विराटनगर/ धनकुटा–४ पाख्रीबासकी ३१ वर्षीय जुना घिमिरे स्वरोजगार छिन् । दुई दशक अगाडि उनको खुटामा घाउ आएको थियो । उनले देब्रे खुटा घाउ बढ्दै गएपछि पाको र अस्पतालमा गएर शल्यक्रिया गरिन् । २०५६ सालदेखि जुना शारीरिक रूपमा अपाङ्ग भइन् र उनी वैशाखीको सहारामा हिंडडुल गर्नुपर्ने अवस्थामा पुगिन् ।

शारीरिक रूपमा अपाङ्गता भएकी जुनाले आत्मनिर्भर बन्ने प्रण गरिन् । घरेलु तथा साना उद्योगको सहयोगमा ०६० सालमा धनकुटामा एक महिनाको सीपमूलक तालिम लिइन् । तालिममा सिकेको सीप व्यवहारमा लागु गर्ने उद्देश्यले २०७० सालमा घरेलु ‘सल्लेपिर अपाङ्ग हस्तकला उद्योग’ दर्ता गरिन् । उद्योग दर्ता गरेकै सालदेखि हस्तकलाको सामाग्रीहरू उत्पादनमा लागि परिन् । उनले अहिले सल्लाको पातबाट उत्पादन हुने हस्तकलाका विभिन्न सामाग्री उत्पादन गरी बिक्री वितरण गर्दै आएकी छिन् ।

हस्तकलाको सामाग्री अहिले उनको आयस्रोतको दरिलो माध्यम बनेको छ । ‘धेरैले केही गर्न सक्दैन भन्थे, मलाई पनि हो जस्तै लाग्थ्यो । तर, जीवन यतिकै खेर फाल्नु पनि त भएन भन्ने सोचेर व्यवसाय शुरु गरेकी हुँ, अहिले राम्रो चलिरहेको छ, अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीको विराटनगरमा शुरु भएकोे प्रदर्शनीमा भेटिएकी जुनाले भनिन्, ‘अहिले सल्लेपिरबाट उत्पादन भएको हस्ताकलाको सामाग्रीको माग पनि उच्च छ ।’

स्थानीय स्तरमा पाइने सल्लेपिरबाट टि–म्याट, गमला, घैला, करुवा, ठेकी, पिँजडा तथा अन्य विभिन्न हस्तकलाका सामग्रीहरू उत्पादन गर्दै आएकी छिन् । ८० रुपैयाँदेखि ५ हजार रुपैयाँ मूल्य पर्ने हस्तकलाको सामाग्री उत्पादन गरिने गरेको जुनाले बताइन् । ‘सल्लेपिरबाट उत्पादन भएको हस्तकलाका सामग्रीहरू लिएर प्रर्दशनीमा देशभरि पुगिसकँे,’ उनले ब्लाष्टसँग गफिदै भनिन्, ‘धेरै ठाउँमा पुगेर प्रर्दशनीमा उत्कृष्ट पनि भएको छु ।’ गत वर्ष धनकुटामा भएको हस्तकलाको सामाग्रीको प्रर्दशनीमा प्रथम भएको उनले बताइन् ।

सल्लेपिरबाट बनाएको हस्तकलाको सामाग्री आकर्षक देखिने भएकोले बिक्री पनि हुने गरेको उनले सुनाइन् । ‘अर्डर अनुसार सल्लेपिरबाट हस्तकलाको सामग्री बनाउने गरेको छु,’ उनले भनिन्, ‘अहिलेसम्म सल्लाको पातबाट बनाएको भित्ते घडी, गमला, करुवालगायतको माग बढी आउने गरेको छ ।’ मासिक ३०÷४० हजार रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिइन् । ‘धेरै बिक्री भएको महिना राम्रो आम्दनी पनि हुन्छ । कुनै महिना कम पनि बिक्री हुन्छ । औसतमा पनि ३० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।’

मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ पुष्पाञ्जली चौकका दुर्गानाथ योगी दृष्टिविहीन भएका व्यक्ति हुन् । उनी छडीको सहारामा हिंडडुल गर्दछन् । बाँसको मुढा र अगरबत्ती बनाएर दुर्गानाथले राम्रो आम्दानी गर्न थालेका छन् । नेत्रहिन सङ्घ बेलकारीको आयोजनामा सीपमूलक तालिम लिएपछि २०६३ सालदेखि मुढा र अगरबत्तीको व्यापारबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । ६ जनाको परिवार मुढा बुनेर पालेको उनले सुनाए । उनका तीन छोरा, १ छोरी र श्रीमती रहेका छन् । जेठी छोरी १३ वर्षीय अपेक्षा, ११ वर्षीय जेठा छोरा साजन र ९ वर्षीय प्रवेशलाई पनि मुढा बनाएर पठनपाठन गराउँदै आएका छन् ।

‘मासिक ८० देखि १ सयवटा मुढा उत्पादन गर्दै आएको छु,’ अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीको प्रदर्शनीमा भेटिएका दुर्गानाथले भने, ‘आफ्नै हातले बनाएको मुढा २ सय ५० रुपैयाँले बिक्री गर्दै छु ।’ कुचो र अगरबत्ती अडर अनुसार बनाउने गरेको उनले बताए । अगरबती उनले ५० र १ सय रुपैयाँको प्याकेटको बनाएका छन् । खर्च कटाएर मासिक १७ देखि २० हजार रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिए । उनीजस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई मुढा तथा अन्य सीपमूलक तालिम पनि दिँदै आएको दुर्गानाथले सुनाए ।

जुना घिमिरे र दुर्गानाथ योगी यो समाजका प्रतिनिधि पात्र मात्रै हुन् । शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि आफूले सक्ने काम गरेर यही समाजमा आत्मनिर्भर भएर बाँचेका मात्रै होइन, अरूलाई प्रेरणा दिनसक्ने बनेका छन् ।

झापा गौरादह नगरपालिका–६ की विष्णु श्रेष्ठ पनि शारीरिक अपाङ्गता भएका महिला हुन् । उनले गौरादहमा लेडिज जुत्ता, चप्पलको उद्योग खोलेर १० जनालाई रोगजारी दिएकी छिन् । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले जुत्ता चप्पल बनाउने तालिम गत साउनमा दिएपछि विष्णुले उद्योग खोलकी हुन् । अहिले उनले जुत्ता, चप्पल र गुडिया उत्पादन गर्दै आएको जानकारी दिइन् । विष्णु अहिले राम्रो व्यवसायीको रूपमा परिचित छिन् । दैनिक औसतमा १ सय र र अर्डर बढी हुँदा धेरै पनि उत्पादन हुने गरेको जानकारी दिइन् ।

‘शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूले केही गर्न सक्दैनन् भनेर हेपहा प्रवृत्ति छ,’ उनले सुनाइन्, ‘अपाङ्गता भएका व्यक्तिहरू अब आत्मनिर्भर बन्न थालेका छन् । केही नगर्ने सपाङ्गहरूको लागि हामी प्रेरणाको स्रोत भएका छाँै ।’ उनले झापाको गौरादहपछि विराटनगरमा थप जुत्ता चप्पलको उद्योग विस्तार गरिने पनि जानकारी दिइन् । अहिले उत्पादन भएका जुत्ता चप्पलहरू दमक, उर्लाबारी, पथरीलगायतयको पूर्वी सहरमा बिक्री हुने गरेको बताइन् । उनले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई सरकारले आर्थिक तथा विभिन्न सीपमूलक तालीमको व्यवस्था गरिदिनुपर्ने बताइन् । ‘अपाङ्गता भएका व्यक्तिलाई सरकारले सीपमूलक तालिम र आर्थिक अनुदान सहयोग गरे सहज हुने थियो,’ उनले भनिन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नम्बर १ र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले संयुक्त आयोजनामा विराटनगरमा शुक्रबारदेखि शुरु भएको अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनीमा १५वटा स्टलहरू रहेका छन् । प्रदेश १ का विभिन्न जिल्लाहरूमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरू प्रर्दशनीमा रहेका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरण गराउने उद्देश्यले प्रर्दशनी गरिएको बताइन् । शनिबारसम्म उक्त प्रर्दशनी सञ्चालन हुनेछ ।