विराटनगर/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा प्रदेश १ प्रदेशसभा सदस्य मोरङ धनपालथान गाउँपालिका–६ की गुलेफुन खातुनसहित तीन जनालाई अदालतले कैद सजाय र जरिबानाको फैसला सुनाएपछि फरार भएकी छन् ।

सांसद् खातुनलाई सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत माेरङले गरेकाे फैसलालार्इ सदर गर्दै उच्चअदालत विराटनगरले १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको फैसला गरेपछि फरार भएकी हुन् । खातुनलाई प्रहरीले मुद्दा चलाउँदा २४ वर्षकी थिइन् ।

खातुनलाई तत्कालीन एमालेबाट सामानुपातिक प्रदेशसभा सदस्य बनाएको थियो । प्रहरीले पक्राउ गर्ने भयले गत बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा खातुन मतदान गर्नसमेत आएकी थिइनन् । नेकपा प्रदेश १ समितिले सबै मतदाता प्रतिनिधिलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरे पनि प्रहरीले पक्राउ गर्ने भयका कारण खातुन मतदानस्थलमा आउन नसकेकी हुन् । अदालतले खातुनविरुद्ध कसूर ठहर गरेपछि प्रहरीले उनलार्इ फरार सूचीमा राखेको छ ।

अदालतले दोषी ठहर गरेको प्रतिवादी खोज्न प्रहरी लागिपरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए । अदालतले दोषी ठहर गरेको प्रतिवादीलाई पक्रन प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको उनले बताए । मोही हकको ११० कित्ता नम्बर भएको ७ हजार २ सय ८० वर्गमिटरको जग्गा आफ्नो नाममा बनाउन प्रदेशसभा सदस्य खातुनसहित साविकको कदमाहा गाविसको खरिदारसहित चार जना मिलेर सरकारी छाप र दस्तखत कीर्ते गरेको आरोप थियो ।

ससुरा सेकछेका मियाँ ०६३ माघ २४ मा र सासूआमा खैरुन मियाँको ०६५ मङ्सिर १२ गते मृत्यु भएपछि खातुन मोही हकको उक्त जग्गा आफ्नो नाममा बनाउन लागिपरेकी थिइन् । ०७३ असार ४ गते पक्राउ परेकी खातुन र उनका श्रीमान् शेख सिलावर मियाँलाई मोरङ प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि ०७३ असार २८ गते खातुनसहित चार जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘सरकारी छाप, दस्तखत कीर्ते’ मुद्दा दर्ता गरेको थियो । यो मुद्दामा तत्कालीन कदमाहा गाविसका खरिदार धनपालथान गाउँपालिका –७ का ३६ वर्षीय दीपचन्दकुमार मण्डल, कार्यालय सहयोगी कटहरी गापा–४ का ४८ वर्षीय विजयकुमार कामत, खातुन र शेख सिलावरलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । जसमध्ये खरिदार मण्डल र कास कामतलाई फरार प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गरिएको थियो ।

थुनछेक बहसपछि मोरङ अदालतले ०७३ असार २९ गतेको आदेशले खातुन र मियाँलाई जनही १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सोही दिन अदालतमा १२४३ को रसिद नम्बरबाट आदेशअनुसारको रकम बुझाएर उनीहरू रिहा भएका थिए । खातुन र मियाँ धरौटीमा छुटेको जानकारी पाएपछि कामत र मण्डल पनि ०७३ असार ३१ गते सुटुक्क अदालतमा उपस्थित भए । सोही दिन थुनछेक बहसपछि अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । उनीहरू पनि सोही दिन धरौटी रकम बुझाएर रिहा भएका थिए ।

तत्कालीन मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्विकाप्रसाद निरौलाको इजलासले २०७४ वैशाख ३१ गते खातुन र मियाँलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवनाको फैसला गरेका थिए । प्रहरीको अनुसन्धानको क्रममा उनीलाई २५ दिन हिरासतमा राखिसकेको कारणले ११ महिना ५ दिन कैद र ९ हजार ९ सय ५० रुपैयाँ जरिवना रहेको छ । यस्तै मण्डल र कामतलाई अदालतले ३ वर्ष कैद र ५० रुपैयाँ जरिबानाको फैसला गरेको छ ।

मोरङ अदालतले गरेको फैसला चित्त नबुझेपछि खातुनसहित चार जनाले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र यमुना भट्टराईको संयुक्त इजलासले ६ पुसमा गरेको फैसलाले खातुनसहित तीन जनाविरुद्ध जिल्लाको फैसलालाई सदर गर्दै जरिबाना वृद्धि गरेको छ । खातुन, मण्डल र कामतलाई कैद सजाय जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ भने ४३ हजार ७ सय ५० रुपैयाँ जरिबानाको फैसला गरेको उच्च अदालत विराटनगरका उप–रजिष्ट्रार विश्वजङ सिजापतीले जानकारी दिए । उच्च अदालतले खातुनका श्रीमान् मियाँलाई सफाइ दिएको छ ।