धरान/ युरोपियन युनियन (ईयू) ले फेरि पनि नेपालका सबै विमान कम्पनी र हेलिकप्टर कम्पनीलाई कालोसूचीमा राखेको छ ।
ईयूले सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको थियो । उडान सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै ईयूले नेपालका विमान कम्पनीलाई युरोपियन आकाशमा उड्न नपाउने गरी कालोसूचीमा राखेको छ । यसअघि पर्यटनमन्त्री बनेका योगेश भट्टराईले ईयूको कालोसूचीबाट नेपाली विमान कम्पनी हट्ने दाबी गर्दै आएका थिए । मङ्गलबार ईयूले सार्वजनिक गरेको सूचीमा नेपालका सबै विमान कम्पनी र हेलिकप्टर कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । योसँगै पर्यटनमन्त्री भट्टराईको दाबी अर्थहीन बन्न पुगेको छ ।
ईयूले नेपालका डेढ दर्जन विमान र हेलिकप्टर कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । यहीबेला भ्रमण वर्ष २०२० चलिरहेको छ । नेपालले २० लाख पर्यटक भिœयाउने लक्ष्यमाथि केही धक्का लाग्ने देखिएको छ । ईयूले प्रत्येक ६–६ महिनामा विभिन्न देशका विमान कम्पनीका विमान तथा हेलिकप्टरलाई कालोसूचीका विषयमा अपडेट गर्ने गरेको छ ।
नेपालका विमान सुरक्षा हिसाबमा फितलो रहेको ईयूको भनाइ छ । ईयूको सार्वजनिक गरेको सूचीमा एयर डाइनाष्टिक हेलिसेवा, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउण्टेन हेलिकप्टर, मुक्तिनाथ एयरलाइन्स, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयर, तारा एयर र यति एयरलाइन्स छन् ।
सन् २०१३ मा आईकाओको टोलीले अडिट गर्ने क्रममा नेपालको उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै कालोसूचीमा राखेपछि ईयूले सोही रिपोर्टलाई आधारमा मानेको थियो । त्यसयता कालोसूची हट्न सकेको छैन । नेपाल सरकारको पटक–पटकको प्रयास असफल हुँदै गएको छ ।