सङ्खुवासभा/ विकास अभावका कारणले सङ्खुवासभाको मकालु गाउँपालिका वडा नं. ६ डाँडागाउँका स्थानीय बसाइ सरेका छन् । अहिले डाँडागाउँ भनिए पनि पहिले यो ठाउँलाई ढाँड गाउँ भनिन्थ्यो ।

पहाडी भूगोलअनुसार यहाँ ढुङ््गैढुङ्गाको ओडार, ढाँड भएकाले ढाँड गाउँ भन्ने गरिन्थ्यो । हालसम्म पनि सडक सञ्जालले समेत नजोडिएको ६ नं. वडाका गाउँसम्म सडक पुगेको छैन ।

मानिसका आधारभूत आवश्यकतासमेत परिपूर्ति गर्न समस्या हुने यो गाउँबाट बसाइ सर्नुको विकल्प नभएपछि यहाँका बासिन्दा बसाइ सरेका हुन् । मेहनत गरेर लगाएको बालीसमेत जङ्गली जनावरले सखाप पारे पछि महिनौंको मेहनत खेर जाने गरेको थियो । २०५२ सालसम्म यहाँ २४ घरधुरी रहेको थियो । त्यसयता २०७० सम्म भएको निरन्तर बसाइ सराइले अहिले यहाँ १० घर मात्र बाँकी छन् । यो अवधिमा यहाँबाट १४ घर बसाइ सरिसकेका छन् । जङ्गली जनावरको आतङ्क र विकास अभावले गाउँ छोड्नुपरेको स्थानीय चन्द्रमाया राईले बताइन् ।

सुख–सुविधाको लागि शहर बजारमा बसाइ सर्न थालेपछि अहिले गाउँ नै शून्यजस्तै बनेको छ । युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जाने र केही कमाएपछि गाउँघर भुल्ने परिपाटीले समेत गाउँमा बस्ती पातलिन थालेको वडाध्यक्ष जयबहादुर राईले बताए । उनले भने, ‘बसाइ सराइका कारण गाउँमा महामारी वा विपद्को अवस्था आए पनि समयमै खबर गर्ने मानिसको समेत अभाव हुने अवस्थामा छ ।’

महिनौं मेहनत गरेर लगाएको अन्नबालीले दुई महिनासम्म पनि खान नपुगेपछि सम्पत्ति भएकाहरूले खरिद गरेरै खानुपर्ने यो गाउँ अहिले वडाको केन्द्र बनेको छ । वडाको केन्द्र भएकाले यहाँ विकासका गतिविधि बढ्न थालेको छ । आफ्नो जग्गा छोडेर गएकाहरू अब गाउँ फर्कने तरखरमा छन् । जग्गा बेचेर बसाइ हिँडेकाहरूसमेत गाउँ फर्कन कोशिस गरिरहेको वडाध्यक्ष जयबहादुर राईले बताए ।

सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारा शहरकेन्द्रित भइरहे पनि अब भने गाउँमा पनि विकासको लहर आएपछि यी विकट गाउँका स्थानीय अब विकासका गतिविधिले क्रमशः अघि बढाउनेमा आशावादी देखिएका छन् ।