सिरहा/ विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकताको प्रमाण–पत्र हेरेर मात्र काम गर्न सिरहाका पण्डित तथा मौलाना सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डित तथा मौलानाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराइदिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाण–पत्र हेरेर मात्र विवाहको काम गर्न पण्डित तथा मौलानाहरू सहमत भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनले भने, ‘वरबधुको जन्मदर्ता वा नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ, यदि यसो नगरिए कारबाही भोग्नुपर्नेछ ।’ पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन् ।

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदका घटना बढ्दै गए पछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गर्छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित तथा मौलाना बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न यस्तो अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी चतुर्वेदीले बताए ।

‘उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु प¥यो भनी बोलाए भने हामी जाँदैनौँ, उल्टै सम्झाएर पठाइदिने अभियानमा लाग्छौं’ वर्षौंदेखि पुरोहित्याइँको काम गर्दै आएका सिरहाका एक पुरोहितले भने, ‘प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलिदिएको छ, हामीले मात्र इमान्दारिता देखायौँ भने पनि बालविवाह निकै घट्छ ।’

जिल्लाका पुरोहित तथा मौलानाहरूको सहभागिता रहेको सो प्रशिक्षणमा बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो । प्रहरीले जिल्लामा आमा समूह र स्कुले विद्यार्थीलाई बालविवाहविरुद्ध प्रशिक्षण दिइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी चतुर्वेदीले जानकारी गराए ।

उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिबानाको कानूनी व्यवस्था छ । सिरहामा बालवविवाह न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमले काम गर्दैआए पनि ती सबै कार्यक्रम प्रभावहीन देखिएका थिए । ती संस्था सामाजिक रूपमा भन्दा राजनीतिक प्रभावमा काम गर्न थालेकाले प्रभावहीन भएको हो ।