विराटनगर/ अन्तर्राष्ट्रिय नेटवर्क बनाएर ‘अनलाइन सपिङ’ का नाममा ठगी गर्ने गिरोहका मुख्य नाइकेसहित ९ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

मोरङ प्रहरीले पक्राउ गरेको ठगी गर्ने गिरोहका मुख्य नाइके मोरङ सुन्दरहरैँचा नगरपालिका–३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्यसहित ९ जनाविरूद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दर्ता गरेको हो । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा ‘आपराधिक समूह स्थापना, सञ्चालन गरी ठगी, बैङ्किङ कसूर र सरकारी दस्तखत कीर्ते’ मुद्दामा पक्राउ परेका ८ र १ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो ।

प्रहरीले अनलाइन सपिङको नाममा ठगी आरोपमा खोटाङ जन्तेढुङ्गा गाउँपालिका–४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चाैलागाईं, धरान उपमहानगरपालिका– २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्कीलाई पक्राउ गरेको थियो ।

ठगीमा संलग्न इटहरी–४ की ३० वर्षीया मधुकुमारी आचार्यलाई फरार प्रतिवादी बनाएको छ । पक्राउ परेका विशाल भनिने निराञ्जनप्रसाद आचार्य ठगी धन्दाका मुख्य नाइके भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ । तीमध्ये पनि खड्का र चौंलागाईं आचार्यका विश्वासपात्र रहेको प्रहरी अनुसन्धानबाट खुुलेको हो । उनीहरू विराटनगर महानगरपलिका–३ की यज्ञकुमारी खड्काको घरमा कोठा भाडामा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ ।

अन्य युवतीले भने आचार्यलाई बैङ्क खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पु¥याएको खुलेको छ । आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कङ्किता थमन रनदप्रसाद साहलगायतका व्यक्ति रहेको अभियोग पत्रमा उल्लेख छ ।

आचार्यले विभिन्न बैङ्कमार्फत् ९० लाख रुपैयाँभन्दा बढी भारतमा बसेर ठगी धन्दा चलाउनेलाई बुझाइसकेको देखिन्छ । आचार्यले पनि यो कुरा स्वीकार गरिसकेका प्रहरीले लिएको बयानको क्रममा भनेका छन् । ठगी गर्ने क्रममा उनले २५ भन्दा बढी भारतीय र नेपाली बैङ्क प्रयोग गरेका छन् । आचार्यका ७८ वटा नेपाली र १७ वटा भारतीय बैङ्कका खाता रहेका छन् ।

उनले अन्य १७ जना व्यक्तिका नाममा खाता खोलेर हस्ताक्षर गर्न लगाउँदै चेक भने आफै राखेर प्रयोग गर्ने गरेको अभियोगमा उल्लेख छ । ‘अनलाइन सपिङ’ का नाममा ठगी गरिएको ६७ लाख ९९ हजार सात सय ५० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

यसरी खुल्यो ठगी धन्दा
सुनसरीको इटहरी घर भई काठमाडौंमा बसोबास गर्दै आएकी छत्रकुमारी धमलाले ठगी गरेको भन्दै एक व्यक्तिले महानगरीय अपराध महाशाखामा उजुरी गरे । सनराइज बैङ्कमा खाता खोलेर ठगी गरेको र त्यसपछि खाता बन्द गरेको उजुरी परेपछि उनलाई प्रहरीले अनुसन्धान ग¥यो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको नाममा विराटनगरमा रहेको एनआईसी एसिया बैङ्कमा खाता रहेको पाइएको छ । विराटनगरबाट एटीएम कार्ड पनि निकालिएको थियो । यही अनुसन्धानका क्रममा विराटनगरस्थित सिभिल बैङ्कको एटीएमबाट खड्का पक्राउ परेका थिए । खड्काले दिएको बयानका आधारमा गिरोहमा संलग्न अन्यलाई पक्राउ गर्न सकिएको प्रहरीले बताएको छ ।