भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–४ चकचकीकी २७ वर्षीया ईस्रप खातुन र बिर्तामोड–२ रामचोकका २२ वर्षीय विकास टुडु रहेका छन्। ईस्रप खातुन लालबहादुर गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन्।
डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार दिउँसो करिब १२ बजे लागूऔषध ब्युरो इकाई काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले बिर्तामोड–२ रामचोकस्थित खातुनको कोठाबाट ती गोलीहरू बरामद गरेको हो।
बरामद सामानमा एसएलआरका ३८ राउण्ड, इन्सासका १६ राउण्ड, काँसको थाल १ थान, करुवा १ थान, पित्तलको गिलास १ थान र प्रहरी बुट १ जोर रहेका छन्।
प्रहरीका अनुसार उक्त गोलीहरू भदौ २४ गतेको जेनजी आन्दोलन का क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका हुन्। घटनामा संलग्न विकास टुडुलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
यसअघि पनि गत कात्तिक १९ गते जेनजी आन्दोलनकै क्रममा लुटिएको एक थान इन्सास हतियार र त्यसको गोली बिर्तामोड–६ सुगम शान्ति टोलनजिकैको झाडीबाट फेला परेको थियो। ती हतियारमा ०३११००८७२ नम्बरको इन्सास रायफल, म्याग्जिन १ थान, १९ सावुत र २ बेसावुत राउण्ड फेला परेका थिए।
डिएसपी खड्काका अनुसार इलाका प्रहरी कार्यालय दमक र बिर्तामोडबाट लुटिएका २२ थान हतियार अझै वेपत्ता रहेको र ती फेला पार्ने प्रयास भइरहेको छ।
































