उदयपुर/ व्यवसायिक रूपमा १५ वर्षदेखि सुन्तला नर्सरी उत्पादन गर्र्दै आएका उदयपुरका एक कृषक यतिबेला गाँस, बास र कपास खोसिने त्रासमा छन् ।

कृषि विभागले नर्सरी फार्म अव्यवस्थित र बिरुवामा रोग लागेकाले बिक्री वितरण नगर्न भनेपछि रौतामाई गाउँपालिका–४ सल्लेका कृषक टेकबहादुर पाठक त्रासमा परेका हुन् । जिल्लामा सुन्तलाको अवस्था के छ, त्यसका चुनौती र समस्याहरू बुझ्नका लागि आएका कृषि विभाग काठमाडाँैको टोलीले नर्सरी फार्मको अवलोकन गरेको थियो । फार्मको अवलोकन गरेपश्चात् फार्म अव्यवस्थित भएको र बिरुवामा रोग लागेकाले तत्काल बिरुवा नबेच्न भनेपछि मनमा त्रास छाएको कृषक पाठकले बताए । २०६० सालदेखि सबै कुरा छाडेर कोलबारी सुन्तला जात फलफूल नर्सरी फार्म दर्ता गरेर व्यवसायिक रूपमा सुन्तला, कागतीको बिरुवाहरू उत्पादन गर्दै आएको कृषक पाठकले बताए ।

अहिले फार्ममा सुन्तलाको माउ बोट करिब १ सय ५० बोट र नर्सरी साना–ठूला गरी करिब ३० हजार बोट बिरुवा छन् । त्यसको मूल्य करिब ५० लाख रुपैयाँ बराबर हुन्छ । कृषक पाठकले भने, ‘उहाँहरूले भन्नुभयो फार्म अव्यवस्थित भएको र बिरुवामा रोग लागेकाले नर्सरी नष्टसमेत गर्नुपर्ने हुन्छ ।’ यो बिरुवा मास्ने कुराले मन दुःखेको उनले बताए । विभागको कुरा आफूले बुझ्न नसकेको कृषक पाठकले बताए ।

कृषकहरूलाई राम्रो होस् भनेर हो या व्यक्तिगत रूपमा प्रगति गरेको देखेर हो केही बुझ्न नसकेको उनको आरोप छ । ‘अहिलेसम्म सरकारको १ रुपैयाँ पनि नलिई आफ्नै मेहनतले बिरुवाबाट नै आत्मनिर्भर भइरहेकोमा यस्तो कुराले मन जल्दो रहेछ’ –उनले भने । फार्मको नर्सरी नष्ट गर्नुप¥यो भने गिट्टी कुटेर, बालुवा चालेर ज्याला मजदुरी गरेर दैनिकी चलाउनु पर्ने अवस्था आउँछ ।

अहिलेसम्म वार्षिक करिब ५ लाख रुपैयाँ बराबरको बिरुवा बिक्री हुने गरेको कृषक पाठकले बताए । घरपरिवार चलाउन र छोराछोरी पढाउनेलगायतका सबै कुरालाई धान्ने त्यही एउटा नर्सरी फार्म रहेकाले नर्सरी नष्ट गर्ने बित्तिकै आफू असहाय बन्ने उनले बताए । बिरुवामा देखा पर्ने कोप्रे, खराने सामान्य रोग भएकाले फाइटर, निलो तुथो र चुनाले ठीक गर्ने भएकाले उपचार गरिरहेको कृषक पाठकले बताए । जसरी भए पनि बिरुवामा देखापरेको रोग ठीक गर्ने जनाउँदै उनले फार्म वरिपरिका जङ्गल पनि व्यवस्थित गर्ने बताए ।

धेरै विधिबाट नर्सरी उत्पादन गर्न सकिने भए पनि विशेष महत्वका साथ विजु प्रविधिलाई नै प्राथमिकतामा राखेर नर्सरी उत्पादन गरिँदै आएको छ । विजु, गुटेलेरिङ र ग्राफ्टिङ विधिबाट नर्सरी उत्पादन गर्दै आए पनि सबैभन्दा बढी विजुका नर्सरी मात्र कृषकले रुचाउने भएकाले विजुलाई नै पहिलो प्राथमिकतामा राखेको कृषक पाठकले बताए । विजुको फल स्वादिलो र रसिलो हुने भएकोले कृषकले विजुको नर्सरी नै रुचाउने गरेको उनले बताए । स्थानीय गाउँघरबाट जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लाबाट समेत बिरुवाका लागि कृषकहरू आउने गरेका छन् । माघ लागेसँगै बिरुवाको माग बढ्छ । जिल्लाको मझौले, धोद्रे, निगाले, डाँडागाउँ, डिल्लीबर, मादले, ओख्ले, लेखानीलगायत सुन्तला जोन घोषणा गरिएका ठाउँबाट र छिमेकी जिल्ला खोटाङको अधिकांश सुन्तला हुने भू–भाग र भोजपुरका केही गाउँमा समेत बिरुवा पुग्ने गरेको कृषक पाठकले बताए ।

नर्सरी उत्पादनमा गोठे मल नै प्रयोग गर्दै आएको कृषक पाठकले बताए । अहिलेसम्म गोठे मल र माटोको मात्रा मिलाई त्यसलाई सोलार सिस्टममा माटो पकाई बेर्नाको टनेला बनाएर नर्सरी उत्पादन गर्दै आएको उनले बताए । जस्तोसुकै बिरुवालाई पनि टनेलाबाट बाहिर निकालेपछि कोप्रे र खराने लाग्ने गर्दछ । बाहिर भाइरसले समेत आक्रमण गर्ने उनले बताए । विभागको टोलीले तत्काल बिरुवा नबेच्न मात्रै आग्रह गरेका हुन् । नर्सरी नै मास्न नभनेको जोन सञ्चालक समितिका सचिव हस्तशोभा राईले बताइन् । उनले भनिन्, ‘कृषक पाठक जोनमा पनि समावेश भएका छैनन् । फार्म व्यवस्थित छैन । त्यसमा पनि बिरुवामा लाही किरा र खराने रोग लागेको छ । कुनै बोट बिरुवा पहेँलो भएर मरेकाले तत्काल बिरुवा बिक्री वितरण नगर्न सुझाएको मात्रै हो ।’