झापा/ भारत र भूटानको सिमानामा पाइने प्रचलित ‘तोदे’ जातको अलैंची नेपालमा पनि उत्पादन हुने भएको छ ।

तोदे जातको अलैंची नेपालको वातावरणमा उपयुक्त हुने, नेपालमा उत्पादन हुँदै आएको भन्दा केही ठूलो र आकर्षक देखिने, मूल्य बढी हुने, बोक्रा पातलो, उत्पादन बढी हुने र विश्व बजारमा माग उच्च भएकाले यसको उत्पादनमा कृषक तथा व्यवसायीहरू आकर्षित भएका हुन् ।

नेपाल अलैंची व्यवसायी महासङ्घ, काभ्रेको पनौती नगरपालिका र महासङ्घ काभ्रेका जिल्ला प्रतिनिधिसहितको टोलीले तोदे जातको अलैंचीको कार्तिक २१, २२ र २३ गते अध्ययन तथा अवलोकन भ्रमण गरेको शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

नगरपालिकाले १५ लाख रुपैयाँ तोदे जातको अलैंचीको बिरुवा उत्पादनका लागि छुट्याएको पनौती नगरपालिका वडा नं. १ का अध्यक्ष गुणनाथ सापकोटाले जानकारी दिए । ‘३२ महिनामा २० लाख तोदे जातको अलैंचीको बिरुवा उत्पादन गरिनेछ’ उनले भने ‘तीे उत्पादित विरुवा कृषकलाई निःशुल्क नगरले प्रदान गर्नेछ ।’ उनले नेपालमा उत्पादन हुँदै आएको अलैंची विभिन्न रोगका कारण खासै उत्पादन दिन छाडेको र मर्न थालेकाले अर्को र राम्रो जातको खोजी गर्ने क्रममा तोदे जात उपयुक्त रहेकोे बताए । नगर अध्यक्ष सापकोटाले नगरले कृषिका लागि मात्र करिब ५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

नेपालमा उत्पादन भएको अलैंचीको मूल्य प्रतिकेजी ६ सय ७५ रुपैयाँ र तोदे जातको मूल्य प्रतिकेजी ८ सय ७५ रुपैयाँ रहेको नेपाल अलैंची व्यवसायी महासङ्घका महासचिव सुभास भट्टराईले बताए । अलैंचीको खेती विस्तारसँगै कृषकको सङ्ख्यामा वृद्धि भएको छ ।

भारतको आसाम, सिक्किम, अरुणाचल र भुटानमा भएको अलैंची खेतीका कारण नेपाली उत्पादनले चुनौतीको सामना व्यहोर्नु परेको नेपाल अलैंची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष निर्मल भट्टराईले बताएका छन् । ‘ पछिल्लो समय नेपालमा उत्पादन हुँदै आएको अलैंची कृषक र व्यवसायीको लापरवाहीका कारण गुणस्तरहीन हुँदै छ ।’ पूर्व अध्यक्ष भट्टराईले भने ‘कृषक र व्यवसायीले यसप्रति ध्यान दिन जरुरी छ ।’ पछिल्लो समय नेपालको अलैंची गुणस्तरहीन बन्दै गएकाले विश्वबजारमा ठूलो चुनौती थपिएको उनको भनाइ छ ।

नेपालको इलामबाट शुरु भएको अलैंची खेती अहिले नेपालका १६ जिल्लामा विस्तार भएको छ । महासङ्घका महासचिव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागार्इं, अलैंची विकास केन्द्रका वरिष्ठ अधिकृत पदम अधिकारी, महासङ्घका काभ्रे शाखाका अध्यक्ष राजकुमार साकोटालगायतले आ–आफ्नो भनाइ प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले गरेका थिए ।