धरान । धरान–७ गोविन्द रोडका भवानीप्रसाद निरौला तब खङ्ग्रङ भए, जब १० दिनको बीचमा खानेपानीको दुई वटा फरक–फरक बिल प्राप्त गरे ।
निरौलाले दश दिनको बीचमा नेपाल खानेपानी संस्थान शाखा धरानको ५ सय ९५ रुपैयाँ र खानेपानी व्यवस्थापन बोर्डको ६ सय ७० रुपैयाँको बिल पाए । जबकी उनको धारामा संस्थानको पाइपलाइन काटेर बोर्डले पाइप जडान गरेको थियो । नियमतः आउनुपर्ने बोर्डको बिल हो । तर, संस्थानले पनि बिल थमाइदिएपछि उनी अहिले अलमलमा परेका छन् । ‘कुन बिल चाहिँ तिर्नुपर्ने हो, संस्थान भन्छ, दुईतिर तिर्नुपर्दैन, संस्थानलाई तिरे पुग्छ, बोर्ड भन्छ, अब संस्थानलाई बुझाउनु पर्दैन । बोर्डलाई नै बुझाउने हो’ उनी भन्छन्, ‘कसका कुरा सुन्ने हामीले ?’ यो समस्या निरौला एक्लोको मात्र होइन, गोविन्द रोडलगायत अन्य मार्गमा पनि यो समस्या व्याप्त छ । ‘जहाँ बोर्डको धारा जडान छ, त्यहाँ संस्थानको बिल पनि आएको छ, जहाँ संस्थानको धारा जडान छ, त्यहाँ बोर्डले पनि बिल थमाएको छ’–धरान–७ गोविन्द रोड टोल विकास संस्थाका अध्यक्ष धर्मराज तिम्सिना भन्छन् ।
उनका अनुसार यस समस्याका बारेमा ७ नम्बरका वडाध्यक्ष जीवन सुवेदीलाई जानकारी गराए पनि निकास आएको छैन । ‘वडाध्यक्षलाई भन्दा नगरपालिकाले बोर्डलाई तिर्ने भनेको छ भनेर जवाफ दिनुहुन्छ । त्यसो हो भने नपाले लिखित निर्देशन गरोस् न त, हामीलाई पनि त्यही अनुसारको जानकारी होस्, जनतालाई हामी बुझाउँछौं भनेर भनेको छ’–उनले भने । गोविन्द रोडकै भूमिनन्द सुवेदीले पनि दुई महिनादेखि यो समस्या भोग्दै आएको बताए । ‘एडिबीको पाइपलाइन जोडेको छ, बिलचाहिँ दुइटैले पठाउँछ, पानी भने आउँदैन’ सुवेदीले भने, ‘संस्थानले भन्छ, बिल तिर्नुभएन भने फाइनमा पर्नुहुन्छ भनेर जवाफ दिन्छ ।
हामीले के गर्ने ?’ उनले थपे, ‘तिर्ने कता त्यो चाहिँ भनिदिनुप¥यो ।’ यस्तै समस्या भोगिरहेका सोही रोडका काजी गिरीले भने, ‘पाइपलाइन जोड्ने बेलामा तपाईंहरूले संस्थानको खाने कि बोर्डको खाने भनेर सोध्नु पर्दैन ?’ उनका अनुसार गोविन्द रोडबासीले आफ्नो लगानीमा ३ सय मिटर पाइपलाइन जडान गरेका छन् । ‘त्यो सम्पत्ति नोक्सानी भयो, त्यो कसले बेहोर्ने ?’–उनले भने । संस्थान र बोर्डको शीतयुद्धका कारण अहिले धेरै वडामा यो समस्या व्याप्त रहेको छ । कतिपय वडाहरूमा यो समस्या हल भइसकेको छ । यस विषयमा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख इञ्जिनियर राजु पोखरेलले जुन–जुन क्षेत्रमा बोर्डले पानी छाडेको छ, त्यही क्षेत्रमा मात्रै बिल पठाएको दाबी गरे ।
उनका अनुसार कतिपय संस्थानको पाइपलाइनमा पनि बोर्डले पानी पठाएकाले त्यो हकमा बोर्डकै बिल जाने गरेको छ । अपवादमा त्यस्तो भएको रहेछ भने जसको पानी खाएको हो, उसैको बिल मात्रै तिर्नुपर्ने उनले बताए । ‘हामीले पानी छाडेको हो भने हाम्रो बिल तिर्नुपर्छ, हामीले नछाडेको क्षेत्रमा बिल गएको छ भने म आजै रेक्टीफाइ गर्छु र त्यस्ता बिल फिर्ता हुन्छ’ उनले भने, ‘कहीँ–कहीँ कर्मचारीले नजानेर त्यस्तो पनि भएको हुनसक्छ ।’ यही विषयमा खानेपानी संस्थानका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठलाई बारम्बार फोन सम्पर्क गरी बुझ्ने प्रयास गर्दा पनि फोन उठाएनन् ।
खानेपानी संस्थानमा सोमबारै धरान–९ नम्बर वडाबासीले खानेपानी माग्दै आन्दोलन गरेका थिए । कार्यालयअगाडि धर्ना दिएर उनीहरूले आन्दोलन गरेका थिए । वडाध्यक्ष तथा खानेपानी मागका लागि बनेको सङ्घर्ष समितिका संयोजक रत्न कट्वालको नेतृत्वमा टोली संस्थान पुगेको थियो । त्यसक्रममा कार्यालय परिसर तनावपूर्ण बनेको थियो ।