विद्यार्थी राजनीतिमा छँदा सिके प्रसाईँ (भरतबाबु)ले प्रजातन्त्र र समाजवादको सिद्धान्तबारे इलामको सिङ्फ्रिङ्मा सुनाउँदा मेरो युवा जोस पुलकित भई शरीरका हरेक नशाहरू तात्तिएका थिए, २०४६ को मध्यतिर । पञ्चायत कायमै थियो, क्याम्पसमा विद्यार्थी राजनीति गर्दा अलिक अनजानवश झैं थिए हुँला नजरमा तर योभन्दा पहिले २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा एउटा पञ्च र २०४३ सालको गाउँपञ्चायतको प्रधानपञ्च चुनावमा एउटा पञ्चलाई हराउने चलखेलहरू खेली सकेको थिएँ, युवाक्रान्ति चेतमा । हो वास्तवमा मेरो परिवार, जन्मँदै बहुदलवादी, पञ्च इतरका थियौं । यसैक्रममा इलाम क्याम्पसको विद्यार्थी राजनीतिमा पनि पञ्च इतरमै काम गर्नुथियो, तजबिजी कानून विद्यार्थी छवि बाँस्कोटामार्फत् ।

इलाम क्याम्पसमा अध्ययन गर्दागर्दै बहुदलीय प्रजातन्त्रको अन्तिम आन्दोलन भए र आन्दोलन सफल पनि भयो । वारि, पारि, पर, वर, तल माथिका गाउँघरहरूमा नाराजुलुस र आमसभाहरू चल्थे, फेसन जस्तो किनभने बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएपछि जनता खुशी भएका थिए । उमङ्ग, जोस, जाँगर र स्फुर्ति त्यसबेला थिए, जनतामा । म बेला–मौका क्याम्पसबाट गाउँ आउँथेँ, गाउँमा सङ्गठन गर्न र साथीभाइहरूसँग भेट्न ।

हिजो पञ्चायतकालमा सँगै खाने, बस्ने, धाननाच्न जाने, खेल्ने साथीहरू कुनै माले त कुनै लिम्बुवान भइसकेका रहेछन् । मित्रवत् भेटहरू नै त्यागिसकेका रहेछन्, उनीहरूले । ‘लिम्बुवान’ शब्द मेरो लागि नौलो थिएन किनभने मैले इतिहासकार श्री वीर नेम्बाङ्को ‘लिम्बुवानको रामकहानी’ बुकलेट पढिसकेको थिएँ र यही बुकलेटले श्री वीर नेम्बाङ्को राजनैतिक उचाइ कायम गरेको थियो भन्दा फरक नपर्ला । मैले लिम्बुवानको रामकहानी बाहेक थुप्प्रै याक्थुङ् साहित्यहरू (सुक्खिम विशेष किताबहरू) अध्ययन गरि सकेका थिएँ ।

गाउँघरमा श्री वीर नेम्बाङको ‘लिम्बुवान मुक्ति मोर्चा’ (त्यसबेलाको अवैधानिक दल) विस्तार भइसकेका थिए र बहुदलीय प्रजातन्त्रको कार्यकालसम्म उनले अर्धभूमिगतको रूपमा राजनीति गरेका थिए । मलाई लाग्थ्यो, लिम्बुवान अहिले नै समयानुकुल हुन सक्दैन किनभने राजनैतिक चेत जनतामा आइसकेका छैन भन्ने थियो । मैले लिम्बुवानका साथीहरूलाई यही तर्कगरी आफ्नो दलमा ल्याउन प्रयास गर्दथेँ तर उनीहरू मान्दैनथे किनकि लिम्बुवान आएमा लिम्बुवानका जनताको हितमा उनीहरूले काम गर्नुथियो । किन उनीहरूलाई भेट्थेँ भन्दाखेरी लिम्बुवानमा रहने अधिकांश कार्यकर्ताहरू मेरो बुवालाई पञ्चायत कालभरिका चुनावहरूमा सहयोग गर्ने असल व्यक्तिहरू हुनुहन्थ्यो ।

तसर्थ प्रजातन्त्रमा नै बसेर लिम्बुवानको आवाज उठाउँ भन्ने ठूलो विचार थियो, ममा । यसरी नै एकदिन बुवाको बचपनदेखि पञ्चायतकालभरि साथदिने दाइको छोरालाई युवाहरूको भेलामा गाउँको प्रतिनिधि बनाएर प्रशिक्षणमा पठाए र घरमा झण्डा समेत रोपे, काङ्ग्रेसको । यसरी प्रशिक्षणमा सहभागी हुने समेतलाई लिम्बुवान मुक्ति मोर्चामा फर्काए र रोपिएको झण्डा तुरुन्त परिवर्तन भए ।

त्यसबेला गाउँलेहरू श्री वीर नेम्बाङ नै नेपालको राजनीतिमा अब्बल दर्जाको राजनीतिज्ञ मान्दथेँ र हो पनि । गाउँ आउनुहुँदा राँकेबाट याम्बोङ्सम्म पुरै लावालस्करमा विशेष सुरक्षाको परिकल्पनाले फूलमाला सहित ल्याइन्थ्यो र गाउँलेहरू भेला गराई लिम्बुवानको स्वप्निल धुनहरू सुनाइन्थ्यो । क्यासेटमा भरिएका दार्जिलिङ्गे नेता सुवास घिसिङका केही राम्रा राम्रा भाषणहरू सुनाइन्थ्यो । कुनै कुनै बेला उक्त धुनहरू सुन्न मलाई पनि निम्तो हुन्थ्यो । म त्यो धुन सुन्नु भन्दा पनि स्रष्टा तथा राजनीतिज्ञ श्री वीर नेम्बाङको कृति तथा लेखहरू लिन जान्थेँ ।

२०४८ मा महानिर्वाचन भयो, प्रतिनिधिसभा संसदको । तर लिम्बुवान मुक्ति मोर्चाले महानिर्वाचन चुनाव बहिष्कार गर्ने राजनैतिक अडान लियो । बहुदलीय प्रजातन्त्रको शुरुवातमा लिम्बुवानका धेरै साथीहरूलाई ‘चुनाव बहिष्कार नगरौं, सहभागी बनौं र प्रजातन्त्र बलियो भएपश्चात् लिम्बुवान आन्दोलन गरौं’ भन्ने मेरो सम्झाई थियो तर वहाँहरूले मान्नु भएन किनभने ‘जबसम्म नेपालले लिम्बुवान दिँदैन, तहिलेसम्म लिम्बुवान क्षेत्रमा निर्वाचन बहिष्कार हुन्छ’ भन्ने अडान उनीहरूका लागि राजनैतिक जायज थियो र मैले केही कसरत गरिन ।

यसपछि २०४९ सालको स्थानीय निर्वाचन पनि बहिष्कार गर्ने भन्ने लिम्बुवान मुक्ति मोर्चाको राजनैतिक अडान थियो तर गाउँले नेता कार्यकर्ताहरू बाहेक उमेदवारहरूमा कसलाई जिताउने र हराउने खेलमा लागे र लुकीछिपी जिताउनेलाई जिताए । बहिष्कारको नाउँमा चलखेल गर्दा केहिले राप्रपालाई मत दिएर वडाअध्यक्ष जिताए भने केहिले एमालेलाई मतदिएर वडाध्यक्ष जिताए । वडालाई दिँदै गर्दा गाविसको अध्यक्ष र उपाध्यक्ष उमेदवार समेतले मत पाए । नेपाली काङ्ग्रेसलाई हराउन उपयोगमा आए । हराउनुको कारण थियो, वडाध्यक्ष उठाइएका उमेदवारको व्यक्तिगत शील, स्वभाव, चरित्र र आचरण मन नपराउनु । यसरी मत प्रयोगले लिम्बुवानभित्र सुसुप्त रूपमा आन्तरिक विभाजन भइसकेको थिए ।

मध्यावधि निर्वाचनमा पुरै वहिष्कार गरेर बसेका थिए, २०५१ मा । मैले निक्कै कसरत गरेँ, लिम्बुवानले काङ्ग्रेसलाई सघाउनुप¥यो भनेर तर केही सीप लागेन । जय नेपाल क्लबमा सपथगरी बसेका समेतलाई लिम्बुवानमा फर्काए । अनि मलाई लाग्दथ्यो यस्तो प्रतिबद्ध हुनु भनेको राजनीतिमा कुनैबेला सफलता लिनु नै जस्तो लागेको थियो अफसोच त्यो देख्न पाइएन । त्यसपछि २०५४ सालको स्थानीय निर्वाचनमा पनि लिम्बुवान मुक्ति मोर्चाले पूर्ण बहिष्कार गर्नु नै थियो तर त्यहाँ पनि बहिष्कार हुन सकेन । अर्थात् लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ्को ह्विप्स् उल्लङ्घन भयो ।

यसपटकको केही मत नेपाली काङ्ग्रेसलाई सहयोग पाएर वडाध्यक्ष जिते भने धेरै मत एमालेले सहयोग पाएर वडाध्यक्षहरू जिते । यस स्थानीय चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदमा चुनाव लड्ने मानसिक तयारीमा म थिएँ किनभने लिम्बुवान मुक्ति मोर्चाका ७६ मत मेरो उमेदवारी भएमा सहयोग गर्ने र लिमुमोले बजेट योजना पाउने मौखिक शर्तहरू थिए । केही नेता कार्यकर्ताहरूबाट तर मलाई पार्टिले टिकट नदिएर अरूलाई दिएपछि लिम्बुवानको मत एमालेलाई पर्ने स्थिति बनेर गए । यस चुनावपछि लिम्बुवानका गाउँले नेता कार्यकर्ताहरूमा वैचारिक विचलन, नैराश्यता र आन्तरिक फुट जस्तै भइसकेको थियो, आर्थिक र राजनैतिक समस्याका कारणले ।

यही क्रममा एकजना स्थानीय नेता काङ्ग्रेसमा छिरे भने केही नेता कार्यकर्ताहरू गाउँ नै छोडेर व्यवसायमा गए । गाउँमा लिम्बुवानको अ।ावाज निक्कै बुलन्द थिए र एकताबद्ध थिए जस्तो लाग्दथ्यो मलाई तर रहेनछ किनभने शहर र बजारहरुमा र बौद्धिकताको पूरै अभाव थियो । तसर्थ गाउँमा सैद्धान्तिक बहस नभएकाले नजरअन्दाज गरी कुन सजिलो पार्टी मान्दछ त्यसैलाई मत सहयोग गरेको थाहा पाइयो । तेत्तिबेलाका चुनावहरूमा नारा बनाएका थिए ‘भोटमा मत दिनु भनेको आफ्नो चिहान आफैं खन्नु हो’ भन्ने अधिकतम चर्चामा थिए ।

लिम्बुवान एउटा भूगोल हो, जुन भूगोल सन्धिबाट नेपालमा गएको भन्ने जान्दथेँ । किन, कसरी लिम्बुवान चैं नेपालमा सन्धि भएर गएको र अहिलेसम्मको अवस्था के छ भन्ने राजनैतिक बुझाइ मसँग थिएन । त्यस कुराको सामान्य जानकारी लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्ताहरूसँग थियो । ती इतिहासले लुकाएका कुराहरू, बहस गर्न र आन्दोलन गर्न मलाई लाग्थ्यो, समय, परिवेश र अवस्था त्यसबेला थिएन । लिम्बुवान प्राप्तिका लागि प्रजातन्त्रलाई बलियो बनाएर मात्र सम्भव हुन्छ । जहाँ वाक् स्वतन्त्रता छ भनेमात्र लिम्बुवान बोल्न पाइन्छ ।

जुन वाक् स्वतन्त्रताको बारेमा सिके प्रसाईँले मलाई सुनाउनु भएको थियो । लिम्बुवान क्षेत्रमा माओवादी जनयुद्ध प्रवेशभएपछि लिम्बुवान मुक्ति मोर्चा सिथिल भए, प्यारालाइसिस जस्तै । मैले पनि ‘लिम्बुवान मुक्तिका लागि अब केही बल गर्नुपर्दछ किनभने माओवादीको कथित लिम्बुवान मुक्ति मोर्चाले सबै यश, मान र सम्मान लगिदिन्छ’ भन्ने चासो थियो । तथापी लिम्बुवान मुक्ति मोर्चा ताजुप नै रह्यो, तिनकै सङ्गठनले जानून् । माओवादी दश वर्षे जनयुद्ध र १९ दिने लोकतान्त्रिक जनआन्दोलन भाग २ सफल भएपश्चात् पनि त्यसका नेता कार्यकर्ताहरूले लिम्बुवान मुक्ति मोर्चालाई बृहत् बनाउन सकेनन् । तदर्थगत समितिहरू बनाउने, मित्रवत् साथीहरूलाई तदर्थ समितिहरूमा राख्ने, व्यक्तिहरूलाई थाहै नदिई नामहरू घोषणा गर्ने जस्ता अपरिपक्व सङ्गठनहरू बनाए । जसले लिम्बुवानको मर्म र भावना नै समात्न सकेन । सबैले लिम्बुवान भन्दैमा लिम्बुवान मुक्ति मोर्चाको मेम्बर हुन सक्दैनथे भन्ने राजनैतिक बुझाइ कम थियो ।

यसरी नै २०६४ को निर्वाचनमा लिम्बुवान मुक्ति मोर्चा सहभागी भयो, संविधान लेख्ने सभाषद्का लागि । यो चुनावको परिणाम विचार गर्दा लिम्बुवान मुक्ति मोर्चाको वास्तविक मर्म र भावनाहरू जनताले राम्ररी बुझेको पाइएन । २०४३ सालदेखि सङ्घर्षरत लिम्बुवान मुक्ति मोर्चाभन्दा श्री कुमार लिङ्देनको भर्खरै स्थापना भएको ‘लिम्बुवान राज्य परिषद्’ले समानुपातिक र प्रत्यक्ष मतमा धेरै ल्याइदिए । जनताको बुझाइमा लिम्बुवान मुक्ति मोर्चाभन्दा लिम्बुवान राज्य परिषद् नै केही प्रभावी हो भन्ने थाहा पाए । ‘लिम्बुवान राज्य परिषद्’को तर्फबाट संविधान लेख्नका लागि एकजना समानुपातिक सभाषद् प्राप्त गरेका थिए । अब राजनैतिक धर्मसङ्कट लिम्बुवान मुक्ति मोर्चा र श्री वीर नेम्बाङ्लाई आउन थाले किनभने श्री वीर नेम्बाङ भनेको नेपालकै प्रान्तीय पिता थिए र वहाँलाई लिम्बुवान जन्य राजनैतिक सङ्गठनले सर्वमान्य नै मान्नुपर्दछ भन्ने थियो ।

अब त्यसो हुन सकेन र लिम्बुवान मुक्ति मोर्चाले संविधान लेख्न अवसर पनि पाउन सकेन । हुँदाहुँदै लिम्बुवान जन्य राजनैतिक दलहरू कहिले मिल्ने, कहिले फुट्ने र कहिले के के हुने पराकाष्ठा झेल्दै जानुप¥यो र अन्ततोगत्वा प्वाट्ट प्वाट्ट फुटेर कहिले जोड्न नसक्ने गरी कुमालेको माटाको भाँडा झैं फुटिदिए, यही हो धर्मसङ्कटमा लिम्बुवान भनेको । अब राजनैतिक अस्तित्वमा आउन लिम्बुवान मुक्ति मोर्चा र वीर नेम्बाङलाई नैतिक गारोमात्र होइन असामयिक एक्लो भइदिए, आफ्नै समूह र दलहरूबाट ।

श्री वीर नेम्बाङ पञ्चायतकालमा याक्थुङ् भाषाको रात्री पाठशाला ‘फक्ताङ्लुङ् निसामहिम’ खोलाएर पढाए बापत र किपट नापी गरेको विरुद्धमा बोले वापत जेल बस्ने एक्लो वृहस्पति सावित भए भने तिनै जर्जरकाल खण्डमा लिम्बुवान मुक्ति मोर्चा गठन गरी भूमिगत राजनीति गर्ने अदम्य साहस भएकाले फक्ताङ्लुङ् नै थिए, लिम्बुवानका लागि । अनि न म भन्छु उनी त नेपालकै प्रान्तीय पिता अथवा स्टेट फादर हुन् । राजनीतिकै कारणले गाउँको घर त्यागेर लामो समयसम्म भारतमा राजनैतिक निर्वासन बिताउने र जेल बस्ने व्यक्तित्व रहे तापनि हिजो साथदिनेहरूले लिम्बुवान खोज्ने अवस्थामा लात हानेर सदाका लागि तिलाञ्जली अर्पण गरिदिए ।

लिम्बुवानको माग राख्न समय नरहँदा बखत लिम्बुवान प्राप्ति हुन्छ भनेर कसमखाई साथ दिनेहरू अचेल लिम्बुवानको ‘ल’ समेत भन्न नरुचाउने राजनैतिक दलहरूमा सर्पले भ्यागुत्ता निलेझैं सर्लक्क निलिएर पसेका छन्, दलीय उपभोगका लागि । कुन बेला विष्टा भएर माटोमा फालिन्छन् त्यसबेला मात्रै लिम्बुवानको असली अनुहारमा देखिन्छन् होला । अहिले ‘लिम्बुवान चाहिन्छ’ भनेर अधिकांश चिन्तन र आवाज उठिरहेको बेला लिम्बुवान त्याग्ने अनि असमयमा लिम्बुवान कि लिम्बुवान भनी खोज्ने मानसिकता भनेको अचेत मनोग्रन्थी मात्र हो या होइन बुझ्नु बाँकी छ ।

तथापि लिम्बुवान मुक्ति आन्दोलन त्याग्ने अथवा श्री वीर नेम्बाङ् (प्रान्तीय पिता) लाई साथ छोड्ने एकदुई जना महानुभावहरूले सामान्य राजनैतिक लाभ लिन सके र केही आमोदप्रमोदमा हुँइकिरहेका देखिन्छन् । सायद यही नै होला, असली लिम्बुवान मुक्ति र लिम्बुवान प्राप्ति । मेरो उत्सुक आँखाले हेर्न चाहिरहेको छ, त्यस बेलाको मनोग्रन्थीगत लिम्बुवानका आवाजहरू । साँच्चै भन्नुपर्दा प्रान्तीय पिता श्री वीर नेम्बाङको साथ त्यागेपछि र उनको करकमल छोडेपछि लिम्बुवानको ‘ल’ समेत भन्न पनि छोडे किनभने ती दलहरूमा लिम्बुवान भन्ने कुनै कार्यनीति, भावीयोजना र प्रदेश निर्माण देखिएको छैन, सङ्गठन र नामाकरणहरूमा ।

२०६८ सालनेरको लिम्बुवानको एकता अहिले २०७६ सालसम्म आइपुग्दा छियाछिया भएर छताछुल्ल भए, दुःखद ढङ्गले । यो अत्यन्तै असहज मानसिक विगठन र इतिहास मोल्ने काम लिम्बुवान मुक्ति मोर्चाकै हिजो वफादार गनिएका गाउँले नेता कार्यकर्ताहरूबाटै ऐतिहासिक धज्जी र बर्खिलाप भएका हुन् । हुन सक्छ, व्यक्तिको आआफ्नो राजनैतिक चाहना र स्वभाव भए पनि यसरी निमिट्यान्न हुनेगरी सत्ताकोपयोग गरेर अगाडि बढ्नु अऐतिहासिक हुनेछ किनकि हिजो तामापाथी छोई कसम खाएको वचनले मानसिक पीडा त निरन्तर दिइरहन्छ । स्खलित लिम्बुवानका नेता तथा कार्यकर्ताहरु कोहि काङ्ग्रेसमा लागेर कुनै एकको उपलब्धिका लागि साथ दिँदै सत्तामोहमा बग्दै गए भने कोही नेकपामा लागेर । वास्तवमा किन त्यहाँ लागे त ? भन्ने प्रश्न गम्भीर हुन सक्छ, लिम्बुवान मुक्ति मोर्चाका लागि । हुनु त यस्तै अवचेतन, अबौद्धिकता र अज्ञानका कारणले थुप्रै समय, अवसर र मौकाहरू नगुमेको होइनन् लिम्बुवानी इतिहासमा ।

यसरी गुम्दागुम्दै बाँकीको रूपमा रहेका अवशेषलाई अन्तमा गतिलै झाप्पड हाने, चोट कसैलाई लागेन र दुखेन । त्यो अवशेष नेपालको राष्ट्रिय चिन्ह थियो, हटाएपछि सक्कि गो । किपटको कुरा त हराइ नै गयो । प्रदेश नं. १ गठन गर्दा १४ जिल्ला बनाएर लिम्बुवानलाई दीर्घकालीन छायाँमा राख्ने र दबावमा राख्ने दूरगामी सोचाइले बनाए । प्रदेश नं. १ लाई ‘लिम्बुवान’ नामाकरण केही गर्दा हुन सक्दैन किनकि खम्बुवान (किरात) समेत समावेश गराएपछि लिम्बुवान र खम्बुवान वीच प्रष्ट मत विभाजन गरेर, दाजुभाइ फुटाएर अन्य नाम तोक्नमा पूर्वतयारी नै हो । यसक्रममा लिम्बुवानवालाले लिम्बुवान र खम्बुवान या किरातवालाहरूले खम्बुवान या किरात मनोग्रन्थीमा एकोहो¥याएपछि राजनैतिक कोपभाजन अनिवार्य हुने नै छ । राजनैतिक दूरगामी चिन्तन हामीमा छैन, व्यक्तिगत दोषादोष गर्ने, फुटिरहने, टुक्रिरहने र आँखी गरिरहने वर्गमा पर्दछौं । सकभर मिलेर प्रदेशको नामाकरण राख्न लिम्बुवान र खम्बुवान (किरात) एकता हुनु जरुरी छ ।

यसर्थ मानसिक चिरा बनाएर सदियौं पछिसम्म लिम्बुवानको अवशेष उठ्न नदिने गरी ठूलो राजनैतिक खेल भएको छ र हुँदै पनि छ । दुःखका साथ भन्नुपर्छ कि सातसाल, अठारसाल र ०६२ र ०६३ सालको जनआन्दोलनले उठाएको ‘लिम्बुवान’ मर्म र भावना लिम्बुवानी मित्रहरूको कारणले मर्म च्यात्तिएको छ अब सिलाउन निक्कै गारो छ । तथापि, लिम्बुवान आन्दोलन जारी छ र रहनेछ । जसले तामापाथी छोएको कसम त्याग्यो, लिम्बुवानको मर्म र भावनाले दण्ड देला, घुमीफिरी जो यथावत् रह्यो उनको एकदिन लिम्बुवानी फूलमालाले स्वागत गर्देला, वीर नेम्बाङ( जिन्दावाद, लिम्बुवान – जिन्दावाद भन्ने ताँतमा ।
धन्यवाद ।