भद्रपुर / झापामा बालुवा र ढुङ्गा प्रशोधन गर्ने उद्योगले आवश्यक मापदण्ड पूरा नगरी गैरकानुनी रुपमा उद्योग सञ्चालन गरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा झापाका बालुवा र ढुङ्गा प्रशोधन गर्ने उद्योगको अनुगमन गर्दा नियम बिपरित उद्योग सञ्चालन भएको पाइएको हो ।
अनुगमनको क्रममा बालुवाको लाइसन्स लिएर ढुङ्गा उत्खनन् गर्दै आएको साथै एउटा उद्योग दर्ता बिना सञ्चालित र दर्ता भएका अधिकांश उद्योग नविकरण नभएको भेटिएका थिए ।
जिल्लामा क्रसरसहित २७ वटा उद्योग मध्ये १८ वटाको अनुगमन गर्दा अधिकांश कानुन बिपरित सञ्चालित भएको पाइएको उनले बताए ।
जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा बुधबार पत्रकार सम्मेलनमा समन्वय प्रमुख पोर्तेलले ७ वटा क्रसर उद्योग सञ्चालित छन् भने ५ वटाले अनुमती लिएपनि सञ्चालनमा नआएको बताए ।
कञ्चनजङ्घा क्रसर उद्योग बिर्तामोड, राजधानी क्रसर इन्डष्ट्रिज मेचीनगर, कनकाईमाई क्रसर उद्योग बुद्धशान्ति र अर्जुनधाराका जयकाली भगवती रोडा उद्योग, मङ्गलश्री क्रसर उद्योग, जय घटाल रोडा उद्योग र पाथीभरा एग्रिगेट इन्डिष्ट्रिज नवीकरण बिनानै सञ्चालन भइरहेको समितिले फेला पारेको थियो ।
समितिले गरेको अनुगमनमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा चितवनको कुमार आषिस जेभि निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको छ । गाउँपालिकाले बिर्ता मूलपानी सिंचाई आयोजनाका लागि बालुवा धुने कार्यको अनुमती दिएपनि निर्माण कम्पनीले क्रसर उद्योग सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि अनुमती दिन पाउँदैन । बुद्धशान्ति गाउँपालिकाको २०७६ बैसाख ३१ गतेको बोर्ड निर्णयले कुमार आषिस जेभिलाई बालुवा धुने अनुमती दिएको हो । तर जेभिले अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको समन्वय प्रमुख पोर्तेलले बताए ।
यसैगरी बालुवा उत्खनन् तथा प्रसोधन गर्ने अनुमती पाएका सयपत्री बालुवा उद्योग अर्जुनधारा, एनआरआरएन कङ्क्रिट उद्योग दमक र जेपी बालुवा प्रशोधन उद्योग गौरादहले क्रसर उद्योग सञ्चालन गर्दै आइरहेको फेला परेको छ ।
प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड बिपरित स्थानीय सरकारले कर निर्धारण गर्ने र उद्योगले नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेका छन् । बुद्धशान्ति गाउँपालिकाले प्रदेश सरकारले निर्धारण करेको भन्दा न्युन कर सङ्कलन गरेको र मूल्य अभिवृद्धि कर भ्याट नलिइ नदीजन्य पदार्थ निकासी गर्न दिएको अनुगमनमा पाइएको प्रमुख पोर्तेलले बताए ।
नदीजन्य पदार्थ ढङ्गा, गिट्टी, बालुवा बातावरणीय परीक्षण नगरी उत्खनन् गरिएको र कुन ठाउँबाट कति परिणाम उत्खनन् भयो भन्ने तथ्याङ्क उद्योगसँग नभएको पोर्तेलले बताए । उनले उद्योगले कति सामग्री उत्खनन् गरे र कति स्टकमा छ भन्ने पनि तथ्याङ्क नराखेको उनले बताए ।
नदी किनारका व्यक्तिगत जग्गामा पोखरी खन्ने बहानामा नदीजन्य सामग्री उत्खनन् गरिएको अनुगमनमा फेला परेको समन्वय उपप्रमुख मिना पराजुलीले बताइन् । २०७२ सालदेखि कुनैपनि क्रसर उद्योगहरु नविकरण नभएको पाइएको पराजुलीले बताइन् । अनुमगन समितिले मेचीनगरको तिरिङ क्षेत्रमा घाटगद्धी गरिएको ढुङ्गा जफत गरी लिलाम गर्न मेचीनगर पालिकालाई अनरोध गरेको उनले सुनाइन् ।
माघ १० गते वसेको वैठकले उद्योग अधिकृत छविलाल खतिवडाको संयोजकत्वमा क्रसर अनुगमन कार्यदल गठन गरेको थियो । गठित समितिले अनुगमनपश्चात मङ्गलबार (माघ२१)मा जिल्ला समन्वय समितिको वैठकमा प्रतिवेदन पेश गरेको थियो ।
प्रमुख संयोजक रहेको अनुगमन समितिमा उपप्रमुख, पमुख जिल्ला अधिकारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय अधिकारी, बन कार्यालय प्रमुख र एक जना इन्जिनियर सदस्य रहने प्रावधान रहेको छ ।