भद्रपुर / उमेर ६५ वर्ष । दुवै आँखा देखिँदैनन् । मधुमेह र उच्चरक्तचापको विरामी । विरामीका कारण टाउको र हातगोडा काम्ने अनि एक वर्षयताबाट लागेको सजाय काट्दै कारागारको वास । सुनसरी इनरुवा मधेसा ३ की लिलामाया निरौलाको यो अवस्था भद्रपुरस्थित झापा कारागारमा ।
भारतको पानीट्याङ्कीबाट ५ वर्ष अघि नेपाल तर्फ आउदै गरेको अवस्थामा अपरिचीत व्यत्तिले दिएको एउटा पोकाका कारण ती महिलाको कारागारको वास भएको छ । मानसिक सन्तुलन गुमाएर २५ वर्ष अघि घर छाडेर हिडेका श्रीमान रुद्रप्रसाद निरौलाको भारत आसाममा पानीमा डुबेर ज्यान गएको जानकारी पाएकी थिइन् । श्रीमानको लास भेटिने आसमा कान्छा छोरा (प्रकाश)सँग आसाम पुगिन् । फेला नपरेपछि ०७२ सालमा नेपाल फर्किदै गर्दा उनलाइ पानीट्याङ्कीमा एक व्यत्तिले पोका दिदँै यो काँकडभिट्टाको मेची पुल कटाउनु म ५ सय रुपैया दिन्छु भने । छोरासँगै पोको बोकेर नेपाल छिर्नेक्रममा मेची पुलको नेपाल तर्फका सुरक्षाकर्मीले पोकामा लागूऔषध फेला पारेपछि उनीहरुलाइ नियन्त्रणमा लिएर लागूऔषध ओसार पसारमा मुद्दा दर्ता गराए । उनीहरुको धरौटी बेरुजुमा अदालतले दोषी ठहर गरी फरारको सुचीमा राखेको थियो । सोही क्रममा ०७५ वैशाख ११ मा उनलाइ दमकबाट प्रहरीले पक्राउ गरी झापा कारागार चलान गर्यो । प्रकाश भने ०७२ सालमा नै कारागार छिरेपछि दुइ वर्ष बसेर १ लाख ११ हजार नगद रकम तिरेर ०७४ सालमा कारागार मुक्त भइसकेका छन् । महिलालाइ भने १ वर्ष ११ महिना ४ दिन कैद र १ लाख रुपैयाँ नगद जरिवाना अदालतले ठहर गरेको कारागार प्रशासनले जनाएको छ ।
जग्गा जमिन केही नभएकी ति महिला दमकमा कोठा लिएर वस्दै आएकी थिइन् । ७ जना सन्तान भएको उनी बताउँछिन् । उनीहरुको सवै वस्ने स्थान भने उनलाइ जानकारीमा छैन । कान्छा छोरा प्रकाश दमकमा कुखरा फारममा काम गर्दै आइरहेको र उसैलाइ फोन गर्ने गरेको उनले सुनाइन् । गहभरी आँशु पार्दै यो मलाइ कुन जन्मको पाप हो, मलाइ कसैले फसायो अव उपचार नपाएर यही मर्ने भएँ उनले भनिन् । मलाइ कारागारमुक्त गरिदिन उनले अनुरोध गरिन् ।
कारागार छिरेको केही महिना देखि नसामा खरावी आएको चिकित्सकले वताएपछि कारागारबाट ५ हजार रकम उठाएर उपचार गरिएको महिला चौकीदार भैरवा देवी श्रेष्ठले बताइन् । शौचालय जान, खानपिन,नुहाउन ,कपडा सफा गर्न नसकेका कारण महिलाहरुले गर्दै आइरहेको उनले सुनाइन् । विरामीका कारण रातभर आलो पालो गरेर सुत्ने गरेको उनीहरु बताउँछन् । हामी सवैले आमाको रुपमा हेर्ने गरेका कारण उहाँ रुदाँ हाम्रा आँखामा आँसु छताछुल्ल हुने महिलाहरु वताउँछन् । कैद मिनाह भएमा तोकिएको रकम विभिन्न सङ्घ संस्थाको सहयोगमा भुत्तानी गर्ने उनीहरु वताउँछन् । महिला दीर्घ रोगी भइसकेकोले स्वास्थोपचारमा सवैले ध्यान दिनु पर्ने कारागार सुरक्षार्थ सइ उदय शमशेर राणा बताउँछन् । हेर्दा माया लागेर आउँछ तर केही गर्न नसकिने उनको भनाइ छ । महिलाको शारिरीक अवस्था दयनिय रहेको जेलर राजेन्द्र निरौलाले बताए । कानुनभन्दा माथि कोही नभएका कारण रोगलागेपनि महिलाले सजाय भोग्दै आइरहेको उनले बताए । उनीमाथि सवैले सहानुभुति दिदै आइरहेको उनको भनाइ छ ।
कारागार नियमावली २०२० को नियम २९(२क) मा सत्तरी वर्ष उमेर पुगेका कैदीहरूको हकमा पचहत्तर प्रतिशतसम्मको कैद सजाय छोट्याउन वा दुवै आँखा नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अङ्गभङग भइ ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बाँकी कैदको सजाय छोट्याउन सकिने व्यवस्था छ भने ऐ नियम २९(३) मा गरिएको व्यवस्थानुसार कैदको सजाय छोट्याउन जेलरले रायसाथ प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरी प्रजिअले क्षेत्रीय प्रशासन कार्यालयमार्फत कारागार व्यवस्थापन विभागमा पठाउनु पर्नेछ र कारागार व्यवस्थापन विभागले पनि निकाशाको लागि गृह मन्त्रालयमा पेस गर्नु पर्नेछ भन्ने स्पष्ट व्यवस्था गरिएको छ । गृहमन्त्रालयबाट कैदको सजाय छोट्याउने निकाशा भएमा जेलरले कैदको लगतमा कट्टा गरी कैदीलाइ छाडिदिनु पर्नेछ ।