्वान्हरू भन्छन्, ‘जीवनको रहस्य बुझ्न सक्नु नै यथार्थमा जीवन हो ।’ रहस्यको त्यो सूक्ष्मता जहाँबाट प्रारम्भ हुन्छ, अनि अन्त हुन्छ । वैशेषिक दर्शनको मान्यता छ, ‘हरेक चिजमा विशेष गुण हुन्छ ।’ त्यो गुण वा पदार्थलाई वैशेषिक दर्शनले ‘परमाणु’ मान्छ । परमाणु त्यो हो, जो विशेषको पनि विशेष हो । कुनै पनि वस्तुको विशेष गुणलाई टुक्र्याउँदै जाने हो भने अन्तिममा बाँकी रहेने शेष वस्तु नै परमाणु हो । त्यो नै ज्ञान हो । ज्ञान पनि परमाणु जस्तै अन्तिममा रहेको विशेष पदार्थ हो । मान्नुस्, कुनै एक व्यक्तिले जीवनमा कयौं अनुभवहरू बटुलेको हुन्छ । बाल्यकाल, युवावस्था, प्रौढावस्थासम्म । तर, उसले अन्तिममा उसको मानसपटलमा जे जति बाँकी रहेको हुन्छ त्यो मात्रै ज्ञान हुन्छ । समग्रताबाट सूक्ष्मतातिर जब आउँछ, त्यो मात्रै ज्ञान हो । वैशेषिक दर्शनको परमाणु त्यही हो ।

हाम्रा ज्ञानहरू पनि सीमित बन्दै जान्छन्, थुप्रैथुप्रै अनुभवहरू हुन्छ । तर, सबै सम्झन सकिँदैन । सम्झेर साध्य पनि हुँदैन । जे अन्तिमसम्म सम्झना रहन्छ, त्यही नै त हो ज्ञान । वस्तुमाथिको ज्ञान । सूक्ष्म ज्ञान । अनन्तकालसम्मको ज्ञान । यही ज्ञानले नै मान्छेलाई डो¥याएको हुन्छ । मान्छेमा अभिमान, अहङ्कार, घमण्डहरू यसरी आउँछन्, मजति जान्नेसुन्ने कोही छैन भन्ने भ्रम पनि रहन्छ । विपर्यय ज्ञान । यो यस्तो ज्ञान हो, जसले डोरीलाई पनि सर्प सम्झन्छ । तर, जब डोरी नै हो भन्ने यथार्थ ज्ञान हुन्छ, सर्पप्रतिको त्यो मिथ्या ज्ञान हटेर जान्छ । हो मान्छे यही अवस्थामा छ । मिथ्या ज्ञान लिएर हुर्किरहेको छ । तर पनि उसमा अभिमान हराउँदैन । अहङ्कार हराउँदैन । घमण्ड हराउँदैन । यही सोचेर आखिर युवावस्था किन जटिल बने..एक, दुई, तीन...गर्दै । थाहा छैन । बाल्यकालहरू अतीत बने । सुन्दर अतीत । जो फेरि फर्काउन नसकिने अतीत । सम्झन लायक अतीत । सायद युवावस्थाका अतीतहरू पनि प्रौढावस्थामा त्यस्तै होलान् कि !