ताप्लेजुङ/ शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । जिल्लाभर वर्षा भइरहेको छ भने उच्चक्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन ।
लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङ्चुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । ‘बाहिर एक फुटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन’ –घुन्साका टाँसी तेञ्जिङ शेर्पाले भने ।
उत्तरी क्षेत्रका करिब तीन हजार मिटरभन्दा माथिका हिमाली भेगमा लगातार हिमपात भइरहेको छ । ‘हामी त जाडो थेग्न सक्छौँ, बूढाबूढी र बच्चाबच्चीलाई भने चिसोले सताउने भयो, अत्यधिक चिसोले घरबाहिर निस्कन सकिएको छैन, पशुचौपायाको स्याहार गर्न पनि गाह्रो छ, घरभित्रै आगो तापेर चिसो कटाइरहेका छौँ’ –ओलाङ्चुङगोलाकी यमुना सिवाले भनिन् ।
लामो समयपछिको वर्षाले किसानलाई फाइदा भए पनि वर्षासहितको हिमपातले चिसो बढेपछि भने समस्या भएको स्थानीयवासीले बताएका छन् । तीन हजार ७ सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा शुक्रबारदेखि नै बाक्लो हिमपात भइरहेको छ । सो क्षेत्रमा दुई फिट बढी हिउँ जमेको स्थानीयवासी होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए । ‘शुक्रबारदेखि नै बाक्लो हिउँ परिरहेको छ, झण्डै दुई फिट हिउँ जमिसक्यो, फाट्टफुट्ट मानिस मन्दिर जाने–आउने गरिरहेका छन्’ –भट्टराईले भने ।
जिल्लाको सदरमुकाम फुङ्लिङमा समेत निकै चिसो बढेको छ । याम्फुदिन, कालीखोला, पापुङलगायतका क्षेत्रमा चिसो बढेको स्थानीयवासीले बताएका छन् । ताप्लेजुङमा शनिबार बिहानको तापक्रम ४.६ डिग्री सेल्सियस पुगेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै ताप्लेजुङमा ३६ मिलिमिटर वर्षा भएको छ ।
हिमपातले अलैंची नष्ट
हिमपातका कारण सङ्खुवासभाको भोटखोलामा अलैंची बाली नष्ट भएको स्थानीयले जनाएका छन् ।
तत्कालीन हटिया, चेपुवा र किमाथाङ्का गाविसका उच्च भागमा अत्यधिक हिमपात भएको छ । त्यस क्षेत्रमा हिमपातका कारण नेपाल टेलिकमको स्काईको मोबाइल सम्पर्कविच्छेद भएको छ । नामुसे गाउँको उत्तरी भेगमा मात्र प्रायः हिमपात हुने भए पनि यसपटक दक्षिणी क्षेत्रमा हिमपात भएपछि अलैंची बालीमा क्षति पुगेको हो ।
अलैंची उत्पादनले विकट क्षेत्रमा आर्थिक रूपमा मजबुत बन्न सहयोग पु¥याएको छ । उच्च हिमाली क्षेत्रमा अलैंची खासै नफस्टाए पनि भोटखोलाको दक्षिणी भेगमा भने अलैंची राम्रो उत्पादन हुने गरेको थियो ।