इटहरी/ ओरियन्स नेटवर्किङ कम्पनीका एजेण्टहरूले पूर्वी नेपालका नेपाली युवायुवतीहरूलाई विभिन्न प्रलोभन देखाउँदै ठग्दै आएको खुलासा भएको छ ।

इटहरी आसपासबाट समेत २ सयभन्दा बढी युवायुवती भारततर्फ लैजाने गरेको पाइएको छ । औषधि बेच्ने बहानामा निकै ठूलो मात्रामा पैसा असुलिरहेको भए पनि सम्बन्धित निकाय मौन छन् ।

इटहरी तरहरा घर भएका एक युवाले आफू नराम्रोसँग ठगिएको बताए । साथीहरूको करकापमा यो व्यवसायमा लागेको बताउने उनी अहिले पनि तरहरा, पञ्चायन, भरौल र इटहरी क्षेत्रमा सयौंको सङ्ख्यामा लुकिछिपी अवैध धन्दा भइरहेको बताउँछन् । अहिले पनि यो सञ्जाल विस्तार गर्ने क्रम तीव्र रहेको उनको भनाइ थियो ।

व्यापारमार्फत् रातारात धनी हुने सपना देखाएर प्रलोभनमा पारी भारत लैजाने गरेको पाइएको छ । एक पटक भारत पु¥याएपछि एजेण्ट बनाउँदै लैजाने गरेको उनको भनाइ छ । पञ्चायन घर भएकी एक महिलाले आफूहरूलाई आफ्नै साथीभाइले डुबाएको बताइन् । ‘अहिले मलाई निल्नु न ओकल्नु भएको छ’ उनले दुखेसो गर्दै भनिन्, ‘आफन्तहरूले नै डुबाए भनौं भने के भनौं ।’

जागिर लगाइदिने प्रलोभन देखाउँदै एजेण्टहरूले भारतको दार्जिलिङमा पुगेर तालिम लिनुपर्ने नाममा सिलिगुडीमा पु¥याउने उनले बताइन् । त्यहाँका १० भन्दा बढी स्थानमा तालिम केन्द्र र छात्रावास खडा गरिएको उनको भनाइ छ । ‘बिहान राति नै उठाएर तालिममा लैजान्छन् र ठूला–ठूला सपना देखाएर नेपालमा सदस्य बढाउन लगाउँछन्’ –पीडित उनीहरूले भने । विभिन्न बहाना गर्दै ग्रुपमा सिलिगुडी जानेको सङ्ख्यासमेत बढेको उनीहरूको भनाइ छ ।

यता इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले ओरियन्सको धन्दाको विषयमा प्रहरी चनाखो भएको प्रतिक्रिया दिए । इटहरी क्षेत्रबाट पनि सर्वसाधारणहरू जाँदैछन् भनेपछि उनीहरूको खोजी कार्य शुरु भएको इन्स्पेक्टर श्रेष्ठको भनाइ छ । सर्वसाधारणको लाखौं रुपैयाँ ठगी गरेको प्रहरी बताउँछ । इटहरीमा अवैधानिक धन्दा चलाउने प्रेम खतिवडालाई प्रहरीले केही समयअघि पक्राउ गरिसकेको छ । त्यस्तै इटहरी–८ बस्ने रोहित कोइरालालाई पनि प्रहरीले पक्राउ ग¥यो ।

अवैध धन्दा गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले अहिलेसम्म तीनवटा मुद्दामा २६ जनालाई पक्राउ गरिसकेको छ । ‘अवैध धन्दा चलाएको भन्दै इटहरी क्षेत्रमा ओरियन्सको सदस्य बनाउँदै हिँड्नेहरूलाई पक्राउ गरेर मुद्दासमेत चलाए पनि अझै लुकिछिपी धन्दा चलाउँदै आएको भन्ने सुनेका छौं’ –इन्स्पेक्टर श्रेष्ठले भने । १५ लाख ६० हजार ४ सय ९९ रुपैयाँ ठगी गरेको उनीहरूलाई आरोप लागेको छ ।

यस्तो छ धन्दा...
भारतका केही राज्यमा कानूनी मान्यता पाएको ‘नेटवर्किङ’ व्यवसाय नेपालमा भने अवैध छ । ७ हजारदेखि १७ हजार रुपैयाँसम्म बुझाएर सदस्य बनेपछि पिरामिडशैलीमा त्यसको सञ्जाल विस्तार गरी औषधि बिक्री गर्ने गरिएको छ । ‘डाइमण्ड’ नाम दिइएका पदको आश्वासन दिई धेरै रकम तिर्नेलाई ठूलो पद दिने भन्दै १ लाख ५० हजारसम्म सदस्यता शुल्क लिने गरेका छन् ।

जटिल प्रकृतिका रोग निको पार्ने भन्दै देशभरका जिल्लामा ओरियन्स नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको पाइएको छ । ओरियन्स कम्पनी भारतको चेन्नईमा दर्ता रहेको सो नेटवर्किङमा सक्रियहरू बताउँछन् । ओरियन्सले एलोपेथिक चिकित्सा पद्धतिलाई चुनौति दिँदै व्यवसाय बढाइरहेको छ । ओरियन्समा सक्रिय रहेकाहरूले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई उत्पादन बिक्री गरेर मोटो रकम लिने गरेको ओरियन्सका उत्पादन प्रयोगकर्ताहरू गुनासो गर्छन् ।

आफूले सदस्य विस्तार गरेबापत बोनस प्राप्त गर्न सकिने भन्दै नागरिकसँग ओरियन्सले लाखौँको कारोबार गर्दै आएको छ । यस्तो कार्य पूर्वका जिल्लाहरूमा फष्टाएको छ । आफूले गरेको काम हेरी नाफा प्राप्त हुने प्रचारकहरू बताउँछन् । दिनानुदिन यो अभियानमा लाग्नेको सङ्ख्या बढेकाले यसबाट प्रभावित हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । ओरियन्सको गतिविधि र प्रक्रिया हेर्दा विगतको युनिटी नेटवर्किङ जस्तै छ । ओरियन्समा लागेकाहरूले नाम सार्वजनिक गर्न नचाहनुले पनि यो व्यवसाय गैरकानूनी छ भन्ने सङ्केत गर्छ ।