विराटनगर/ अन्तर्राष्ट्रिय नेटवर्क बनाएर ‘अनलाइन सपिङ’ का नाममा ठगी गर्ने गिरोहका मुख्य नाइेके मोरङ सुन्दरहरैंचा नगरपालिका –३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आर्चायसहित तीनजना पुर्पक्षको लागि थुनामा गएका छन् ।

जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आचार्यसहित तीनजना पुर्पक्षका लागि थुनामा राख्न र तीन जनालाई जनही १–१ लाख धरौटीमा छोड्न आदेश दिएका हुन् ।

अदालतको आदेशपछि खोटाङ जन्तेढुङ्गा गाउँपालिका–४ चिसापानीका २४ वर्षीय शिवजी खड्का र सोही ठाउँकी २१ वर्षीया देवी चम्लागाईं पुर्पक्षको लागि विराटनगर कारागार चलान भएका छन् । प्रतिवादीहरू भावना राई, लक्ष्मी कार्की र सानु गौतम जनही १–१ लाख धरौटीमा रिहा भएका छन् ।

थुनामा गएका प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम पुर्पक्षको लागि थुनामा गएको अदालतले आदेशमा उल्लेख छ । यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम भावना, लक्ष्मी र सानु धरौटीमा रिहा भएको अदालतले जनाएको छ । पक्राउ परेकामध्ये २ जना नाबालक भएकोले उनीहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइएको छ ।

अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहका मुख्य नाइके आचार्यसहित प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् गत फागुन ६ गते मोरङ अदालतमा १ जनालाई फरार प्रतिवादी बनाएर ९ जना विरूद्ध मुद्दा दर्ता गरेको थियो । पक्राउ परेका ८ र एक जनालाई फरार प्रतिवादी बनाएर अदालतमा आपराधिक समूह स्थापना, सञ्चालन गरी ठगी, बैङ्किङ कसुर र सरकारी दस्तखत कीर्ते’ मुद्दा दर्ता भएको थियो । चार दिनसम्म बयान सकिएपछि शुक्रबार थुनछेक बहसपछि आदेश आएको मोरङ अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए ।

प्रहरीको अभियोगअनुसार ठगीका मुख्य गिरोह आचार्यले ३० हजार तलब दिने सहमतिमा किशोरीहरूलाई सेल्स एण्ड मार्केटिङको काममा लगाएका थिए । उनीहरूले विभिन्न बैङ्कहरूको खातामा आएको पैसा उठाएर आचार्यलाई दिने गरेका थिए । आचार्यले ठगी धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ । पक्राउ परेका युवतीलाई आचार्यले बैङ्क खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पु¥याएको खुलेको थियो ।

आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कङ्किता थमनलगायतका व्यक्ति रहेको अभियोग पत्रमा उल्लेख छ ।

आचार्यले विभिन्न बैङ्कमार्फत् ९० लाख रुपैयाँभन्दा बढी भारतमा बसेर ठगी धन्दा चलाउनेलाई बुझाइसकेको देखिन्छ । आचार्यले पनि यो कुरा स्वीकार गरिसकेका प्रहरीले लिएको बयानको क्रममा भनेका छन् । ठगी गर्ने क्रममा उनले २५ भन्दा बढी भारतीय र नेपाली बैङ्क प्रयोग गरेका छन् ।

आचार्यका ७८ वटा नेपाली र १७ वटा भारतीय बैङ्कका खाता रहेका छन् । उनले अन्य १७ जना व्यक्तिका नाममा खाता खोलेर हस्ताक्षर गर्न लगाउँदै चेक भने आफै राखेर प्रयोग गर्ने गरेको अभियोगमा उल्लेख छ । ‘अनलाइन सपिङ’ नाममा ठगी गरिएको ६७ लाख ९९ हजार सात सय ५० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।