रङ्गेली/ प्रत्येकको जीवन सङ्घर्षले चल्छ । सक्षम र अक्षम सबैलाई सङ्घर्ष गर्नु अनिवार्य छ । ‘शिरको पसिना पिँधमा पुगेर सुक्छ’ शारीरिक असक्त सञ्जय थापाले त्यतिकै भनेका होइनन् ।

गोडाको भर छैन । हातले पेडल मारेर जोगवनी–विराटनगर गर्छन् ट्राइसाइकलमा । जाँदा रित्तो फर्कंदा ४०/५० किलो लोड हुन्छ । त्यति सजिलो छैन, लोड ट्राईसाइकल हातले चलाएर आइपुग्न । यस्तो जाडोको समयमा पनि शरीर पसिनाले भिज्छ । लोड ट्राईसाइकलमा पसिनाले भिजेर विराटनगर आइपुग्ने उनी एक्ला भने होइनन् । उनी जस्ता एक दर्जन बढी जोगवनीबाट विराटनगर ट्राइसाइकलमा फर्कन्छन् । ‘हामी यो काम गर्दैनौ ।’ उनीहरूको एउटै स्वर छ ‘ विकल्पको लागि सहयोग चाहियो ।’ मोरङको विभिन्न स्थानबाट आउने शारीरिक असक्तहरूको सङ्ख्या ठूलो रहेको थियो । प्रशासनले जोगवनी नाकामा कडाइ गरे पछि धेरैले काम छाडे । विकल्प नभएका असक्तहरू भने यसलाई छाड्न सकेका छैनन् ।

उनीहरूले स्थानीय र प्रदेश सरकारले आफूहरूलाई अनुकुल हुने रोजगारीको व्यवस्था गरिदिए त्यो काम छाडिदिने बताउँदै आएका छन् । उनीहरूले विराटनगर–जोगवनी नाकामा वर्षौंदेखि अवैध ओसारपसारमा गर्दै आएका छन् । विकल्प नपाउँदा पेशा होइन अपराध हो भन्ने जान्दा जान्दै पनि अवैध ओसारपसारमा लाग्न बाध्य हुनुपरेको विराटनगर–१४ का शारीरिक असक्त सञ्जय थापाले बताए । ‘सरकारले हामीले सक्ने कुनै पनि कामको लागि सहयोग गरे छाड्ने थियांै ।’ थापाले भने ‘ आर्थिक अवस्था कमजोर भएकाले स्थानीय वा प्रदेश सरकारबाट सहयोग पाए हुने थियो ।’

पूँजी नभएका गरिब शारीरिक असक्तहरूलाई स्थानीय वा प्रदेश सरकारले सुलभ दरमा कोठा उपलब्ध गराउनु पर्ने, सिटी रिक्सा खरिदमा सहयोग गर्नुपर्ने वा बसेर गर्न सकिने सीपहरूबारे तालिम दिएर रोजगारको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ । एक पटकमा अपाङ्गहरूले ट्राइसाइलकमा राखेर पाँच हजारसम्मको उपभोग्य समान भिœयाउने गर्दछन् । जसमा उनीहरूलाई दैनिक रोजीरोटीको उपाय जुट्ने गर्दछ । तर, प्रहरीले अवैध ओसारपसारमा कडाइ गरिहेको र अर्कोतिर सरकारले रोजगारको व्यवस्था नगरिदिएकोले अपाङ्गहरू इन्तु न चिन्तु बनेको असक्त सोनु दासले बताए ।

अन्य काम गर्न नसकिने परिवार पाल्नुपर्ने बाध्यता भएकाले अरू विकल्प नभएर यसैलाई निरन्तरता दिनु परेको शारीरिक असक्त रामकुमार सहनीले बताए । उनले छराछोरी पढाउन र घर खर्चको लागि यस्तो दुख गर्नुपरेको बताए । ‘हामीलाई सहज हुने काम सहजै पाइँदैन ।’ उनले भने ‘आफै लगानी गरेर कुनै काम गर्न सक्ने हैसियत छैन ।’ बाध्यताले जोगवनीबाट सामान ओसार्ने कामलाई निरन्तरता दिनुपरेको उनले बताए । एक दुई जनाको फट्याइँका कारणले अहिले सबैले समस्या झेल्नु परेको उनको तर्क छ । नेपाल सरकारले आयातमा प्रतिबन्ध लागाएका वस्तु पनि मौकाको फाइदा उठाउनेले ल्याइदिँदा यस्तो समस्या भएको उनले बताए ।

नाकामा कडाइ गरेपछि ट्राईसाइकलको सहारामा जीवन गुजारा गर्दै आएका शारीरिक असक्तहरूले पटक पटक प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय सरकारसँग विकल्पको लागि सहयोग माग्दै आएका छन् । उनीहरूले गरीखान पाउने वातावरण निर्माण गर्न विरोधका कार्यक्रम पनि सञ्चालन गरे । तर, सरकारी निकायबाट उनीहरूको कुनै सुनुवाइ भएको छैन । विराटनगर–जोगबनी भन्सार नाकामा अवैध ओसारपसार गर्ने अपाङ्ग व्यक्तिहरूको सङ्ख्यामा वृद्धि हुन थालेपछि दिगो रोजगारको विकल्प दिन अपाङ्ग महासङ्घले एक नम्बर प्रदेश सरकारसँग माग गर्दै आएको छ । महासङ्घका अनुसार नाकामा अवैध ओसारपसारमा सबै उमेर समूहका छन् । उनीहरू जोगबनीबाट खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, इलेक्ट्रिक सामान, रजनीगन्धा, औषधिलगायतका सामान ल्याउने गर्छन् ।

cycle