बलात्कार, बलात्कारपछि हत्या जस्ता समाचार सुनिन्छ, पढिन्छ । घटनालाई सम्बोधन गर भनेर प्रतिक्रिया आउँछन् । कोही कसैको प्रतिक्रिया बाहिर देखिएन भने अनेक थरी टिप्पणी हुन्छन् । कानून दह्रो भएन भन्ने पीडा व्यक्त गर्छौं । सीमित प्रतिक्रियापछि हामी चुप लाग्छौं । अर्को घटना घट्यो भने प्रतिक्रिया दिन तयार भएर बस्छौं । यो क्रमले केही समयदेखि निरन्तरता पाइराखेको छ ।

हिंसा जहिले पनि शक्ति बढी हुनेले कम हुनेमाथि गर्छ । चाहे त्यो शारीरिक शक्ति होस् वा आर्थिक, सामाजिक, महिलामाथि हुने हिंसाको चुरो कारण त्यही हो । समाजमा विभिन्न मूल्य मान्यताका आधारमा पुरुषलाई अत्यन्तै शक्तिमान् बनाइएको छ । महिलामाथि हिंसा पुरुषद्वारा धेरै भएको छ । महिला र पुरुषको यौनिकतालाई हेर्ने दृष्टिकोण विभेदपूर्ण छ । महिलाको शरीर अरूको अधीनमा रहनुपर्छ भन्ने मानिन्छ । देश चलाउनेहरूदेखि लिएर घरका मालिक मानिनेको बोली र व्यवहारले त्यसलाई पुष्टि गर्छ ।

यौन चाहना जीवन विकासक्रमको कडी हो । पश्चिमा मनोविज्ञ अब्राहम मास्लोले मानिसको पहिलो आवश्यकताका रूपमा खाना, नाता छाना जस्ता कुरालाई राखेका छन् भने दोस्रो आवश्यकतामा यौन । अरू आवश्यकता समाजमा पाउने माया, सम्मान हुन् । बलात्कार जस्तो जघन्य अपराधमा यथेष्ट प्रमाण हुँदाहुँदै मोलमोलाई हुनु र मिलेमतोमा प्रमाणको बेवास्ता गर्दै पीडकलाई उन्मुक्ति दिनु पनि बलात्कारभन्दा कम अपराधपूर्ण कार्य होइनन् ।

प्रसङ्ग केही महिना अघि चताराधाममा भएको बलात्कार घटनाको हो । साधुको भेषमा आफूलाई साक्षात् भगवान् मान्ने कथित सिद्धबाबा कृष्णदासले आफ्नै महिला अनुयायीलाई बलात्कार गरे । राजनीतिक र आर्थिक पहुँचका कारण ती ढोङ्गी, पाखण्डी सिद्धबाबा धरौटीमा रिहा भए । यस्तो हुनुमा एकातिर बलात्कारीको आर्थिक, सामाजिक र राजनीतिक पहुँचले भूमिका खेलेको हुन्छ भने अर्कोतिर पीडितको कमजोर सामाजिक हैसियत र यो भन्दा बढी कथित ‘इज्जत’का कारण घटनालाई बाहिर आउन नदिई सकेसम्म गुपचुप राख्न खोज्नुले महŒवपूर्ण भूमिका खेलेको हुन्छ ।

अहिलेको हाम्रो समाज दुईटा स्थितिले निर्देशित छ । पहिलो, शक्तिवान् खासगरी सत्ता (राजकीय सत्ता) मा रहेकाको दम्भ हो । उनीहरूमा मैले जे गरे पनि हुन्छ भन्ने बुझाइ छ । दोस्रो, सामाजिक घरको सत्तामा रहेका व्यक्ति (पुरुष र पितृसत्तात्मक संरचनाबाट डोरिने समूह) हुन् जसमा महिलालाई ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने मानसिकता छ । यस्तो समाजमा मानिसले न माया पाउन सक्छ न त सही सोच्न । यसबाट महिला र पुरुष सबै पीडित हुन्छन् । त्यस्ता व्यक्ति कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । विभिन्न खाले कुण्ठाबाट ग्रसित हुन पुग्छन् ।

यौनबारे खुलेर कुरा गर्नु, यौनलाई मर्यादित परिधिमा राखेर बुझ्नु, मानवीय यौनिकतालाई उसको व्यक्तित्व विकास, सिर्जनशिलतासँग जोडेर हेर्नुलाई अपराध मानिने समाजमा यौन दुव्र्यवहार, यौन हिंसा हुने गर्छन् । असी प्रतिशतभन्दा बढी महिला घरेलु हिंसाबाट पीडित छन् । पीडा दिने घरकै सदस्य छन् । बलात्कार घटना बढ्दो छ । बलात्कार गर्ने सबभन्दा बढी घरकै सदस्य र छिमेकी छन् । सबभन्दा सुरक्षित ठाउँ घर र आफ्नो समाज हुनुपर्ने हो तर ती ठाउँ सबभन्दा असुरक्षित छन् । यस्तो किन छ ? किन हुँदैछ ? यिनलाई कसरी माया र सम्मानले भरिएको ठाउँमा परिणत गर्ने ? अहिले हाम्रो अगाडि सबभन्दा ठूलो चुनौती यही हो ।

जबसम्म समाजले बलात्कारीको संरक्षण गर्छ र बलात्कृत हुनुलाई इज्जतसँग जोडेर हेर्छ, तबसम्म बलात्कारको मानसिकताले प्रोत्साहन पाइरहने र बलात्कृतहरू तिरस्कृत र विस्थापित हुने अवस्था आइरहन्छ । त्यसैले बलात्कारलाई केवल एउटा जघन्य अपराधको रूपमा हेरिनुपर्छ । कठोर सजाय नपाएसम्म अपराधीको मनोबल त उच्च हुन्छ नै, बलात्कारी प्रवृत्तिलाई प्रोत्साहन मिलिरहन्छ र समाजमा बरोबर बलात्कारका बिभत्स घटना भई नै रहन्छन् । बलात्कार पुरुष ग्रन्थीमा रहेको मनोविकार भएकाले कानूनले मात्र यस्ता घटना कम गर्न सक्दैन । अतः यस्तो मनोविकार हटाउन हरेक व्यक्ति, परिवार र समाजको मानसिकता स्वस्थ हुनु जरुरी छ । अझ महŒवपूर्ण कुरा त बलात्कारका घटना भइसकेपछि बलात्कारीलाई नै बहिष्कार र तिरस्कार गर्ने अभियान चलाउनु जरुरी छ ।

मानिसलाई मानसिक विक्षिप्तताको स्थितिमा पु¥याउने प्रमुख तत्व समाजमा स्थापित हानिकारक परम्परागत व्यवहार हुन् । जस्तो महिलाको शरीर पुरुषको नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यताका आधारमा गरिने व्यवहार, महिलाको इज्जत कुमारी हुँदासम्म मात्रै हुन्छ भन्ने बुझाइ, उसलाई दुःख दिनुप¥यो वा उसको परिवारसँग बदला लिनुप¥यो भने बलात्कार गरे हुन्छ भन्ने अघोषित मान्यता । यस्ता हानिकारक सोचाई परिवर्तन हुनुपर्छ । छोरा र छोरीलाई विभेदपूर्ण तरिकाले हुर्काउने, बिहे गर्दा होस् वा अन्य कार्यमा पुरुष ठूलो हुनुपर्छ भन्ने मान्यता बदल्न जरुरी छ । सार्वजनिक भएका बलात्कारका घटनामा पीडक प्रायः गरिब, समाजले विभेदमा पारेको समूहका युवा देखिन्छन् । यसमा यी दुई कारण हुनसक्छन् ः

(क) विभेदमा रहेको समूहलाई आरोप लगाउन सहज हुन्छ । समाजमा गलत काम एउटाले गर्ने तर केही पैसा दिएर अलि कमजोर व्यक्तिलाई जिम्मा लगाउने चलन पनि छ ।

(ख) मानिस गरीब भएर जन्मँदैन, विभेदित हुँदैन । उसलाई गरीब, विभेदित बनाउने सामाजिक र राष्ट्रिय संरचना हुन्छन् । परम्परागत मान्यता हुन्छन् । आफ्नो समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा, चाहेजस्तो काम नपाउँदा, सही हुर्काइ नहुँदा व्यक्तिमा गम्भीर मानसिक असर परेको हुन्छ । उनीहरू अनेक कुण्ठा लिएर बाँचिरहेका हुन्छन् । उनीहरू अपराधमा संलग्न हुन पुग्छन् । उनीहरूलाई सामाजिक राजनीतिक संरचनाले नै अपराधी बनाएको हुन्छ । यस्तो स्थितिमा परिवर्तन गर्नुपर्ने खाँचो टड्कारो छ ।

जबसम्म बलात्कृत छोरीहरूले परिवार समाजमा शिर ठाडो पारेर हिंड्न र आफूमाथिको अत्याचारको विरोध गर्न सक्दैनन्, तबसम्म समाजमा बलत्कारी प्रवृत्ति मौलाइरहन्छ । यसर्थ पीडितलाई परिवार र समाजबाटै दरिलो आडभरोसाको खाँचो छ । बलात्कृत हुँदैमा जीवन सकिँदैन । त्यसैले अब सबैले किन ‘इज्जत’ र ‘अस्मिता’को ट्याग महिलालाई मात्रै भनेर प्रश्न गरौं । समानताका लागि जागरुक बनौं, अनिमात्र समाजमा यस्ता अपराधका घटनाको ग्राफ ओरालो लाग्न सक्छ ।