रङ्गेली/ उदाउदो घाम जस्तो रातो फलाम माथि घन बजारिदा कस्तो सुनिन्छ । केही दिनदेखि सिङ्घिया पुलछेउ कटहरी–१ मा एकाविहानै यो आवाज शुरु हुन्छ । पुसे चिसोमा खुल्ला आकाश मुनि घन बजारी रहेको देख्न सकिन्छ । विहान देखि रातिसम्म ट्याङ–ट्याङ र टुङ–टुङ बजी रहन्छ यहाँ ।
रङ्गेली विराटनगर सडक छेउको खुल्ला आकास मुनि त्यसरी घन बजार्ने पाखुरा एक जनाको मात्र छैन । त्यहाँ एक दर्जन भट्टी (आरन) मा काम गर्ने समूह समूह नै छन् । त्यहाँ काम गर्ने र सामान किन्नेको सानो बजार नै लागेको हुन्छ । तत्तातो औजार किन्न पुग्ने थुप्रै हुन्छन् । त्यसरी तात्तातो औजार बनाएर बेच्ने स्थानीय होइनन् ।
भारतीय घुमन्ते लोहार हुन् । भारतको मध्यप्रदेश भोपालबाट आएका उनीहरूले विराटनगर रङ्गेली सडकको छेउ कटहरी–१ मा विभिन्न घरेलु औजार बनाएर बोचिरहेका छन् । उनीहरूले बञ्चरो,चुलेसी,दाउ, हतौडी, राबो, बसीला, छिनो लगायतका औजार बनाउने गरेका छन् ।
परिवारका सबै सदस्यसँगै ठाँउठाउँमा घुमेर औजार बनाउँदै बच्ने गरेको पप्पु लोहारले बताए । एक स्थानमा बढीमा २ महिनासम्म बस्ने गरेका छन् । यसरी नै आफ्नौ दैनिकी चलाउने गरेको पप्पुले बताए । ‘पिता पुर्खादेखि नै फलामको काम गर्दै आएका छौँ ।’ उनले भने ‘ यो कामबाटै जीवन गुजारा गर्दै आएका छौँ ।’ उनले नेपालको विभन्न ठाउँमा घुम्दै होलीसम्म सामान बनाउँदै बेच्ने गरेको बताए ।
उनीहरू एकै स्थानमा लामो समयसम्म भने नबस्ने गरेको बताउँछन् । जुनठाउँमा आरन बनाएर काम थाल्छन्, त्यहाँ हुने व्यापारले उनीहरूको बसाइलाई निर्धारण गर्छ । व्यापार ठिकै भइरहेकोले कटहरी–१ मा अझै केही दिन बस्ने बाबु लोहारले बताए । अहिले १५ सयदेखि २ हजारसम्म दैनिक व्यापार भइरहेको उनले बताए ।
बनाएका औजार ५ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गरेको उनले बताए । उनीहरूले औजार बनाउन आसपासका कवाडीबाट फलाम सङ्कलन गर्ने गरेका छन् । उनीहरूले त्यसरी बनाएको सामान बिक्री भइसके पछि अन्य ठाउँमा सर्ने गरेका छन् ।
कटहरी–१ मा फलामका औजार बनाएर बिक्री गर्ने घुमन्ते लोहारका ८ परिवार छन् । आफूहरूको जनसङ्ख्या ठूलो भए पनि कटहरीमा ८ परिवार रहेको उनीहरूले बताए । उनीहरू यसरी घुमन्ते तरिकाले औजार बनाएर बिक्री गर्दै हिंड्दा बालबालिका भने पढाइबाट बञ्चित हुने गरेका छन् । बाबुआमासँगै घुमेर हिँड्ने गरेको बालक बाबु लोहारले बताए । पढ्न पनि मन नलाग्ने गरेको उनले सुनाए ।