दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कोही पनि नागरिक भोकै बस्नु नपर्ने बताएका छन् । आइतबार झापाको दमकका विभिन्न विकास आयोजनाहरूको उद्घाटन तथा शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब कोही पनि नेपालीले खान पाइनँ भन्ने अवस्था नरहेको बताएका हुन् । ‘चरा, किरा फट्याङ्ग्रा त वन जङ्गलमा चरेर अघाउँछ भने नेपालमा कोही पनि भोकै मर्दैन’ प्रधानमन्त्रीले भने, ‘नेपाल उर्वर भूमि हो, यो भूमिका कोही पनि नागरिक भोकै बस्नु भनेको सरकार लाचार हुनु हो । यो सरकार जनताको सरकार भएकोले नागरिकका सामान्यभन्दा सामान्य समस्यामा पनि गम्भीर हुन्छ ।’ सरकारले २ लाख रुपैयाँको चामल खरिद गरेर मौज्दात गरेर राखेको र कुनै पनि ठाउँका नागरिकलाई खानमा समस्या भए तत्कालै राहत प्रदान गरिने उनले बताए ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अब नेपालमा कसैले पनि गरिब सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्नु नपर्ने बताएका छन् । गृहनगर झापाको दमकमा आइतबार आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी भएपछि दमकस्थित बेलडाँगी खेलमैदानमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रम ओलीले उक्त कुरा बताएका हुन् । पछिल्लो समय सुकुम्बासीका नाममा विभिन्न व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गर्नाले ठूलो समस्या आएको भन्दै यसलाई निर्मूल पार्नुपर्ने धारणा प्रम ओलीले राखेका थिए ।

अब सम्पूर्ण नेपाली जनताको जिम्मा सरकारले लिने बताउँदै कोही पनि नागरिकले गरिब र सकुम्बासी भएँ भनेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने समय गएको बताए । अब जालझेल गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउने ठूला–ठूला ठगहरू धमाधम पक्राउ पर्न थालेको बताए । प्रम ओलीले भने, ‘लामो समयसम्म विभिन्न जालझेल गरेर झुक्याएर लालपुर्जा हात पारेपछि जग्गा मेरो भयो भनेर ढुक्क पर्ने समय अब गएको छ ।’

अब नेपालमा स्थायी रूपमा भूउपयोग नीति ल्याएको छ । सरकारले कानून विपरीत काम गर्ने कसैलाई पनि छुट नदिनेमा उनले जोड दिए । ‘घर नहुनेलाई सरकारले घर निर्माण गरिदिन्छ । काम नहुनेलाई काम र खान नपाउनेलाई खान सरकारले दिन्छ । देशका कुनै पनि नागरिकले हात पसारेर मागेर सडकमा हिँड्नु पर्दैन । गरिब नागरिकले कहाँ बस्नु भनेर पुर्पुरोमा हात राखेर बस्नु पर्दैन’–प्रम ओलीले भने ।

प्रम ओलीले घरविहीनका लागि देशैभरि ८ सय ९९ घर निर्माण गरेर वितरण गरेको बताए । जनता आवास कार्यक्रमअन्तर्गत घरविहीन नागरिकलाई घर दिने व्यवस्था मिलाइएको बताउँदै प्रम ओलीले जनताको सरकार गठन भएको हुँदा कुनै पनि नेपालीले खुल्ला आकासमुनी चिसो भूइँमा सुत्नु नपर्नेमा जोड दिए ।

उनले अब अहिलेसम्म गैह्रकानूनी रूपमा अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरे । गृहनगर आएका प्रम ओलीले नेपालमा कानूनी शासनको प्रत्याभूत जनताले विस्तारै गर्दै जानथालेको पनि बताए । नेपालको इतिहासमै पहिलो पटक सभामुख, पूर्वमन्त्री तथा उच्चपदस्थ अधिकारीहरू कानूनविपरीत काम गरेकोमा अहिले धमाधम सजाय भोगिरहेको उनले बताए ।

सरकार ठूला योजनाहरू रेल, विद्युत् विस्तार र पानीजहाजका मात्र होइन, जनताका दैनिक जीवन निर्वाह गर्ने साना–साना विषयमा समेत गम्भीर रहेको उनले बताए । केही वर्ष अघिसम्म प्रत्येक हिउँदमा चिसो शीतलहरले दर्जनौं मानिस कठ्याङ्ग्रिएर मृत्यु भएका समाचार आउने गरेका थिए । त्यसैलाई मध्यनजर गर्दै स्थानीय तहमार्फत् विपन्नलाई न्यानो कपडा वितरण अभियान नै सञ्चालन गरियो । जसको परिणामस्वरूप चिसोबाट कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्यालाई लगभग शून्यतिर झारिएको प्रम ओलीले बताए ।

देश अब धमाधम विकासको बाटोमा अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले पहिला आफूले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा हिँड्दा गाडीमा फरुवा बोकेर हिँडेको स्मरण गर्दै छोटो समयमा सरकारले अपत्यारिलो रूपमा तीव्र गतिले विकास गरेको दाबी गरे । उनले भने, ‘यो सरकारले एक आर्थिक वर्षमा देशभरिमा ३ हजार किलोमिटर सडक कालापत्रे गरेको छ, २ सय ३५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।’

नेपालमा १ सय वर्षअघि दक्षिण एशियामा नै सबैभन्दा पहिला विद्युत् उत्पादन गरेको स्मरण गर्दै प्रम ओलीले अहिले ८८ प्रतिशत जनता विद्युत् उपभोगको पहुँचमा पुगेको बताए । सरकारले यो कामको गति निरन्तर अघि बढाउने विश्वास व्यक्त गर्दै नेपालजस्तो उर्वरभूमिमा धेरै जग्गा बाँझो राखेर काम पाइनँ भन्ने अवस्था आउन नहुने उनले बताए ।

प्रधानमन्त्री ओलीले एक फरक प्रसङ्गमा भुटानी शरणार्थीहरूलाई नेपालीभाषी भएकै कारण भूटानबाट त्यहाँको सरकारले लखेट्यो । उनीहरूले बीसौँ वर्षसम्म खोलाका बगर र साँघुरो शिविरमा कष्टपूर्ण जीवन बिताउनु प¥यो । भुटान आफ्ना नागरिक लान तयार भएन । तत्कालका लागि आफ्नै पहलमा अमेरिकालगायत तेस्रो मुलुकमा पुनर्वासमा जाने विकल्प अघि बढाएको बताए । अहिले अमेरिकामा शरणार्थीहरूले त्यहाँका नागरिकसरह उच्चकोटीको जीवन निर्वाह गरिरहेको बताउँदै प्रम ओलीले स्वदेश फर्कन अब त्यो देशबाट उनीहरू आफू बलियो भए भने अझै प्रयास गर्दा सकिने जनाए ।

आइतबार दिनभर गृहनगर दमकमा व्यस्त रहेका प्रधानमन्त्री ओलीले दमक–४ स्थित कृष्ण मन्दिर–बेलडाँगी सडक र झापा–मोरङको सिमानामा रहेको मावा पुलको उद्घाटन गरे । ६.६२१ किलोमिटर लामो सडक कालोपत्रे भएर उद्घाटन गरिएको हो भने २ सय ५० मिटर लामो दमक–मधुमल्ला पुल प्रधानमन्त्रीले नै अघिल्लो कार्यकालमा शिलान्यास गरी हाल उद्घाटन गरेका हुन् । त्यसैगरी ३ चरणमा कालोपत्रेको ठेक्का लागेको दमक–चिसापानी सडकको कालोपत्रे निर्माणका लागि प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । ३२ दशमलव ८५ किलोमिटर लामो सो सडक कालोपत्रे हुनेछ ।

यो सडकले नेपाललाई भारत र चीनसँग जोड्ने भएकोले देशकै गौरवको योजनाका रूपमा लिइएको बताइएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले दमक–१ मा विपन्न नागरिकका लागि निर्माण गरिएका २३ वटा विपन्न आवास भवनको समेत चाबी हस्तान्तरण गरे । ५ वटा विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आइतबारै चन्द्रगढी विमानस्थलबाट काठमाडौं फर्केका छन् । कार्यक्रममा उनीसँगै भौतिक तथा पूर्वाधार विकासमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित अन्य सबै मन्त्री, संविधान सभाका पूर्वसभामुख सुवास नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।